गुल्मीमा ६ लाख कन्डम निःशुल्क बाँडियो, थप १२ लाख कण्डम बिक्री भए
Published on
12:28:00 AM //

विभिन्न स्वास्थ्य संस्था र एचआइभी एड्स नियन्त्रणको क्षेत्रमा काम गरिरहेका संस्थाले ७९ वटै गाविसमा राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र नार्डेक मार्फत ६ लाख रुपैयाँ बराबरको कन्डम निःशुल्क वितरण गरेको जिल्ला जनस्वास्थ्य प्रमुख डा. हरिबहादुर केसीले जानकारी दिए । निजी क्लिनिक र अस्पतालबाट एक वर्षमा झन्डै १२ लाख कन्डम बिक्री समेत भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
सहस्राब्दी विकास लक्ष्य मध्येको एक एचआइभी एड्सको नियन्त्रण र परिवार नियोजनको लक्ष्य पूरा गर्नका लागि सरकारी स्वास्थ्य संस्थाबाट यो सेवा तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
एचआइभी एड्सको नियन्त्रण गर्न सरकारले सन् २०१५ सम्म परिवार नियोजन दर ६७ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । तर गुल्मीमा हाल ३२ प्रतिशतले मात्र परिवार नियोजन गर्ने गरेको डा. केसीले बताए ।
'कन्डमको प्रवर्द्धन गर्न सकियो भने परिवार नियोजन दरलाई उकास्न टेवा पुग्छ,' उनले भने, '७१ हजार सात सय ९७ विवाहित महिलामध्ये ३२ हजार २१ ले मात्रै परिवार नियोजनका साधन अपनाउँछन् ।' जिल्लामा विगतको तुलनामा परिवार नियोजन दर बढेको जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक प्रतीक खनालले बताए ।
गुल्मीका ४९ गाविसमा एचआइभी एड्स नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन भएको थियो । ती गाविसमा जनचेतनाको कारण विगतको तुलनामा कन्डम प्रयोग गर्नेको संख्या बढेको खनालको भनाइ छ ।
नयाँपत्रीका दैनिकबाट