Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आत्महत्या गर्नेहरु बढे

Published on 7:11:00 PM //


विशाल भट्टराई
गुल्मी, १९ कात्तिक । पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढेको छ । तीन महिनामै १७ जनाले आत्महत्या गरेपछि प्रहरीले सामाजिक संस्थाहरूलाई आत्महत्या रोक्न सचेतना अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।

Sketch: DarkSketch.com
जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीमा पछिल्लो ३ महिनामा १७ जनाले आत्महत्या गरेका छन् । पछिल्लो समयमा मरभुङ–८ टाँडका चेतनारायण विकले ७ कात्तिकमा आत्महत्या गरे । उनले दशैँ सकिएसँगै दशँैको आर्थिक बोझले मानसिक स्थिति कमजोर भएका कारण आत्महत्या गरेको हुन सक्ने प्रहरी नायव निरीक्षक रामप्रसाद पाण्डेले बताए । विकका १३ वर्षभन्दा साना १ छोरा ३ छोरी रहेको छिमेकी हिमप्रसाद घिमिरे बताउँछन् । विकले आत्महत्या गरेपछि उनका परिवारको बिचल्ली भएको छ । घरमा आम्दानीको कुनै स्रोत छैन । भौतिक सम्पित्ति अत्यन्तै न्यून छ । श्रीमान्ले आत्महत्या गरेपछि विककी श्रीमती अचेतजस्तै बनेकी छन् । विक मात्रै होइन, दशैँको समयमा मात्र जिल्लामा ३ जनाले आत्महत्या गरेका छन् ।
गत साउनमा गुल्मी तुराङ–१ रामपुरकी १५ वर्षीया धर्ती गौतमले पढाइमा कमजोर महसुस गरेर आत्महत्या गरेकी छन् । होडबाजी मौलाइरहेको समाजमा सोँच्दासोँच्दै डिप्रेसन भएर थुपै्रको ज्यान गएको छ । सिर्सेनी–३ छापका नेत्रबहादुर नेपालीले पनि १८ वर्षको उमेरमा घरेलु झैझगडाका कारण जीवनबाट बिदा लिए । जिल्लामा आत्महत्या गर्ने क्रम नरोकिएपछि जिल्लामा क्रियाशील विभिन्न सामाजिक संस्थाहरूलाई चेतनामूलक कार्यक्रम फैलाउन प्रहरीले अनुरोध गरेको छ । विगतको ३ महिनामा आत्महत्या गर्ने १७ जनामध्ये १२ जना विवाहित छन् भने ५ जना अविवाहित छन् । यसमध्ये जिल्लाको क्षेत्र नम्बर–३ मा यो समस्या अत्यन्तै विकराल भएको छ । धेरैले संघर्षबाट डराएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गुरुविष्णु काफ्लेले बताए । ‘धेरैजसोले त घरायसी कारणबाट खिन्न भएपछि कुनै पनि अठोट गर्न नसकेर आत्महत्या गरेका छन्,’ डिएसपी काफ्लेले भने, ‘जिल्लामा यो समस्याले निकै असर पारेको छ ।’
घरेलु हिसांका कारण जिल्लामा आत्महत्या बढेको मानवअधिकारकर्मी नरेश भण्डारी बताउँछन् । ‘धेरैजसोले घरुलु हिंसाका कारण आत्महत्या गरेको पाइन्छ,’ उनले भने, ‘विस्तारै मानिसको जीवनशैली जटिल बनिरहेको छ, इच्छा र आवश्यकताको परिपूर्ति नहुँदासमेत आत्महत्या हुन्छ ।’ कमजोर मानसिकता भएका मानिस डिप्रेसनको रोगी भएका कारणले आत्महत्या गर्ने गरेको भण्डारीले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग