Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई लाखमा 'कन्ट्रयाक्ट किलर' हायर गरेर आफ्नै दाइको हत्या

Published on 10:36:00 PM //

हत्यारा भाइ सुजन । तस्बिर: दैनिक पत्रीकाबाट

हत्यामा नेपाली सेनाका जवान संलग्न
टेकनारायण भट्टराई, पाल्पा, पुस २९- तानसेन-११ प्रभासका २५ वर्षीय सुदीप कोइरालाको हत्या गर्न उनकै भाई सुजन कोइरालाले 'कन्ट्रयाक्ट किलर'को सहायता लिएको खुलासा भएको छ। दुई लाख नगद दिने शर्तमा उनले दैलेख चौराहा-२ का २८ वर्षीय कालु चन्दलाई 'हायर' गरेका थिए।
चन्द २२ नम्बर बाहिनी बुटवलमा कार्यरत नेपाली सेनाका जवान रहेका खुलेको छ। प्रहरी कार्यालय पाल्पाले उनको बारेमा जानकारी पाउँ भनि बाहिनीमा लिखित पत्राचार गरेको तर जवाफ नआएको प्रहरी स्रोतले बतायो।
पुस २३ गते सोमबार घरमा सुतिरहेको अवस्थामा भाई सुजन र चन्दले मुख र घाँटी थिचेर हत्या गरेका प्रहरी नायब उपरीक्षक स्थानेश्वर रेग्मीले बताए। 'दुईजनाले मुख र घाँटी थिचेर मरणासन्न पारे, अझै चल्मलाए जस्तो लागेर खुकुरी घाँटीमा घुसाएर हत्या गरे।' सोमबार हत्या गरिएका सुदीपको शव शनिबार बिहान अभियुक्तकै बयानका आधारमा पाल्पा-बुटवल सडक खण्डको केराबारी भीरमा भेटिएको थियो।

हत्या योजना सहित उनीहरुले भाडाको कारमा बोरा, कालो प्लाष्टिक र बाँध्न तार लिएर आएका थिए। कार चालक सपही गाविस-८ बाराका ३२ वर्षीय त्रेता चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। चौधरीलाई तानसेनमा बिहे पार्टीमा जाने भनेर ३५ सय भाडा तिरेर ल्याएको र हत्या योजनाबारे थाहा नभएको उनको बयान उदृत गर्दै डीएसपी रेग्मीले भने 'चालक प्रत्यक्ष संलग्न नभएपनि सहयोगी देखिएकाले अनुसन्धानको दायरामा छन्।'

केहिदिन पहिले पनि हत्या योजना सहित कालु चन्द मोटरसाईकल लिएर एक्लै उनको घरमा आएका थिए। तर त्यस दिन असफल भएपछि उनी फर्केका थिए। हत्याको रात ९ बजे घरमा आएका सुजनले नै 'सुदीप... ' भन्दै ३ पटक बोलाएका थिए। सुदीप स्वयंले ढोका खोलेर उनीहरुलाई भित्र छिराएका थिए। उक्त रात माथिल्लो तलामा बुबा र आमा सुतेका थिए भने तल्लो तलामा सुदीप थिए। विस्तरामा पुगेका सुदिपलाई तत्कालै हत्या गरेर प्लाष्टिक, तन्ना र विस्तराले बेरेर बोरामा पोको पारेर घर तलको चौरमा पुगेपछि करिव ३ किलोमिटर टाढा राजमार्गमा रोकी राखिएको कारलाई बोलाएका थिए। उनीहरुले कार चालकलाई पार्टी खाएर सकाएपछि खबर गर्छौ भनेर बर्तुङमा बस्न भनेका प्रहरीले जनाएको छ। कारको डिक्कीमा शव राखेर करिव ३० किलोमिटर टाढा पाल्पा-बुटवल सडक खण्डको केराबारी भिरमा फालेर बुटवलतर्फ लागेका थिए।

घटनाको दुई दिनपछि उनै भाइ सुजनले दाइको अपहरण भएको भन्दै खोजि गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले बताए। 'सुजनकै संलग्नताको शंका गर्ने आधार पाएपछि हामीले उनलाई छाडेनौं, र उनीमाथि नै अनुसन्धान थाल्यौं।' पाण्डेले भने। चन्दलाई २५ गते सुर्खेतबाट पक्राउ गरिएको थियो भने कार चालकलाई गुल्मीको रिडीबाट पक्राउ गरिएको थियो।

तीन भाइमध्ये जेठा महेश र कान्छा सुजन बुटवलमा बेग्लाबेग्लै व्यवसाय गर्दै आएका थिए भने माइला सुदीप नोकरीका लागि विदेश आउने जाने गर्दै आएका थिए। जेठा कान्छा विवाहित हुन् भने माइला सुदीप अविवाहित हुन्। प्रहरीले हत्याको कारण दुई भाईबीचको 'पारिवारिक असमझदारी' र आर्थिक कारण बताएको छ। -नागरिक न्युज

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग