Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धार्मिक स्थानमा स्थानीय साधन श्रोत प्रयोग गरौँ ः मुख्य सचिव पौडेल

Published on 2:41:00 PM //


प्रेम सुनार
गुल्मी, पौष २१ । नेपाल सरकारका मुख्य मन्त्री लिलामणी पौडेलले धार्मिक एवं अन्य ऐतिहाँसिक सम्पदा संरक्षण र निर्माणमा स्थानीय साधन श्रोतको प्रयोग गर्न जोड दिनुभएको छ । हिजो गुल्मीको पवित्र धार्मिक क्षेत्र रुरुमा हालै निर्मित देवदूत पार्कको उद्घाटन गर्दै मुख्य सचिव पौडेलले यस्तो वताउनुभएको हो ।
गुल्मी जिल्लामा रहेको धार्मिक, साँस्कृतिक, ऐतिहाँसिक सम्पदाहरु जे जति छन् तिनीहरुको भौतिक पुर्वाधारको सुधार तथा ऐतिहाँसिक आध्यात्मिक क्षेत्रलाई पर्यटनको माध्यमद्धारा जनताको जिवनस्तरसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । धार्मिक, साँस्कृतिक सम्पदा हाम्रा अमुल्य निधी भएको भन्दै उहाँले त्यसले हाम्रो साँस्कृति मान्यतालाई परिस्कृत वनाउन सक्नुपर्ने र मानवीय जिवनलाई सरल र सहज वनाउनुपर्ने उहाँको धारणा थियो । रुरु क्षेत्र लगायत पवित्र धार्मिक क्षेत्रमा स्थानीय ढङ्गले दैनिक पुजाआजा गर्ने थलो मात्र नवनाई वढी भन्दा वढी मानिसहरु आउने तीर्थस्थलका रुपमा विकास गर्न स्थानीयवासी लाग्नुपर्नेमा उहाँको सुझाव थियो । यतिवेला नेपाल सरकारले मठ मन्दिर एवं पर्यटकीय स्थलहरुमा सिमेण्ट र छडको प्रयोगमा रोक लगाएको कुरा उल्लेख गर्दै आगामी दिनहरुमा स्थानीय ढुङ्गा माटो प्रयोग गर्न जिल्लावासीलाई उहाँको सुझाव थियो । स्थानीय साधन श्रोत प्रयोग गर्दा एकातिर कम खर्चिलो हुने र अर्को हाम्रो परम्परा गत मौलिकता झल्किने भएकाले सरकारले स्थानीय श्रोत साधनलाई जोड दिएको वताउनुभयो । धर्म र आत्म शान्तिका लागि गुल्मेलीहरु काँशी हरिद्धार पुग्छन् तर प्रमुख चार धाम मध्ये एक धाम गुल्मीको रुरु छाडेर किन जाने प्रश्न गर्दै उहाँले भारत लगायत बाहिरी क्षेत्रका मान्छेलाई रुरु क्षेत्रमा ल्याउन प्रचार प्रसार गर्नुपर्ने र यसको महत्व झल्किने लिपी तैयार गर्नुपर्नेतर्फ विशेष जोड दिन स्थानीय समाजसेवीलाई आग्रह गर्नुभयो । यही माघ १ गते मकर सक्रान्तिका दिन रुरुमा लाग्ने देशकै ठुलो धार्मिक मेलामा आफु स्थानीयवासी भएका नाताले आउने ठुलो इच्छा रहेको वताउनुभयो ।
विशेष अतिथि पुर्व सभाषद सुदर्शन वरालले धार्मिक दृष्टिले अति महत्वपुर्ण स्थान रुरु र रेसुङ्गा लगायतका क्षेत्रलाई राष्ट्रिय चर्चाको विषय वनाउन नसकिएकोले जनता र राष्ट्रिय विकाससँग जोड्नुपर्ने सुझाव दिनुभएको थियो । अझै पनि यी महत्वपुर्ण धार्मिक स्थानहरुको वारेमा गाउँ ठाउँका मान्छेहरुले वुझ्न नसकेकाले यसको महत्व वाहिरी दुनियाँसम्मलाई वुझाउन अव सवै पक्ष लाग्नुपर्नेमा पुर्व सभाषद वरालको जोड थियो । आज भन्दा ५ सय वर्ष अघिदेखि रुरु क्षेत्रको एक गुफामा तपस्या गरी वस्नुभएका तपस्वीलाई देवदूतको सम्वोधन गर्दै उहाँको गुफामा पुजाआजा गरिँदै आइएको थियो । ऐतिहाँसिक एवं पौराणिक महत्व राख्ने उनै ऋषि देवदूतको १२ फिट अग्लो शालिक निर्माण गर्नुका साथै पर्यटक रमाउन सक्ने आकर्षक देवदूत पार्क समेत रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समिति गुल्मीले निर्माण गरेको हो । कार्यक्रममा अद्धैत संस्था नेपाल रिडीका पिठाधिस देवेश्वर सरस्वतीले ऋषि देवदूतको ऐतिहाँसिक चर्चा र सिङ्गो रुरु क्षेत्रको धार्मिक महत्व वारे प्रकाश पार्नुभएको थियो । उहाँका अनुसार देवदूत भगवान शिवसँग जोडिएको छ ।
देवदूतको ऐतिहाँसिक गुफादेखि माथि पार्कमा जाने रेलिङ्ग सहितको सडक र देवदूत पार्क कुल ३० लाख २० हजार रुपैयाँको लागतमा निर्माण भएको निर्माण समितिका अध्यक्ष फर्सुराम पौडेलले जानकारी दिनुभयो । अझै पनि शौचालय लगायतको भौतिक पुर्वाधार निर्माण आवश्यक भएको भन्दै तत्काल त्यो पुरा गर्न मुख्य सचिव पौडेलले समितिलाई निर्देशन दिनुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, जिल्ला अनुसन्धान अधिकृत महेश श्रेष्ठ, नेकपा माओवादीका जिल्ला इन्चार्ज विरवहादुर कार्की, राप्रपाका जिल्ला अध्यक्ष भरतवहादुर चन्द, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेय, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रोहित भण्डारी रुरु गाविस नागरिक समाजका अध्यक्ष गुरुप्रसाद ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम रुरु गाविसका निवर्तमान अध्यक्ष केशरमान श्रेष्ठको अध्यक्षता र रुरु संस्कृत क्याम्पसका उपप्रध्यापक शेष नारायण मरासिनीको सञ्चालन रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग