Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"समाजमा खुल्दा बाँच्नै गार्हो "

Published on 1:52:00 PM //


गगनशिला खड्का
गुल्मी, १२ पुस ।  'एचआइभी लागेकासँग त सँगै बस्न हुँदैन भनेर कहिलेकाहीँ छिमेकीहरू साथीभाइसँग कुरा गर्दा भन्छन् । त्यसैले म संक्रमित हुँ भन्यो भने त गाउँ निकाला नै गर्लान् भन्ने डरले कसैलाई भन्न सकेको छैन ।'
हस्तीचौरका राममणि पछाईं (नाम परिवर्तन) को पीडा हो यो ।    सामाजिक विभेदमा पर्ने डरले उनीजस्ता धेरै एचआइभी संक्रमित समाजमा लुकेर बस्न बाध्य छन् ।
भेदभाव र लाञ्छना लाग्ने डरले जुहाङका विश्वनाथ ढकाल (नाम परिवर्तन) आफ्नै परिवारसँग समेत लुकेका छन् । उनकी श्रीमतीलाई श्रीमान् संक्रमित हो भन्ने थाहा छ । तर, परिवारका बाँकी सदस्यलाई उनी संक्रमित हुन् भन्ने थाहा छैन । 'मलाई एचआइभी लागेको छ भनेपछि परिवार र समाजले गाउँमै बस्न दिँदैन कि भनेर म संक्रमित हुँ भन्न सकेको छैन,' ढकालले भने ।
'एचआइभी संक्रमितलाई हेला होइन, माया गरौँ' भन्ने अभियानका साथ विभिन्न कार्यक्रम सञ्चालन भए पनि समाजमा अझै एचआइभी भन्नेबित्तिकै हेयभाव भएका कारण धेरै संक्रमित कष्टकर जीवन बिताउन बाध्य छन् । विभिन्न गैरसरकारी संस्थामार्फत संक्रमितलाई सहयोगका लागि गाउँ जानेहरूलाई मात्र उनीहरू आफ्नो समस्या बताउँछन् ।  
संक्रमित भएर पनि घर र परिवारसँग परिचित हुन नचाहनेहरूको संख्या घटेको भए पनि अझै पनि केहीले समाजमा भेदभाव हुने डरले लुकेर बस्ने गरेको एचआइभी संक्रमितको क्षेत्रमा काम गरिरहेको संस्था राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र नार्डेकका एकीकृत स्वास्थ्य केन्द्र सहजकर्ता लुमबहादुर श्रीसले बताए । 'हामीले एचआइभीको जोखिम पहिचान, सचेतना, सूचना सामग्री वितरणलगायत कार्यक्रम गरेर धेरैलाई चेतना जगाए पनि कतिपय अझै आफँै डरका कारण खुल्न चाहँदैनन्,' उनले भने, 'खुलेपछि समाजले नराम्रो व्यवहार गर्छ भन्ने धेरैलाई डर छ ।'
जिल्लामा एचआइभी संक्रमित एक सय ६० जनामध्ये अधिकांशले परिवार र समाजसँग आफ्नो वास्तविकता बताउन नसकेको श्रीसको भनाइ छ । नार्डेकका मनोसामाजिक परामर्शकर्ता हरिकृष्ण विकका अनुसार अहिलेसम्म संक्रमित पहिचान भएकामध्ये ४/५ जना मात्र सामाजसँग खुलेका छन् । त्यसमा पनि २०/२५ जना त परिवारसँग पनि खुल्न नसकेको उनको भनाइ छ ।
'ऊर्जाशील उमेरका युवा बढी संक्रमित भेटिएका छन्,' जिल्ला एड्स समन्वय समिति गुल्मीका कार्यक्रम संयोजक प्रतीक खनालले भने, 'अहिलेसम्म पहिचान भएका एक सय १० जना संक्रमित फेला परेकोमा ६३ जना २० देखि ३० वर्षभित्रका छन् ।' उनका अनुसार ५० जनाको लैंगिक पहिचान हुन सकेको छैन ।
संक्रमितमध्ये महिलाको संख्या पुरुषको तुलनामा ११ प्रतिशतले बढी छ । अधिकांश प्रवासी पुरुषका श्रीमती छन् । जिल्लामा एचआइभी संक्रमणको उच्च जोखिममा अश्लेवा गाविस रहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग