Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा

Published on 3:05:00 PM //


पि.एम.मगर
गुल्मी, असोज २७ । हिन्दुहरुको पर्ब बिजया दशमी, दिपावली र छठ नजिकिदै जाँदा देशभरी जस्तै गुल्मी जिल्लामा पनि शान्ति सुरक्षा कडा पारिएको छ । प्रहरी प्रशासनको सहकार्यमा चाड पर्बको अवधिभर कुनै पनि अपराधिक कृयाकलापहरु हुन नदिन र शान्ति सुरक्षा कामय गर्न जिल्लामा अहिले नयांँ सुरक्षा रणनीतिका साथ अभियानलाई अगाडी वढाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नागरिकको सुरक्षाका लागि आफ्ना गतिविधीलाई चौविसै घण्टा सञ्चालन गरिरहेको प्रहरीले जिल्लामा वेलुकीको समयमा वजारका प्रत्येक स्थानमा ६ वजेदेखि ८ वजेसम्म चेकिङ्ग रुट, रातको समयमा सिभिल गस्ती सञ्चालन गर्नुका साथै विशेष गरी वसपार्क, जीपपार्क लगायतका स्थानहरुमा चेकिङ्ग तथा सुरक्षा व्यवस्था कडा पारेको छ । त्यस्तै दैनिक रुपमा हाई वे चेकिङ्गलाई पनि निरन्तरता दिदै आएको छ भने जिल्लाका प्रत्येक गाविस तथा स्थानहरुमा त्यहाँको नागरिक समाज, टोल सुधार समिति लगायतसँग समन्वय गरी शान्ति सुरक्षा कायम गर्न प्रहरीले आफ्ना गतिविधीलाई वढाएको छ । दशैको समयमा सरायँ नाँच हुने जिल्लाका ७८ स्थानमा पनि प्रहरीको उपस्थितिलाई प्रभावकारी वनाउने तैयारी समेत प्रहरीले गरेको छ । त्यस्तै राती अबेरसम्म होटल ब्यवसाय संचालन नगर्न प्रहरीले अनुरोध समेत गरेको छ ।
ट्राफिक प्रहरी सहित मापसे चेकीङ्ग, सवारी साधनको छतमा यात्रु चढाउने, एउटा प्रयोजनका लागि चलाईएका सबारी साधनले अर्को प्रयोजनमा लगाएको पाएमा कारबाही गर्ने लगायतका योजनाका साथ लागिरहेको प्रहरीले जानकारी दिएको छ । बढ्दै गएको दुर्घटना न्युनिकरणका लागि बिना हेल्मेट मोटरसाईकल चलाउने र दुई जना भन्दा बढी चढाउने तथा मादक पदार्थ सेवन गरि सवारी साधन चलाउनेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।
यता जिल्ल प्रशासनन कार्यलय गुल्मीले भारत लगायतका मुलुकवाट घर आउने नेपालीलाई यातायात व्यवसायीहरुले निर्धारित भाडा दर भन्दा वढि लिए सुचित गर्न समेत प्रशासनले आग्रह गरेको छ । सरकारी कार्यालय र वित्तिय संस्थाको सुरक्षा, उपभोग्य सामग्रीहरुको आपुर्ति व्यवस्था, कृतिम अभाव, मुल्य वृद्धि, कालोवजारी नियन्त्रण र कारवाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ । सरायँ नाँचमा खुकुरी, खोँडा लगायतका धारिलो हतियार प्रयोग नगरी त्यसको प्रतिक काठको वनाई प्रयोग गर्न समेत आग्रह गरिएको.छ । गत वर्ष नयाँगाउँमा भएको सरायँ नाचमा सुरक्षामा खटिएका एक प्रहरी जवानको समेत स्थानीय उछृंखल युवाको कुटपिटवाट मृत्यु भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग