Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका शिक्षकले दसैँमा पूरै तलब नपाउने

Published on 11:57:00 PM //


राजनीतिक सहमति जुट्न नसक्दा सरकारले ल्याएको एक तृतीयांश बजेटको प्रभाव जिल्लामा पनि देखिन थालेको छ । तृतीयांश बजेटकै कारण बजेट विनियोजन नहुँदा जिल्लाका कतिपय कार्यक्रमहरू प्रभावित भएका छन् । नियमित कार्यक्रमहरूमा पनि बजेट विनियोजन नहुँदा सञ्चालन गर्न कठिनाइ भएको सम्बन्धित कार्यालयहरूले जनाएका छन् ।

जिल्ला शिक्षा कार्यालय गुल्मीले पूर्ण आकारको बजेट नआउँदा शिक्षकहरूलाई दसैंमा पूरै तलब दिन नसक्ने अवस्थाको सिर्जना हुन थालेको जनाएको छ । एक तृतीयांश मात्र बजेट आउँदा जिल्ला शिक्षा कार्यालयअन्तर्गत हुने अन्य कार्यक्रमहरू पनि प्रभावित भएको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले जानकारी दिए । ‘एक तृतीयांश बजेटले गर्दा शिक्षकहरूलाई तलब खुवाउन नसक्ने अवस्था देखिएको छ, उनले भने, ‘यही कारणले अन्य नियमित कार्यक्रमहरू पनि प्रभावित भएका छन् ।’

जिल्ला शिक्षा कार्यालयका अनुसार तृतीयांश बजेटमा प्राथमिक तहका शिक्षकहरूको तलब–भत्ताका लागि ११ करोड ९१ लाख २० हजार ५ सय ४० रुपैयाँ, मावि तथा निमाविका शिक्षकहरूको लागि ५ करोड ९५ लाख ३० हजार रुपैयाँ र साधारण १९ लाख ४६ हजार रुपैयाँ विनियोजन भएको छ । जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरिलाल अर्यालले एक तृतीयांश बजेटकै कारण भौतिक सुविधा विस्तार, साक्षरता तथा निरन्तर शिक्षा, शिक्षक शिक्षा तथा विकासलगायतका शीर्षकमा बजेट विनियोजन नभएको बताए । बिहीबार जिल्ला शिक्षा कार्यालययमा आयोजित वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि ५ करोड ५२ लाख ६० हजार, बाल केन्द्रका लागि ६३ लाख १५ हजार, विद्यालय शिक्षामा पहुँचको लागि ९० लाख २८ हजार, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि ७ लाख ७९ हजार, सेवा प्रवाहका लागि क्षमता अभिवृद्धिमा ५ लाख ९५ हजार, विद्यालय व्यवस्थापन तथा अनुगमनका लागि ५५ लाख २३ हजार र प्रोत्साहन तथा सहयोगका लागि २२ लाख १० हजार विनियोजन भएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरिलाल अर्यालले बताए । उनका अनुसार पीसीएफका आधारमा नन स्यालरी अनुदानका लागि ३ करोड ८ लाख ९ हजार रुपैयाँ विनियोजन भएको छ ।
राजाधानी दैनिकबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग