Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालयको अध्यक्षका लगि कांग्रेस–जनमोर्चाको भिडन्त, अभिभावक नै नबनेकाहरु चुनावमा

Published on 12:18:00 AM //


प्रेम सुनार
गुल्मी, असौज १४ । विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पद जिल्लामा लाभको पद जस्तै बन्न थालेको छ । त्यसको पछिल्लो उदाहरण हो पृथ्वीदह उच्च माध्यामिक विद्यालय–पुर्कोटदहको ब्यवस्थापन समितिको गठन प्रकृयामा चलिरहेको भिडन्त ।
ब्यवस्थापन समितिको म्याद सकिएको गत असार ३० गते हो तर कांग्रेस र जनमोर्चाका दुवै ब्याक्तिले अध्यक्ष पद नछाडे पछि अहिले सम्म समिति गठन हुन सकेको छैन । राष्ट्रिय जनमोर्चाका जिल्ला स्तरीय नेता पृथ्वी कुंवर र नेपाली काँग्रेसका मनिराम थापा दुवैले अध्यक्ष पद नछाडेपछि अब चुनावको तैयारी गरिएको विद्यालय निरीक्षक लोकनाथ मरासिनीले बताए । "पछिल्लो चरण गत आईतवार र सोमवार २ दिन सम्म सहमतिमा ल्याउन खुरी खेलियो" मरासिनीले भने, "केहि सीप नलागेपछि चुनावमा जाने तैयारी गरिएको हो ।"
जनमोर्चाका कुंवरलाई माओवादी र राप्रपाको समर्थन छ । "काँग्रेसका थापालाई एमालेले समर्थन गरेको छ" उनले थपे "त्यहाँ क्रियाशिल पाँच दल दुई तिर भएपछि यस्तो स्थिती आएको हो ।" प्रधानाध्यापक धनिश्वर अर्यालका अनुसार दुवै उम्मेदवारका छोराछोरी, नातीनातिना कोही त्यस विद्यालयमा छैनन् ।
"शिक्षा नियमावलीअनुसार अभिभावक नबनेको मान्छे अध्यक्ष हुन पाइदैन" प्र.अ.ले भने, "तर पनि विद्यालयको विकास हुन्छ भने दुईमध्ये एक बनाउन खोजिएको हो असफल भएका छौं ।" उनले थपे "आज पुन सहमतिका लागि भेला बसि अन्तिम पहल हुनेछ, सहमति नभए चुनावको विकल्प छैन ।" पूर्व अध्यक्ष शेर बहादुर कुंवरले भने पुनः दावी गर्नुभएन प्र.अ.को गुनासो थियो वैधानिक
व्यवस्थापन समिति नवन्दा काम गर्न समस्या परेको छ । उनले विद्यालयमा सरहरुको हाजिर विद्यार्थीहरुले गर्दछन् भन्ने केही सञ्चार माध्यममा आएको समाचारको खण्डन गरेका छन् । वि.नि. स्रोतव्यक्ति र हामीहरु बसेर विद्यार्थीहरुलाई रेकर्ड राख्न लगाएका हौ उनले गलत समाचार गएको भन्दै दुःख व्यक्त गरे । व्यवस्थापन समितिको चुनावकै माहोललाई प्रभाव पार्ने गरी कुनै चुनावी प्यानलद्धारा प्रायोजित समाचार हुन सक्ने प्र.अ. पन्थी लगाएत स्थानीयवासीको आसंका छ ।
कठिन आर्थिक समस्यासँग जुध्दै उच्च मा.वि. सञ्चालन गरेको त्यस विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष पदका लागि दुई दलबीचको खिचातानीले थप असर पर्न गएको विद्यालय प्रशासनले जनाएको छ । यो त एक उदाहरण मात्रै हो जिल्लाका अधिकांस विद्यालयहरुमा व्यवस्थापन समितिको अध्यक्ष बन्नाको लागि दलहरुबीच हानथाप पर्ने गरेको छ । कतिपय विद्यालयहरुमा एक चोटी अध्यक्ष भएको मान्छे पटक पटक त्यही पदमा रहीरहन चाहनु र दलहरुले पनि आफ्नै मान्छे अध्यक्ष बनाउन केन्द्रसम्मको लभिङ्ग गर्ने हुँदा समाजसेवको नाममा अध्यक्षको पद लाभको पद जस्तै ठान्न थालेका छन् सर्वसाधारणले ।
यस सम्वन्धमा जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालसँग सम्पर्क गर्दा विद्यालय समुदायको भएको कारण समुदायले चाहेमा अभिभावक पनि हुन नपर्ने बताए । अभिभावकले म हुँदिन उसलाई बनाउ भने हामी के गर्न सक्छौ र ? उनले भने–“सबै कुरा कानुनी गरेर मात्रै हुँदैन व्यवहारिक पक्ष पनि हेर्नुपर्दछ । व्यवहारिक पक्ष हेर्नेहो भने शिक्षा नियामावलीको त धज्जी उडाइदैन र ? भन्ने गुल्मीन्युज डट कमको प्रश्नमा उनले आफ्नो बचाउ गर्दै थपे –“त्यसो त प्रक्रियामा जानै परे १० जनामा अध्यक्ष सहित ४ जना अनिवार्य अभिभावक हुनै पर्दछ ।" शिक्षा नियामावलीको यस्तो फितलो कार्यान्वयन पक्षका कारण जिल्लामा अध्यक्ष पद समाजका केही पूँजीपति र दलका अगुवाहरुको प्रतिष्ठा र लाभको पदजस्तै बन्न पुगेको जानकारहरु बताउँछन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग