Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नविकरण नभै चल्दैछन गुल्मीका अधिकांश सरकारी गाडीहरु

Published on 8:17:00 PM //


विशाल भट्टराई
गुल्मी, २७ पुस । जिल्लामा सञ्चालित अधिकांश सरकारी सवारी साधनको नवीकरण नहुँदा समस्या भएको छ । नवीकरण नभएपछि बिमा पनि नहुँदा सरकारी सवारीसाधनको ठक्करबाट ज्यान गुमाएका तथा घाइतेले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

१३ फागुन ०६५ मा कृषि विकास कार्यालयको जिप दुर्घटनामा परेर पति भूपाल बस्नेतको मृत्यु भए पनि पत्नी गंगाले अहिलेसम्म क्षतिपूर्ति पाएकी छैनन् । बस्नेतले मात्रै होइन, दुर्घटनामा ज्यान गुमाउने चालक रुद्रबहादुर पौडेल र मेघ बहादुर थापाका परिवारले पनि क्षतिपूर्ति पाएनन् । ‘मृतकका परिवारलाई क्षतिपूर्तिका लागि सक्ने प्रयास गर्‍यौँ तर केही लागेन,’ कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नरहरिप्रसाद घिमिरेले भने, ‘अब त हाम्रो हैसियतभन्दा बाहिर रहेकाले माथिल्लो निकायकै दैलो चहार्नुपर्छ ।’
क्षतिपूर्ति नपाएका बस्नेतकी पत्नी गंगाले गुनासो गरिन् । ‘तीन छोरी छन्, पाल्न नसकेर दुईवटीलाई माइतीमा राखेकी छु,’ उनले भनिन्, ‘निजी गाडीमा परेर मरेको भए बरु केही क्षतिपूर्ति पाइन्थ्यो होला तर सरकारी गाडीमा दुर्घटना हुँदा कुकुरको मरण भयो ।’
तरकारीको बिमा गरेर क्षतिपूर्ति पाउने जिल्लाका किसानले पशुचौपाया मर्दा पनि त्यति साह्रो निराश हुनु पर्दैन । उनीहरूले पशुको पनि बिमा गरेका छन् । तर, कृषि विकास कार्यालयको गाडीमात्रै होइन, जिल्लाका एम्बुलेन्सलगायतका सरकारी गाडी दुर्घटनामा मर्नेले क्षतिपूर्ति पाउने अवस्था छैन । कार्यालयहरूको हेलचेक्र्याइँले सवारी साधनको बिमा गरिएको छैन ।
निजी वा सार्वजनिक सवारी साधनमा दुर्घटनमा परी मृत्यु हुनेका परिवारले बिमा बापतको रकम तुरुन्त पाउने गर्छन् । तर, गुल्मीका सरकारी सवारी साधन नवीकरण र बिमा नगरी लामो समयसम्म गुडेका कारण सवारी दुर्घटनामा मृत्यु हुनेको अवस्था पशुचौपाया मरेजति पनि छैन ।
१४ कात्तिक ०६९ मा पतिसँग दसैँ मनाएर फर्केकी गुल्मीका सिडिओ कविन्द्र नेपालकी पत्नीलाई छोड्न हिँडेको कृषि विकास कार्यालय गुल्मीको बा १ झ ३७९३ नम्बरको गाडीले रूपन्देहीको देवदहमा गुल्मीकै आँपचौर पुख्र्यौली घर भई रूपन्देहीमा बसोबास गर्दै आएका ६२ वर्षीय लेखनाथ खरेलको ज्यान लियो । ०६१ देखि नवीकरण नभएको सरकारी गाडीले सरकारी बिदाका दिन मान्छे किचेपछि मृतकका परिवारलाई क्षतिपूर्ति दिने रकम कहाँबाट ल्याउने समस्या भएको छ । चालक प्रहरी हिरासतमा बसे, क्षतिपूर्ति नभएसम्म चालकलाई छुटाउने अवस्था भएन । अन्तमा कृषि कार्यालयका कर्मचारीले आफ्नो तलब काटेर मृतकका परिवारलाई क्षतिपूर्ति पठाए । त्यसपछि जिल्लाका सरकारी सवारीका चालक पनि झस्केका छन् । पटकपटक हाकिमलाई गाडीको बिमा र नवीकरण गर्न अनुरोध गर्दा पनि आलटाल गरेका चालकहरू दुर्घटना भइहाले क्षतिपूर्ति कसरी तिर्ने भनेर झस्केका छन् ।
२० असार ०६७ मा जिल्ला वन कार्यालयको बा १ झ ३६१८ नम्बरको जिप अर्जुनडाँडा जाने क्रममा कमेरेपानीमा दुर्घटना हुँदा बलेटक्सार घर भएका कार्यालय सहायक कुलानन्द ज्ञवालीको ज्यान गएको थियो । मृतक आचार्यकी पत्नीले दुई वर्षपछि मात्र असोज महिनामा पाँच लाख रुपियाँ क्षतिपूर्ति पाइन् । गम्भीर घाइते भएका चालक नेत्रलाल आचार्य भने करङ भाँचिएर जीवनभर अशक्त बनेका छन् ।
गतवर्ष बसको ठक्करबाट क्षति पुगेको जिल्ला पशुसेवा कार्यालयको बा १ झ ५८५३ नम्बरको गाडी ठक्कर दिने बसले मर्मत गरिदिनु पर्नेमा उल्टै एक महिनासम्म बुटवल ग्यारेजमा बस्यो । लामो समयदेखि नवीकरण नभएकै कारण एक महिनासम्म मर्मत हुन नसक्दा ठूलो समस्या भएको थियो । त्यतिबेला वर्षौंदेखिको नवीकरण गरेर निकालिए पनि गाडीको तेस्रोपक्ष बिमा गरिएको छैन ।
चालकले पटकपटक भने पनि कार्यालयका प्रमुखहरूले बेवास्ता गरेका कारण गाडी नवीकरण र बिमा बाँकी रहेका छन् । ‘हामी गाडी चलाउनेलाई त गाडी नै अफिस हो, गाडीकै स्याहारसुसार गरिरहन्छौँ, गाडी नवीकरण र बिमा गरेर राखेमा बल्ल ज्यानमा घाम लागेजस्तो हुन्छ,’ एक सरकारी चालकले भने, ‘तर कहिले हामीले भनेको कुरामा कार्यालय प्रमुख वास्ता गर्दैनन् ।’
वर्षौंदेखि नवीकरण नभएका सवारीसाधनका तेस्रो पक्ष बिमा पनि गरिएको छैन । १० वर्ष अघि गुल्मी–अर्घाखाँची ग्रामीण विकास परियोजनाले जिविसलाई दिएका महँगा ल्यान्डरोभर गाडी उहिल्यैदेखि नवीकरणसमेत नगरी राखिएका छन् । शिक्षाको गाडी गत वर्षदेखि नवीकरण नभएको कार्यालयले जनाएको छ ।
सरकारी सवारीसाधनको तुरुन्त तेस्रो पक्ष बिमा गर्न आफूले गतवर्ष नै निर्देशन दिएको सिडिओ कविन्द्र नेपाल बताउँछन् । ‘सरकारी गाडीको तेस्रो पक्ष बिमा गराउनुपर्छ भनेपछि मैले गतसाल नै सबै कार्यालय प्रमुखको बैठकमा निर्देशन दिएको हुँ,’ उनले भने, ‘त्यसपछि के भएको छ फलोअपचाहिँ गरेको छैन ।’ बिदाका दिन सिडिओकी पत्नी बोक्ने कृषि विकास कार्यालयको गाडी आठ वर्षदेखि नवीकरण भएको छैन । -सौर्य दैनिक

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग