महायज्ञमा दलित महिलाहरु शोभायात्रा गर्ने
Published on
6:04:00 AM //
प्रेम सुनार
गुल्मी, १२ कार्तिक । विगतमा गरिने धार्मिक कार्यमा दलित महिलाहरुलाई सहभागि गराउन नरुचाउने परम्पराको अन्त्य गर्दै रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासले गर्न लागेको महायज्ञको शोभायात्रामा दलित महिलाहरुलाई आम जातजाती सरह सहभागि गराउने भएको छ ।
कलश सहितको शोभायात्रामा दलित महिलाहरुलाई पनि सहभागि गराउने महायज्ञ मूल समारोह समितिको निर्णयलाई स्वागत गर्दै आम दलित महिला सहभागि हुन शिक्षिका मामनी विश्वकर्माले आग्रह गर्नुभयो । रातो साडी, रातो ब्लाउज र कलश सहितको एकरुपता हुने भएकोले त्यसको तैयारी गर्न आग्रह गरिएको छ । विगतमा यस्तो निर्णय गर्न हिचकिचाउने यहाँका मानिसहरु यस महायज्ञमा यस्तो निर्णय गर्नु स्वागतयोग्य भएको भन्दै दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले दलित आन्दोलनकै चरणको एक सफलता भएको टिप्पणी गर्नुभयो ।यतिबेला यहाँको सबै समुदाय एक तन एक मनका साथ महायज्ञ सफल पार्न लागि परेका छन्, कार्यक्रम स्थल चिदीचौरले रुप बदलिसकेको छ । कार्तिक १५ देखि २२ गतेसम्म हुन गइरहेको महायज्ञको व्यवस्थापन कार्य लगभग अन्तिम चरणमा पुगेको मूल समारोह समितिका संयोजक सुरेश चन्द्र भुसालले जानकारी दिए ।









