Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वन र वातावरण संरक्षणको आधार बन्दै सुधारिएको चुलो

Published on 2:18:00 PM //

भरत पाण्डेय
गुल्मी । आजभोलि स्थानीय अर्खलेकी गङ्गा खनाललाई खाना पकाउन निकै जाँगर चल्छ । सुधारिएको माटोकै चुलो बाले पनि धुवाँ नआउने र थोरै दाउराले खाना पाक्ने भएपछि उनलाई खाना पकाउन जाँगर चलेको हो ।
उनी भन्छिन्– “सुधारिएको चुलोबाट निस्कने धुवाँ घरभित्र फैलन पाउँदैन, ग्यासमा खाना पकाएजस्तै हुन्छ । पहिले–पहिले दाउरा कहाँबाट ल्याउने भन्ने चिन्ता हुन्थ्यो, अहिले त दुई टुक्रा दाउरा राख्यो भने दाल, भात, तरकारी एकैछिनमा पाक्छ, बर्सेनि २०÷३० डोका दाउरा बचत भएको छ, भाँडाकुँडा कालो हुने समस्या हटेको छ ।”
हस्तीचौर–४ की एकल महिला कालिका खत्री आजभोलि इँटा बनाउने काठको मेसिन बोकेर गाउँ डुल्छिन् किनकि उनको आम्दानीको स्रोत नै माटोको चुलो बनाउनु हो । श्रीमान् बितेपछि उनको आम्दानीको बाटो अर्को थिएन । उनले गाविसको सहयोगमा २०६४ सालमा चुलो बनाउने तालिम लिई त्यसमा लागेपछि अहिले मासिक रु तीनदेखि पाँच हजारसम्म आम्दानी गरी दुई बच्चासमेत पढाउँदै आएकी छिन् ।
चुलोको धुवाँबाट मुक्त गङ्गा र पैसा कमाउन व्यस्त कालिका मात्र नभइ गुल्मीका २३ हजार घरपरिवार अहिले माटोको चुलो बाल्न परेकोमा पछुतो मान्दैनन् किनकि सुधारिएको चुलोले उनीहरुको स्वास्थ्य, सरसफाइ र समयको बचत गर्न सघाइरहेको छ ।
सुधारिएको चुलो बाल्दा पुरानो खालको चुलोका तुलनामा दाउरा आधा भए पुग्ने, खाना छिटो पाक्ने र धुवाँ कम आउने भएकाले मानिसको स्वास्थ्यमा असर पर्दैन, घर सफा हुन्छ, समयको बचत हुन्छ, त्यसैले यस चुलो लोकप्रिय बनेको हो । पहिलेपहिले बिहानभरी धुवाँ आउने चुलोमा बस्नुपर्ने र त्यसबाट आँखा पोल्ने समस्या हुन्थ्यो, तर अहिले त्यस्तो अवस्था छैन ।
गुल्मीमा सुधारिएको चुलो बनाउने प्रविधि २०५७ सालमा भित्रिएको हो । त्यतिबेला १५ गाविसमा सो काम थालिएको थियो । सुधारिएको चुलो बनाउने प्रवद्र्धकहरूको संस्था ग्रामीण प्रविधि प्रवद्र्धक सङ्घ, गुल्मीका अध्यक्ष श्यामलाल खनाल भन्छन्– गाउँलेलाई सहयोग गर्ने चुलो कार्यक्रम २०५९ सालमा फिर्ता गयो, तर हामीले पहल गरेर २०६० सालदेखि यो काम पुनः सुरु ग¥यौँ ।
हाल २३ हजार १६८ परिवारले सुधारिएको चुलो बाल्ने गरेको गुल्मीमा वैकल्पिक उर्जा क्षेत्रमा काम गरिरहेको संस्था ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) ले जनाएको छ ।
रेडाका जैविक ऊर्जा इन्जिनियर शिवजी भुसालका अनुसार सुधारिएको चुलोमा ६० प्रतिशत दाउरा कम खपत हुन्छ, यसले गृहिणीलाई सजिलोमात्र नभइ वन, जङ्गल संरक्षणमा समेत ठूलो टेवा पुगेको छ । सुधारिएको चुलो बालेपछि दाउराको खपतमा कम भई वन संरक्षण भएको सहायक जिल्ला वन अधिकृत कर्णबहादुर पाण्डे बताउँछन् । सामुदायिक वनका थुप्रै उपभोक्ता सुधारिएको चुलोप्रति आकर्षित भएको पाइएको जानकारी पनि उनी दिन्छन् ।
अर्खलेकी वसन्ती बस्याल सुधारिएको चुलो बनाएरै वार्षिक रु दुई लाख कमाउने गरेको दाबी गर्छिन् । “२०६० सालमा तालिम लिएर चुलो बनाउन थालेकी बस्यालले अहिलेसम्म एक हजार २०० भन्दा बढी चुलो बनाइसकेकी छन् । यकिन हिसाब त राखेको छैन तर घरखर्च सबै चलाएर रु १० लाखभन्दा बढी नै कमाइसकेकी छु ।”
गुल्मीका ७९ मध्ये ६९ गाविसमा हाल सुधारिएको चुलो बनाउने काम भइरहेको छ । यस कार्यमा नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र ऊर्जा क्षेत्र सहयोग कार्यक्रमको सहयोग रहेको छ भने विभिन्न गैरसरकारी संस्थाले यसको समन्वय गरिरहेको बताइन्छ ।
वन, जङ्गलको संरक्षण र जनस्वास्थ्यमा सुधार आएपछि कतिपय गाविसमा गाविसले नै सुधारिएको चुलो बनाउने अभियान चलाएको छ । हस्तीचौर र दर्लामचौर गाविसले सुधारिएको चुलो बनाउने अभियान नै चलाएका छन् । दाउरा बचत हुनुका साथै मानिसको स्वास्थ्य र वन संरक्षण हुने भएपछि लक्षित वर्ग कार्यक्रमअन्तर्गत गाविसका दुईवटा वडामा रु १९ हजार ५००  छुट्याएर दलितहरूका घरमा चुलो बनाइदिएका छौँ–हस्तीचौर गाविस सचिव कृष्णबहादुर रायमाझीले बताए ।
दर्लामचौरको रामकोट पाताल सामुदायिक वन र म्यालपोखरीका सामुदायिक वनहरूले अभियानकै रुपमा सुधारिएको चुलो बनाउने कार्यक्रम सञ्चालन गरिरहेका छन् । गुल्मीका ६९ गाविसमा ३० देखि ९५ प्रतिशत घरमा सुधारिएको चुलो बालिएको  रेडाका कार्यक्रम संयोजक ज्ञानबहादुर महतरा बताउँछन् । उनका अनुसार यस्तो चुलो बनाउन बढी मात्रामा महिला आकर्षित भएका छन् ।
सुधारिएको चुलो प्रयोग भएपछि श्वास–प्रश्वासका रोगमा पनि कमी आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अध्ययनअनुसार आर्थिक वर्ष २०६५÷६६ मा एक हजार व्यक्तिमा ४० जना धुवाँका कारण हुने श्वास–प्रश्वासका रोगी भेटिए भने  २०६८÷६९ मा  प्रतिहजार ११ जनामा मात्र सो समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा हरिबहादुर केसी बताउँछन् ।
सो अभियानअन्तर्गत करिब २०० जनालाई सुधारिएको चुलो बनाउने रोजगारी पनि दिइएको छ । चुलो बनाउने तालिम लिएकाले एउटा चुलो बनाएको रु ५०० देखि रु एक हजारसम्म पारिश्रमिक लिने गरेका छन् ।
मुसिकोटका केन्द्र महत र जोहाङका प्रेम माझी पनि जिल्लामा उत्कृष्ट चुलो प्रवद्र्धकका रुपमा चिनिन्छन् । एउटा हातमात्र भएका महतले एकै हातका भरमा चुलो बनाउँछन् भने माछा मार्ने पुरानो पेसा छाडेर यस कामका लागेका माझी चुलो बनाएवापत राम्रो आम्दानी गर्नेमा गनिन्छन् । उनीहरूलाई रेडाको कार्यक्षेत्रअन्तर्गतका नौ जिल्लामध्ये उत्कृष्ट काम गरेको भन्दै २०६९ सालमा पुरस्कृतसमेत गरिएको थियो ।
ग्रामीण प्रविधि प्रवद्र्धक सङ्घ, गुल्मीका अध्यक्ष श्याम खनालले २०५७ सालदेखि सुधारिएको चुलो बनाएरै जीविकोपार्जन गर्दै आएको बताए । चुम्पले सामुदायिक वन उपभोक्ता समितिका सचिवसमेत रहेका खनालले भने– यसले वन संरक्षणमा पनि ठूलो सहयोग पु¥याएको थाहा पाएपछि जिल्लाका विभिन्न सामुदायिक वनसँग समन्वय गरेर वन उपभोक्ता समितिलाई सुधारिएको चुलो तालिम दिने अभियान पनि चलाएका छौँ ।
गुल्मीका ९५ प्रतिशत घरमा धुवाँ नआउने चुलोको प्रयोग हुन थालेपछि जिल्लाका हर्दिनेटा, म्यालपोखरी, पल्लिकोट, बलेटक्सार र पराल्मी गाविसका आम उपभोक्ता आफ्नो गाविसलाई ‘घरभित्रको धुवाँरहित गाविस’ घोषणा गर्ने अभियानमा लागेको हर्दिनेटा गाविसका सचिव कमल श्रेष्ठ बताउँछन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग