Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पेस्तोल देखाएर दस लाख बराबरको नगद र जिन्सी लुटियो

Published on 8:40:00 PM //


धुर्कोट (गुल्मी), भदौ २५- हतियारधारी व्यक्तिहरुले गुल्मीको कुर्घामा करिब १० लाख रुपियाँको लुटपाट गरेका छन् । कुर्घा गाविस-३ कोट भन्ने स्थानको त्रिरत्न सपिङ सेन्टरमा गएराति पाँचजना नचिनेका व्यक्तिले पेस्तोल र धारिलो हतियार देखाई नगद, गरगहना र पसलको सामान लुटपाट गरेका हुन्।

 खाना खाने समयमा आएका लुटेराले पेस्तोल देखाई सबैलाई एउटै कोठामा थुनेर लुटेको घर मालिक ईश्वरसिं ठकुरीले बताए। ‘हामीले खाना खाँदै थियौँ, एक्कासि पेस्तोल बोकेका पाँचजना मान्छे आएर हातमा समाउँदै एउटै कोठामा बन्द गरे,’ ‘उनले भने, ‘हतियार देखेपछि हामी होस् गुमेजस्तै भयौँ, आनन्दसँग सबै लुटेर लगे।’
पीडितका अनुसार सो पसलबाट आठ तोला सुन, नगद रु ७० हजार, चारवटा मोबाइल सेट, कपडा र किराना सामानसहित करिब रु १० लाख बराबरको सामान लुटिएको छ। त्यस्तै सोही घरमा डेरा गरी बस्ने वामी गाविस घर भई कुर्घा निमाविका शिक्षक नवीन सापकोटाको कोठाबाट रु १५ हजारसहित नोकिया मोबाइल सेट चोरी भएको उहाँले बताए।

गएराति ९ बजेतिर आएका लुटेराले एक घन्टासम्म सबैलाई कोठामा बन्द गरी लुटेको स्थानीय प्रकास बरालले जानकारी दिए। लुटेराहरु भागेलगत्तै हारगुहार गर्दा स्थानीय युवा पिछा गर्दै जाँदा गाउँभन्दा पश्चिम बागलुङ जाने बाटोमा एक हजार ८०० नगद र १४ थान सुट खरबारीमा भेटिएको स्थानीय प्रकाश बरालले जानकारी दिए।

गएराति १० बजे स्थानीयले घटनाको बारेमा जानकारी गराए पनि नजिकै रहेको वामी प्रहरी चौकीबाट आज बिहान ११ बजेमात्रै प्रहरी लुटपाट भएको घरमा पुगेको थियो। रासस

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग