Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुईसय तोला सुन र २५ लाख लुट्ने लुटेरा पक्राउ

Published on 2:51:00 PM //


२६ असोज, पर्वत । पर्वतको चित्रे गाविस- ७ मा एक घरबाट दुई सय तोला सुन र २५ लाखभन्दा बढी नगद लुट्ने घटनामा संलग्न अभियुक्तहरुलाईर् प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले शुक्रवार पत्रकार सम्मेलनमार्फत लुटपाटमा संलग्न चार जनालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न दुई अभियुक्त भने फरार रहेको प्रहरीले जनाएको छ ।प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अभियुक्तहरुमा स्याङ्जा फेदीखोला गाविस- ७ घर भई पोखरा उपमहानगरपालिका-१७ बस्ने ४७ वर्षीय वीरबहादुर विक, गुल्मी जिल्ला दुविचउर गाविस-९ घर भई पोखरा उपमहनगरपालिका-६ बस्ने ४२ वर्षीय रामबहादुर खड्का, म्याग्दी जिल्ला ओखरबोट गाविस-१ घर भई पोखरा-१५ बस्ने ३० वर्षीय रशबहादुर घर्तीमगर, रोल्पा जिल्ला थवाङ गाविस-८ घर भई पोखरा-२ अर्चलबोट बस्ने २० वर्षीय सविन बुढा रहेका छन् ।
दाङको हापुरे घर भई पोखरा बस्ने जीवन बुढामगर र म्याग्दी ओखरबोट-१ का रेशम घर्तीमगर भने फरार रहेको प्रहरीले जनाएको छ ।अभियुक्तहरुले असोज १२ गते राति पर्वत चित्रे-७ की पवित्रा गुरुङको घरबाट सुन र नगद लुटपाट गरेका थिए । प्रहरी निरीक्षक श्याम अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले कास्की प्रहरीको सहयोगमा पोखराका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।लामो समयको अनुसन्धानपछि अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी प्रमुख केदार खनालले बताउनुभयो ।प्रहरीले अभियुक्तहरुले खाल्टोमा लुकाएको अवस्थामा २१ तोला सुन फेला पारेको छ । उनीहरुले पोखरामा रहेको देउराली सुनचाँदी पसलमा २२ तोला रु नौ लाखमा बिक्री गरेको भेटिएको छ ।
सुन पसल सञ्चालक राजेन्द्र रसाइलीलाई पनि प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका अभियुक्तहरु पेसेवर अपराधी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले स्याङ्जा, कास्की, र तनहुँलगायतका जिल्लामा लुटपाट र हत्या जस्ता आपराधिक गतिविधिमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सविन बुढा वाइसिएलका कार्यकर्ता हुन् । उनी लामो समय पर्वतमा बसेका कारण गुरुङका घरमा रहेको सम्पत्तिबारे जानकार रहेको र लुटपाटको योजना बनाएको हुन सक्ने बताइएको छ ।
 रशबहादुर घर्ती ज्यानमार्ने उद्योग मुद्दामा सजाय भुक्तान गरेका अपराधी हुन् । वीरबहादुर विश्वकर्मा घरजग्गा दलाली र श्याम खड्का डलर काण्डमा परेका अपराधी रहेको बताइएको छ । उनीहरुको अन्य लुटपाटका घटनामा पनि संलग्नता भएको हुनसक्ने अनुमान प्रहरीको छ । रासस

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग