Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कस्ले गर्ला अब युवा संघ, गुल्मीको नेतृत्व ?

Published on 5:36:00 AM //


प्रेम सुनार
असोज २५, गुल्मी । युवा संघ नेपाल गुल्मीको ८औं सम्मेलन नजिकिदै गर्दा अबको नेतृत्व कसले लिन्छ त भन्ने चर्चा युवा वृत्तमा चल्न थालेको छ । संघले असोज २७ गते सदरमुकाम तमघासमा सम्मेलन गर्न गइरहेको बेला यस्तो चर्चा चल्न थालेको हो ।
अन्य दलका युवाहरुको सामु आफुहरुलाई ‘डायनामिक युथफोर्स’को उपमा दिन रुचाउने एमाले निकट केही बौद्धिक सर्कलका युवाहरु अबको नेतृत्व तिग्रे–मुग्रे र मुन्द्रे टायपकोलाई नदिई बौद्धिक सर्कललाई दिनुपर्ने धारणा राख्छन् ।
युवा नेतृत्व माथिल्लो नेताको अंगरक्षक जस्तै पिछालग्गु हुने परिपाटी त्यागेर बहुआयामिक हुनुपर्ने अन्य दलका युवाहरुको पनि तर्क रहँदै आएको छ।
युवाहरुलाई विपक्ष दलसँग मुढभेडमा प्रयोग गर्ने , ठेक्कापट्टा हत्याउन परिचालन गर्ने नेता र उनका ठेक्केदारहरुको रक्षक बनाउने प्रचलनबाट आजित छन् सबै दलका युवाहरु । मुढभेडमा प्रयोगकै कारण कैयौ दलका कैयौ युवाहरुको ज्यान गएको त कैयौ अंगभङ्ग भएको यथार्थ जगजाहेर भइरहेको बेला के अबका युवा पाखुरा र ढुंगा मुढाका मात्रै हुन त ? यसमा युवा स्वयमले पनि विवेक पु¥याउने बेला आएको छ । दलको प्रयोगमा ज्यानकै बाजी थाप्ने र पछि गएर युवाहरु राजनैतिकबाट पलायन हुँदै देश–प्रदेश लाग्नुपर्ने उदाहरण कुनै एउटा पार्टीमा मात्रै छैन । त्यही उदाहरणले पनि अबको युवा संगठन राजनैतिक बैचारिक र जनसेवीका रुपमा प्रशिक्षित हुनुपर्ने भएको छ ।
नेताहरुको निहित स्वार्थमा विपक्षी दलका आफ्नै दाजुभाई र छिमेकीसँग दुस्मनी मोल्ने भन्दा कृषि र अन्य उत्पादनमा प्रतिश्प्रर्धामा उतार्न सके कार्यकर्ता स्वयम्को पनि उन्नती हुने र देश पनि समृद्धि तर्फ फड्को मार्ने निश्चित छ । गुल्मीकै सन्दर्भमा भन्नुपर्दा विद्यार्थी संगठन थेग्ने उनै युवा । युवा संगठनमा उनै । अन्य जातीय र पार्टी संगठन उनैले थेगेका छन् ।
अझ एमाले भित्रका युवाहरुको कुरा गर्नुपर्दा उनीहरु बढी शैक्षिक क्षेत्रमा छन् । घरबाट आटो–पिठो लिएर तमघासमा पढ्न बसेका उनीहरु गुजारा चलाउन मुस्किल हुँदाहुँदै पनि पार्टी काममा खटेका छन् । उनीहरुको भविष्य सुनिश्चित गर्न पनि अबको नेतृत्व चयनमा पार्टी नेतृत्वले समेत सोंच्ने बेला आएको छ । युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य गणेश श्रीपाली भन्छन् –‘ सर्वसम्मत नेतृत्व चयनको संभावना रहेको छ ।” यसपालीको नेतृत्व दलित समुदायलाई जान्छ त ? भन्ने प्रश्नमा उनले भने –‘हामीकहाँ जातीयताको सवाल हुँदैन सांगठानिक सक्रियता र क्षमताको आधारमा नेतृत्व चयन गरिन्छ ।’ लुम्विनी अञ्चल ईन्चार्ज समेत रहेका श्रीपालीकै जस्तो भाषाले उनको दलमा मात्र नभई काँग्रेस , माओवादी लगाएतका युवा संगठन र अन्य भातृ संगठन एवं पार्टी नेतृत्वमा दलितहरु पुग्न नसकेको त्यो समुदायबाट गुनासो छ । के त्यसो भए दलितमा क्षमता नै नभएर होला त ? यस्तो प्रश्न पनि उब्जिन थालेको छ ।
एमाले युवा संगठनको कुरा गर्नु पर्दा हरेक आन्दोलनमा दलित युवा युवतीहरुकै सक्रियता बढी देखिन्छ । पार्टी संगठनमा खट्नेदेखि विपक्षसँग दुश्मनी मोल्ने कुरामा समेत उनीहरु लागि परेको पाइन्छ । के अबको नेतृत्व दलितलाई जाला त ? युवा संघ गुल्मीका अध्यक्ष कृष्ण भण्डारी भन्छन्–‘ जान पनि सक्छ ।”
आफुले कुशल नेतृत्वकर्तालाई युवा संघको नेतृत्व सुम्पिन चाहेको बताउँदै भण्डारी भन्छन् –‘सर्वसम्मतकै प्रयास भइरहेको छ ।’
‘साथीहरुले तपाईले नै फेरी नेतृत्व लिनुपर्छ भन्ने कुरामा जोड दिएपनि आफ्नो घरयासी व्यस्तता र अन्य जिम्मेवारीका कारण ९९ प्रतिशत म फेरी नेतृत्व लिने पक्षमा छैन उनले थपे–‘साथीहरुले जिम्मेवारी दिने करै गरे पन्छिन पनि अलि नमिल्ला ।’
उनका अनुसार सम्मेलनमा ७९ गाविसबाट करिब २ सय जना प्रतिनिधि सदरमुकाममा उतारिनेछ । सर्वसम्मतका लागि अहिलेदेखि नै पार्टी भित्र र युवाहरु बीच गृहकार्य भइरहेको बुझिएको छ ।
हेरौं कस्तो नेतृत्व चयन गर्ने हुन कौतुहलताको विषय बनेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग