Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आठ वर्ष बित्दा पनि बन्न सकेन विमानस्थल

Published on 6:56:00 AM //

प्रेम सुनार
चैत्र ८, गुल्मी । प्रकृया शुरु भएको ८ बर्षसम्म पनि गुल्मीको रेसुङ्गा विमानस्थल अलपत्र परेको छ । सिमिचौर ५ थालेमालेमा निर्माण शुरु गरीएको विमानस्थल राजनीतिक विवाद, घरजग्गा मुआब्जा समस्या र रकम अभावका कारण अलपत्र परेको हो ।
२०६१ सालमा विस्तृत सर्भे भई ९ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी शुरु विमानस्थलमा हालसम्म १ करोड रुपैयाँ र्खच भइसकेको भएपनि त्यो अनुरुपको काम हुन सकेको छैन । शुरुमा स्थानिय स्तरबाट समिति गठन गर्दा राजनीतिक दलको लामो समयसम्म खिचातानी भएकोले प्रकृया अगाडी बढ्न नसकेको भन्दै केहीसमय अगाडीमात्र जिल्लास्थित राजनैतिक दलको भागवण्डामा समिती गठन गरीएको छ ।
जिल्ला स्तरीय समिती बनेपनि कामको गति हेर्दा विमानस्थल बेलैमा बन्ने छाँट नदेखिएको स्थानिय बताएँछन् । सिमिचौर ५ का हीरामणी अर्यालले थालेमालेमा १ करोडभन्दा बढी रकम खर्च भइसके पनि विमानस्थल निर्माण हुने आशा हराउँदै गएको बताउनुभयो । ‘केहीदिन काम गरेजस्तो गर्ने अनि महिनौँ दिन हराउने गर्दा विमानस्थल बन्छ भन्ने विश्वास कसरी गर्ने’– उहाँले प्रश्न गर्नुभयो ।
आठ वर्षको अवधिमा निर्माणाधिन विमानस्थलसम्म मोटरबाटो लैजाने, स्थानीय १६ घरपरिवारलाई मुआब्जा वितरण गर्ने, मैदान सम्याउने र पर्खाल लगाउने कार्य भइरहेको निर्माण समितिका सचिव अशोक थापाले बताउनुभयो । ‘सुरुका वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा काम तिब्र गतिमा भएको छ – सचिव थापाले भन्नुभयो – आउँदो वर्षसम्म धावनमार्ग सम्याउने काम सम्पन्न हुन्छ । ’
रेसुङ्गा विमानस्थल निर्माण समितीका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार चालु आवमा नागरीक उड्ययन मन्त्रालयबाट २ करोड रकम विनीयोजन भएको र विभागले टेण्डर प्रकृया शुरु गर्न लागेको बताउनुभयो । ‘ अव विभागले २ करोडको टेण्डर प्रकृया शुरु गर्ने तयारी गरेको छ – पन्तले भन्नुभयो – यो रकमले धावनमार्ग सम्याउने र पर्खाल लगाउने धेरै काम सकिन्छ ।’
निर्माणको काम शुरु भएपनि विमानस्थल क्षेत्रभित्र पर्ने १९ परीवारलाई अझै मुआव्जा दिईएको छैन । अधिग्रहण गर्नुपर्ने ४६ परीवारको जग्गा मध्ये ३५ जनालाई मुआव्जा दिई उनीहरु बसाईसरीसकेका छन् । निर्माण शुरु गरेको ८ वर्षसम्म पनि विमानस्थलका लागी भनेर सस्तैमा आफ्नो जग्गा उपलब्ध गराएका स्थानिय बासिन्दा चिन्तित बनेका छन । छिटो विमानस्थलन निर्माण नभएर आफूहरुले पुरानै मूल्याङ्कन अनुसार जग्गा उपलब्ध गराउन नसक्ने उनीहरुको भनाई छ । ‘गाउँमै जहाज (हवाईजहाज) ल्याउने भनेर सस्तैमा पुख्र्यौली जग्गा जमिन दिन राजी भईयो, अहिलेसम्म न पैसा दिन्छन्, न जहाजग्राउण्ड (विमानस्थल) बनाउँछन् – स्थानिय मोती बहादुर दर्जिले भन्नुभयो– अव उहीलेको मोलमा जग्गा दिन त कसरी सकिन्छ र ?
अध्यक्ष पन्तका अनुसार मुआव्जा दिने रकम स्थानिय स्तरबाटै जुटाउनु पर्ने शुरुको प्रतिवद्धता भएकोले स्थानिय श्रोत नजुटेपछि १९ परीवारको जग्गाको मुआव्जा चुक्ता गर्न बाँकी छ । ‘१९ परीवारलाई करीव ६५ लाख आवस्यक पर्ने देखिन्छ, – उहाँले भन्नुभयो– ५ लाख रुपैयाँ त जिल्ला विकाश समितीले दिने निर्णय गरीसकेको छ, बाँकी रकमका लागी जिल्लाका सबै गाविस र छिमेकी जिल्ला अर्घाखाँचीबाट समेत जुटाउनका लागि छलफल गर्दै छाँै ।’
सो रकम जुटाउनका लागि बिहीबार तम्घासमा सम्पन्न पदाधिकारीको बैठकले सर्बपक्षिय भेलाको लागि उद्योग वाणिज्य संघले पहल गर्ने निर्णय भएको पन्तले बताउनुभयो । ६ सय १० मिटर धावनमार्गको लम्बाई रहेको विमानस्थलको कुल क्षेत्रफल ७८ रोपनी १० आना रहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग