Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उधारो दान, क्याम्पसले महायज्ञमा बोलेको ५० प्रतिशत रकम पनि उठाउन सकेन

Published on 10:09:00 PM //


गगनशिला खड्का
गुल्मी, १४ मंसिर । जिविस गुल्मीले कात्तिक तेस्रो साता भएको महायज्ञमा रेसुंगा बहुमुखी क्याम्पसका लागि ३० लाख दिने घोषणा गर्दा आधा दर्जन कर्मचारी र गुल्मेली नेताले खादा र माला लगाएर नौमती बाजामा धुमधाम नाचे, जुनवेला क्याम्पसले कक्षा सञ्चालनका लागि हम्मेहम्मे परेर रकम संकलन गर्न महायज्ञ लगाएको  थियो । तर जिविसले घोषणा गरेको रकम अहिलेसम्म पनि क्याम्पसले पाउन सकेको छैन ।
महायज्ञमा आधा रकम पनि संकलन गर्न नसकेपछि क्याम्पसले गरेको महायज्ञ उधारो बन्न पुगेको छ । जिल्लाका राजनीतिक दल मात्रै होइन, अन्य दानवीरहरुले पनि उधारो रकममा खादा र माला लगाएकाले महायज्ञमा ६० प्रतिशत दान कागजमा मात्रै संकलन भएको हो । महायज्ञ सकिएको २० दिनपछि आर्थिक समितिले गरेको पत्रकार सम्मेलनमा क्याम्पसका कोषाध्यक्ष तथा महायज्ञको आर्थिक समिति संयोजक दुर्गाचन्द्र बोहोराले भने, महायज्ञमा ६० प्रतिशत रकम उधारो संकलन भएको छ, त्यसलाई उठाउन समिति गठन गरेर लागिरहेका छौँ ।
महायज्ञ अवधिमा कुल तीन करोड १६ लाख ४० हजार पाँच सय ४७ रुपैयाँ दान दिने घोषणा भएको थियो । तर, जम्मा ९० लाख ६८ हजार चार सय ९५ रुपैयाँ मात्र संकलन भएको बोहोराले बताए । अझै एक करोड ६४ लाख ६३ हजार नौ सय २२ रुपैयाँ उठ्न बाँकी रहेको आर्थिक उपसमितिले जनाएको छ ।

बोहोराले आफ्नो संयोजकत्वमा आर्थिक समिति हुँदाहुँदै आफूलाई विश्वास नगरेर खरिद समिति छुट्टै गठन गरिएकाले पनि खर्च धेरै भएको दाबी गरे । महायज्ञमा ७३ व्यक्ति तथा संघसंस्थाले एक करोडभन्दा बढी दान गरेकोमध्ये आधाले पनि पैसा दिएका छैनन् । उधारो दान गर्नेमध्ये सबैभन्दा बढी जिल्ला विकास समिति गुल्मीले ३० लाख रुपैयाँ तिर्न बाँकी छ । सो रकम तीन आर्थिक
वर्षमा तिर्ने सहमति भएको आर्थक समितिले जनाएको छ । गुल्मी उद्योग वाणिज्य संघले दान गरेको पाँच लाख रुपैयाँ पाँच वर्षभित्र तिर्ने सहमति भएको वाणिज्य संघका सचिव ताराप्रसाद भुसालले जानकारी दिए ।
५९ लाख पाँच हजार ६ सय १६ रुपैयाँ जिन्सी आम्दानी भएको छ । जसमा ५८ लाख पाँच हजार ६ सय १६ रुपैयाँ बराबरको जग्गा र बाँकी एक लाखको कम्प्युटर तथा सोलार सिस्टम रहेका छन् ।
व्यक्तिगत रूपमा  सवै भन्दा वढी चन्दा रकम सहयोग गर्नेहरुमा तम्घास गाविस ४ निवासी राजकुमार श्रेष्ठ र तम्घास ६ निवासी बिष्णु प्रसाद पन्थी रहनु भएको छ । नगद र जग्गा सहित श्रेष्ठले रु २१ लाख रुपैंया र पन्थीले २० लाख रुपैंया महायज्ञमा दान गर्नु भएको हो ।  त्यस्तै तम्घासकै एकमाया मरासिनीले पाँच लाख एक हजार एक सय ५१ रुपैयाँ नगद प्रदान गरिन । संस्थागततर्फ चिन्तामणि निमकला टोमलाल भुसाल प्रतिष्ठानले १५ लाख एक हजार पाँच सय रकम प्रदान गरेको छ ।
महायज्ञ गर्न २३ लाख खर्च भएको छ । महायज्ञ आयोजक समितिलाई तम्घासका सम्पूर्ण व्यवसायी तथा क्याम्पसका शुभचिन्तकलाई सूचना नगरेको, सामान खरिदमा अनियमितता गरेको, स्वयंसेवकका नाममा धेरै खर्च गरेको लगायत आरोप लागेका छन् । उता क्याम्पस सञ्चालन समितिका अध्यक्ष नन्दराम भुसालले भने सबैलाई खबर गरेको दाबी गरे ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग