Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काठमाडौंमा "स्वर्ग जस्तै गुल्मी" (फोटो फिचर सहित)

Published on 10:26:00 PM //

तेजेन्द्र थापा
गुल्मी जिल्लाको ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पर्यटकीय, कृषि लगायत बिषयमा लोक ध्वज शाह र तेजेन्द्र थापाले संयुक्त रुपमा निर्माण गरेको वृत्तचित्र "स्वर्ग जस्तै गुल्मी"को काठमान्डौमा बिशेष प्रदर्शन सम्पन्न भएको छ ।

सो डकुमेन्ट्रीका निर्माता लोकध्वज शाहको सभापतित्व तथा संयुक्त राष्ट्र संघका पुर्व सहायक महासचिव कुलचन्द्र गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको संचालन डा. बद्रि गौतमले गर्नु भएको थियो । डा. लक्ष्मीकान्त पौडेलले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा गुल्मीमा जन्मी हुर्की राज्यका विभिन्न क्षेत्रका उच्च तहमा पुग्नु भएका गुल्मेलीहरु लगाएत विश्वमै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्तित्वहरुको उपस्थिति थियो ।
डकुमेन्ट्री हेरी सकेपछि सम्पूर्ण गुल्मी एकै ठाँउमा बसेर हेर्न पाएको र आफ्नो बाल्यकालको सम्झना आएको उपस्थित व्यक्तित्वहरुले बताउनु भएको थियो । सो डकुमेन्ट्रीको बारेमा बोल्दै नेकपा-माओबादी काठमाण्डौ बिशेष जिल्ला कमिटि सेक्रेटरी आर.सी. न्यौपानेले नेपाली सँस्कृति माथि बिदेशी प्रहार भैरहेको अहिलेको यो अबस्थामा यो डकुमेन्ट्रीले गुल्मीबाट सम्पूर्ण देशको सँस्कृति बचाउने अभियान शुरु गरेको र देशै भरि नेपाली सँस्कृति बचाउन यसबाट पाठ सिक्नु पर्ने बताउनु भएको थियो ।
साथै पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्रि तथा नेकपा एमाले पोलिटिब्यूरो सदस्य प्रदिप ज्ञवालीले प्राकृतिक रुपमा स्वर्ग जस्तो हाम्रो जन्मभुमि गुल्मीलाई सबै गुल्मेलीहरु मिलि भौतिक रुपमा अझै स्वर्ग बनाउनु पर्ने र यो डकुमेन्ट्रीले गुल्मिलाई संसार भरि चिनाउन सहयोग पुर्याउने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि कुलचन्द्र गौतमले अहिले भू-मण्डलीकरणका कारणले जो जो जहाँ जहाँ छरिएर रहेता पनि पछि आ-आफ्नो जरो खोज्दै आ-आफ्नो जन्म भुमिमा फर्कने र यो डकुमेन्ट्रीले विश्व भरि छरिएर रहेका सम्पूर्ण गुल्मेलिलाई गुल्मी फर्कन प्रेरित गर्ने बताउनु भयो । उहाँले यो डकुमेन्ट्रीले संसार भर गुल्मीको पहिचान दिनेमा पनि आशा राख्नुभएको थियो ।





Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग