Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

७ छोरा २ छोरी, आश्रममा बूढाबूढी

Published on 8:02:00 PM //


रमेशचन्द्र अधिकारी
मूलघाट (धनकुटा), कार्तिक ५ - सात छोरा र दुई छोरी भएर पनि ८६ वर्षीय माधवप्रसाद गौतमलाई दसैंको रौनकले छोएकै छैन । वृद्धाश्रमको दैनिकी र नियमित पाठपूजामै सीमित गौतमलाई दसैंको उल्लास के हो थाहा छैन ।

विराटनगर-१५ घर भएका गौतम मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा बस्दै आएका छन् । पत्नी देवीकासाथ रहेका उनी दसैंलगायत चाडपर्वमा विगतको स्मरण गर्दै आफन्तजनसँग टाढिनु पर्दाको क्षणमा निकै भावुक बने । छोराछोरी राजधानी र विराटनगरमा राम्रो हैसियतमा रहे पनि आफू वृद्धाश्रममा बस्न बाध्य छन् उनीहरू । 'पारिवारिक समस्याले वृद्धाश्रमको बास बनायो,' गौतमले भने, 'अरू बेला ठीकै भए पनि चाडपर्वमा पहिलेको यादले सताउँदोरहेछ ।'

ठूला जागिरे र व्यवसायी रहेका आफ्ना सन्तान आफूबाट बेखबर बन्दै गएको सुनाउँदै उनले आँसु खसाए । परिवारले आफूलाई बोझ ठानी उपेक्षा गरेर वृद्धाश्रममा पुर्‍याएको सुनाउनुपर्दा उनमा दुःख, पीडा, आक्रोश र चिच्याहट देखिन्थ्यो । बुढेसकालमा उचित हेरचाह र रेखदेख अभाव बेहोरेका गौतम जस्तै अधिकांश वृद्धवृद्धालाई चाडपर्वमा विगतको यादले मात्र पिरोलेको छैन, सन्तान र आफन्तजनसँग बिताएको क्षणले उत्तिकै सताएको छ । गौतम पत्नी देवीले पनि उस्तै वेदना पोखिन् । 'अरू बेला सामान्य रूपमा चल्दोरहेछ तर चाडपर्वमा बढी याद आउँदोरहेछ,' उनले भनिन् । तर आश्रममा आफूहरूजस्ता वृद्धवृद्धाबाट टीका थाप्न र आशीर्वाद लिन धेरै जना आउने भएकाले आफूहरूलाई खुसी मिल्ने विगतको स्मरण सुनाइन् उनले । आफन्त नभएकाहरू भने वृद्धाश्रमको आश्रयमा जीवनको अन्तिम क्षण भजनकीर्तनमा बिताउन बाध्य छन् । तर त्यहाँ रहेका अधिकांशका सन्तान छन् । जसका घरैभरि सन्तान छन्, कतिपय बेखबर छन् । चाडपर्वमा थोरैमात्र आफन्तजन वृद्धाश्रममा भेट्न पुग्ने गरेको त्यहाँ रहेका वृद्धवृद्धाले बताए ।

धनकुटा-३ की ८७ वषर्ीया रेनुका पोखरेलले पनि दसैं भित्रिँदै गर्दा आफन्तबाट टाढिएको पीडाले सताएको बताइन् । दुर्घटनाबाट दुई छोराको मृत्यु भएको र बाँकी सन्तानले पनि उनलाई बेवास्ता गरेपछि आश्रममा आउनु परेको हो । वृद्धाश्रममा रहेकी ९३ वर्षीया गंगामाया काफ्लेको ब्यथा अझ दयनीय छ । उमेर छउन्जेल विराटनगरको एक रिजालका घरमा भान्छे बसेकी उनी आँखा धमिलो भएपछि चामलको चिलसा देख्न छाडिन् । अनि घरबाट निकालिइन् । उनी १४ वर्षदेखि वृद्धाश्रममा शरण लिँदै आएकी छन् । मोरङ टाँडी-४ की सीतादेवी नेपालले पनि ६० वर्षे उमेरमा घरबाट टाढिँदा दुःख लागेको बताइन् । 'परिवारसित भएजस्तो कहाँ हुन्छ र ?' उनले भनिन्, 'जहाँ भए पनि जीवन बिताउनु पर्दोरहेछ ।' विश्रान्ति वृद्धाश्रममा ३५ वृद्धवृद्धा छन् । अधिकांशका आफन्तले दसैंमा पनि आफूलाई बिर्सेको दुखेसो पोखे । त्यहाँ २७ वर्षदेखि बस्दै आएकी कमला दाहालले पनि दसैंको रौनक नआएको सुनाइन् । उनका आफन्तजन पनि टाढिएको वर्षौं बितिसकेको छ । हिन्दु धर्मावलम्बी भारतकी ८० वर्षीया पूर्णिमा मिश्रको पनि पीडा उस्तै छ । उनका आफन्त पनि चाडपर्वमा मात्र नभएर अरू बेलासमेत भेट्नसम्म आउँदैनन् रे । यी सबैलाई आफन्तको यादले उत्तिकै सताउने गरेको छ । वृद्धवृद्धालाई खानपिन र एकापसमा खुसियाली दिन विश्रान्ति मन्दिरले प्रयास गर्दै आएको व्यवस्थापन समिति सहसचिव जनार्दन घिमिरेले बताए । तर आफन्तको पर्खाइमा रहेका विगतमा जस्तै यस वर्ष पनि उनीहरूको आँखा प्रतीक्षामा रहेको घिमिरेको भनाइ छ ।

धनकुटा मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा बस्दै आएका ८६ वषर्ीय माधवप्रसाद गौतम र उनकी पत्नी देवी । उनीहरूका ७ छोरा र २ छोरी राजधानी र विराटनगरमा राम्रो हैसियतमा छन् ।

तस्बिरः रमेशचन्द्र/कान्तिपुर

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग