Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सदभावपूर्ण र कम खर्चिलो गुल्मेली दशैँ

Published on 9:51:00 PM //


प्रेम सुनार
कार्तिक १२, गुल्मी । दशैमा मिठै चामलको भात खानु पर्छ भन्दै अघिपछि मोटा चामलको भात खानेहरुले मसिना चामल किन्ने चलन थियो गुल्मीमा अहिले त्यसरी मसिना चामल किन्नेहरुको संख्या कम भएको पसलेहरु बताउँछन् । अष्टमिका दिनदेखि पुर्णीमाका दिनसम्म जाँड रक्सी सँगै झगडाले आक्रान्त कैयौं गाउँ यसपालिको दशैमा सामन्य अवस्थामा फर्केको देखियो । कोटहरुमा सराएँ नाच धुमधाम नै चलि रहेको छ तर हुलदंगका ठुला घटना भएको समचार प्राप्त भएको छैन । गत वर्षको दशैँमा नयांगाउँमा उत्तेजित स्थानिय युवाहरुले सुरक्षामा खटिएका प्रहरी समेत भनेनन् । प्रहरी जवान सुर्यबहादुर थापालाई छातीमा धारिलो हतियार प्रहार गरी हत्या गरियो । अनुसन्धानका क्रममा नयाँगाउँका अन्य निर्दोषले समेत महिनौँ सास्ती खेप्नु प¥यो । गुरुङ्ग गाउँका झण्डै एक दर्जन युवाहरु घरमा पाकेको खाना धरी खान नपाई भागाभाग भए, कती त प्रहरी हिरासतमै बस्नु प¥यो । घरका बुढा बाआमाहरुको आखामा आँसु । यो घटनाले सिङ्गो गुल्मी जिल्ला आतंकित हुनु गयो । गत वर्षको त्यो दर्दनाक घटनाले पाठ सिकाएरै यसपालि दशैमा हुलदंगामा मान्छे नहोमिएको विष्लेशण गर्न थालिएको छ । विगतका वर्षहरुमा कतै भाईभाई कतै बावुछोरा कुटाकुटका घटनाले प्रहरी सुत्न खाना पाउँदैनथ्यो । "यसपाली छिनछिनमा पेट्रोलिङ गरिन्छ", प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्ले भन्छन्, "भोली पुर्णीमाको दिन पनि यस्तै रहे विगतको तुलनामा यसपालिको दशैं, सुख शान्ति र सदभावपूर्ण रहनेछ ।" धुर्कोट र बलेटक्सारमा केहि युवाहरु विच झडप भएको बाहेक ठुला घटना नभएको उनले जानकारी दिए । "एकाध कुटपिटका घटना त अन्य दिनहरुमा पनि हुन्छ", काफ्लेले थपे "विगतका डर लाग्दा घटनालाई ध्यानमा राखी यसपाली दशैको सुरुक्षा व्यबस्था केहि फरक पारेका थियौं ।"
यो समचार लेख्ने बेलासम्म कुटपिट र यात्रुहरु अलपत्र परेका समचारहरु प्राप्त नभएको स्थानिय रेडियोकर्मीहरु बताउँछन् । खान पिन, पुजा पाठमा समेत मितब्ययीताको अभ्यास सुरु भएको गाउँबाट सदरमुकाम फर्किनेहरुले बताए । "कोटहरुमा पशु बली चढाउने र घर-घरमा काटमारको क्रममा पनि कमि भएको पाएँ", आफ्नो घर अमरपुरबाट दशै मानेर आएका प्रेश युनियनका निवर्तमान अध्यक्ष रेशम कुँवरले भने, "खर्चिलो संस्कारको पुरै अन्त्य त भएको छैन, अभ्यास भने सुरु भएको छ ।"
सराएँ नाचमा समेत हतियार प्रदर्शनको होडवाजी कम भएको कुँवरले बताए । टल्कीने सेतो र धारिलो खुँडा, तरवार, खुकरीबाट सराएँ नाच नखेल्न प्रसाशनले आग्राह गरेकोले पनि कम भएको उनको धारणा छ । दशैँ सुरक्षा ब्यवस्था सार्वजानिक गर्ने क्रममा प्रशासनले धारिलो हतियारको सट्टा ति हतियारलाई काठको अकृतिमा रुपान्तरण गरी सराएँ खेल्न आग्राह गरेको थियो । त्यसको कार्यन्वयन अनुरुप नै काठको आकृतिबाट खेलिदै छ । यात्रुहरुको सुविधालाई ध्यानमा रखी ३१ वटा थप बस र अन्य सवारी साधानको ब्यवस्था मिलाईएकोले विगतमा जस्तो यात्रुहरु अलपत्र पर्नु परेका गुनासाहरु नआएको प्रसाशनले जनाएको छ । सुरुका दिनमा जिल्ला भित्र चल्ने जिपहरुले बढि भाडा लिएको उजुरी परेपछि प्रसाशनले कार्यबाही गरेको थियो । तत्पश्चात भने यात्रुहरुले निर्धारित भाडा मै यात्रा गरेको बताएका छन् । समग्रमा विगतका वर्षहरुको तुलनामा यसपालिको दशै शान्तिपुर्ण र केहि मितब्ययी अभ्यासतिर लागेको एउटा संचारकर्मीले समेत खुलेर भन्न सक्ने अवस्था रहेको गुल्मेली पत्रकारहरु पनि बताउँछन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग