Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अभिभावक पढाउँदै गुल्मीका शिक्षक

Published on 10:24:00 PM //


विष्णु पौडेल
गुल्मी । विद्यालय नै बन्द गरी जिल्लाका शिक्षकहरू अभिभावक पढाउन थाले भन्दा अच्चम लाग्न सक्छ, तर अचम्म मान्नु पर्दैन । गुल्मी वाग्ला गाविसका शिक्षक यसरी महिनाको एक दिन विद्यालय नै बन्द गरी अभिभावक पढाउने गर्छन् । वाग्लाको देवीस्थान प्राविका शिक्षकहरू विद्यार्थी पढाउन छाडेर प्रत्येक महिनाको एक दिन अभिभावकलाई पढाउन जाने गरेका छन् । उनीहरूले अभिभावकलाई सामाजिक स्वास्थ्य तथा सरसफाइका विषयमा पढाउने गरेका छन् ।
विद्यालयको सेवा क्षेत्रभित्रका १ सय ५० घर–परिवारका अभिभावकलाई फोहोर मैला व्यवस्थापन र सरसफाइको महत्वका बारेमा जानकारी गराउने गरेको प्रधानाध्यपक कृष्णप्रसाद घिमिरेले बताए । विद्यार्थीको पहिलो पाठशाला घर भएकाले घरलाई नै सफा सुग्घर राख्नुपर्छ भनेर अभिभावक सचेत बनाउने अभियानमा लागेको उनले बताए । ‘घर–परिवार र समाज नै सफा भएमा धेरै रोगबाट बच्न सकिन्छ भनेर हामीले अभियान सुरु गरेका हौं, प्रधानाध्यपक घिमिरेले भने, ‘शिक्षकले विद्यार्थी मात्रै भन्दा पनि सरसफाइका विषयमा सबैलाई सचेत बनाउनु आवश्वयक छ ।’ ‘घरआँगन सफा गरौं, विभिन्न रोगबाट बचौं’ भन्ने नाराका साथ सुरु अभियानमा विद्यार्थीका घरघरै पुगेका शिक्षकहरूले फोहोरमैला व्यवस्थापन, सरसफाइको महत्व लगायतका विषयमा अभिभावकलाई सचेत बनाउने गरेका छन् । विभिन्न समूहमा विभाजित भई शिक्षक, विद्यार्थी तथा कतिपय अभिभावकको समेत उपस्थितिमा बाटोघाटो सफा गर्नुका साथै घरघरमा पुगेर फोहोर मैलालाई व्यवस्थापनका विषयमा जानकारी दिइएको प्रअ घिमिरलेले बताए । अभियानअन्तर्गत प्रत्येक महिनाको एक दिन घरघरै पुग्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । हाल विद्यालयमा विद्यार्थी ६० जना अध्ययनरत छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग