Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

को हुन् माओवादी अध्यक्ष दाहाललाई हातपात गर्ने ? (भिडियो सहित)

Published on 4:48:00 AM //


माओवादी भन्छ- नियोजित र षड्यन्त्रमूलक, वैद्य माओवादी भन्छ- हाम्रो संलग्नता छैन, गृहमन्त्रालयद्वारा छानबिन समिति गठन, कङ्ग्रेस-एमाले के भन्छ ?
काठमाडौँ, मङ्सिर १ - एकीकृत नेकपा(माओवादी)ले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाललाई गालामा झापड हान्ने व्यक्ति बाग्लुङ राजकोटका पदम कुँवर रहेको प्रहरीले बताएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा यस्तो बुझिएको महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रमुख वरिष्ठ उपरीक्षक जयबहादुर चन्दले जानकारी दिएका छन्।
झापड हानेलगत्तै एमाओवादी कार्यकर्ताको पिटाइबाट आक्रमणकारी कुँबर घाइते भएपछि उपचारका लागि वीरेन्द्र प्रहरी अस्पताल लगिएको छ।

अर्थमन्त्री वर्षमान पुनले आक्रमण कुनै एक व्यक्ति वा पार्टीमाथिको आक्रमणको रूपमा नभई बेठीक मानसिकताको उपज भएको बताए। उनले आक्रमण नियोजित हुनसक्ने अनुमान गर्दै अनुसन्धानपछि सबै कुरा खुल्ने बताए।

शीर्ष नेताहरूमाथि एकपछि अर्को गर्दै आक्रमणका घटना हुनुले शीर्ष नेताहरूको सुरक्षा व्यवस्थामा परिमार्जन गर्नु आवश्यक देखिएकाले सुरक्षा निकायले त्यसबारे योजना बनाउन आवश्यक रहेको मन्त्री पुनले उल्लेख गरे।

प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारी कुँवरले शुभकामना दिने लाइनबाट अध्यक्ष दाहाल नजिकै पुगेपछि हात मिलाए लगत्तै गालामा झापड हानेका थिए।

एमाओवादीको आकस्मिक बैठक
एकीकृत नेकपा (माओवादी)को शीर्ष नेताहरूको आकस्मिक बैठकले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माथि भएको आक्रमण नियोजित र षड्यन्त्रमूलक भएको ठहर गरेको छ।
बैठकले अध्यक्ष दाहालमाथि भएको आक्रमण शान्ति र संविधानविरुद्धको षड्यन्त्रको रूपमा भएको पनि ठहर गरेको छ।

एमाओवादीका अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले आफूलाई जनस्वयम्सेवकको जिल्ला सदस्य बताउने पदम कुँवरलाई नियोजितरूपमा परिचालन गरिएको हुनसक्ने निष्कर्ष निकालिएको एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

जनस्वयंसेवक वैद्य नेतृत्वको माओवादीको भ्रातृ संस्था हो।

कुँवरलाई कोही कसैले नियोजितरूपमा परिचालन गरेको हुनसक्ने र यस्ता खालका घटनाक्रमले शान्ति र संविधानलाई धरापमा पार्न खोजिएको प्रवक्ता सापकोटाले बताए।

प्रवक्ता सापकोटाले भने, "अध्यक्ष दाहालमाथि भएको आक्रमणबाट हामीलाई गम्भीर बनाएको छ, यसको हामीले गम्भीर छानबिन गर्छौ र आवश्यक छानबिनका लागि सरकारको तर्फबाट पनि विशेष पहल गर्ने भएको छ।"

बैठकमा आक्रमणकारी कुँवरको बारेमा बाग्लुङबाट प्राप्त जानकारीको बारेमा पनि छलफल भएको थियो।

अध्यक्षमाथि भएको आक्रमणलाई गम्भीररूपमा लिँदै पार्टीले आवश्यक छानबिन गर्ने र सरकारले पनि आफ्नोतर्फबाट विशेष छानबिन गर्ने निर्णय भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले जानकारी दिए।

हाम्रो पार्टी संलग्न छैन-वैद्य माओवादी
दाहालमाथि भएको हातपातमा आफ्नो पार्टीको कुनै संलग्नता नभएको नेकपा-माओवादीले जनाएको छ।

पार्टीको मुख्यालय बुद्धनगरमा बसेको बैठकपछि माओवादी सचिव नेत्रविक्रम चन्दले एमाओवादी अध्यक्ष दाहालमाथि भएको हातपात दुःखद् भएको बताउँदै घटनामा आफ्नो पार्टीको संलग्नता भएको भनी आएका अभिव्यक्ति आवेगात्मक र पूर्वाग्रही भएको बताए।

उनले भने, "हामीले त्यस्ता गतिविधि गर्न आवश्यक नै छैन। नियोजितरूपमा एकथरि मान्छेले त्यस्तो हल्ला फैलाएर वातावरण धुमिल गर्ने प्रयास गरेका हुन्।"

उनले जनताबीच भिडन्त गराउने उद्देश्यले यस्ता हल्ला फैलाइएको बताउँदै घटनामा आफू ईञ्चार्ज रहेको युवा जनस्वयमसेवक ब्यूरोको सदस्यको संलग्नता रहेको भनी एमाओवादी पक्षबाट आएको अभिव्यक्ति निन्दनीय छ भने।

गृहमन्त्रालयद्वारा तीन सदस्यीय छानबिन समिति गठन
घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।

समितिका सदस्यहरूमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान ब्युरोका प्रहरी नायव महानिरीक्षक केशवबहादुर खत्री र महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक देवेन्द्र सुवेदी रहेका छन्।

समितिले घटनाको वास्तविकता छानबिन गरी सत्यतथ्य पत्ता लगाई एक हप्ताभित्र प्रतिवेदन पेश गर्नेछ।

यसैगरी चियापान कार्यक्रममा अध्यक्ष दाहालमाथि भएको अनपेक्षित घटनाप्रति गृहमन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ।

हातपात गलत संस्कार : काँग्रेस/एमाले
नेपाली काँग्रेस र नेकपा (एमाले)का नेताहरूले एनेकपा (माओवादी)द्वारा आज भृकुटीमण्डमा आयोजित चियापान कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालमाथि भएको हातपातको घटनाको निन्दा गर्दै यसलाई गलत संस्कारको संज्ञा दिएका छन्।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अध्यक्ष दाहालमाथि भएको हातपातले राजनीतिक संस्कृतिलाई विकृत गराउने बताउँदै यस्ता घटनाहरूलाई सबैले निरुत्साहित गरी छानबिन गर्न माग गरे।

यसैगरी, सो हातपातको घटनाका सम्बन्धमा प्रतिक्रिया दिँदै नेकपा (एमाले) का प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले असन्तुष्टी व्यक्त गर्ने सभ्य, शीष्ट, वैधानिक र लोकतान्त्रिकजस्ता अनेक बाटाहरू हुँदाहुँदै नेताहरूमाथि शृङ्खलाबद्ध आक्रमण हुनु निन्दनीय भएको बताए।

उनले यस्ता घटना व्यक्तिगत आक्रमण वा स्वस्फूर्त जस्तोसुकै हुन सक्ने भए पनि घटनाहरूको गम्भीर समीक्षा गरी नेताहरूको सुरक्षामा विशेष ध्यान आग्रह गरे। रासस

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग