Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शौचालय नबनाउनेको लाइन काटियो

Published on 11:07:00 AM //


बाग्लुङ, चैत ४ (नागरिक)- चर्पी बनाउन आग्रह गर्दा आलटाल गरेका बोहोरागाउँ-६ का प्रेमबहादुर विकको बल्ल चेत खुलेको छ। लामो समय अटेर गरेपछि स्थानीय अगुवाले बिजुलीको लाइन काटिदिएपछि उनले शौचालय बनाएका छन्।
बेलैमा शौचालय नबनाएकोमा उनलाई अहिले पछुतो लागेको छ। 'शौचालय बनाएपछि धेरै किसिमका रोगव्याधिबाट बचिँदो रहेछ,' विकले भने, 'सबैले चर्पी बनाउनुपर्छभन्दा पहिले आलटाल गरेँ, बिजुलीको लाइन काटिएपछि नबनाइकन सुखै भएन।' आफूलाई शौचालय बनाउन दबाब दिन स्थानीय युवाले लाइन काटिदिएकामा उनी खुसी छन्। 'आँखा खुलेपछि मेहनत गरेर शौचालय बनाएको छु,' उनले भने।
गाविसमा स्वास्थ्य तथा सरसफाइलाई व्यवस्थित गरी सरुवा रोग न्युनीकरण गर्न चर्पी निर्माण अभियान चलाए पनि केहीले अटेर गरेपछि स्थानीयले लाइन काटेर दबाब दिएका थिए। चर्पी निर्माणमा अटेर गर्ने १८ घरधुरीमा लाइन काटेपछि स्थानीयले आफ्नै खर्चमा शौचालय बनाए। सामाजिक अगुवाले दिएको दबाब सकारात्मक रहेछ भन्ने अहिले अनुभूति उनीहरूले गरेका छन्। लाइन काटेपछि शौचालय बनाएका बोहोरागाउँ-१ का दलबहादुर घर्तीले आफूलाई सबैले सकारात्मक सुझाव दिएको बताए। 'हाम्रै सजिलोका लागि पाइखाना (चर्पी) बनाउन भनेका रहेछन्,' घर्तीले भने, 'राति खोलामा जाँदा कता के हुन्छ भनेर डराउनुपर्थ्यो, अहिले हाइसन्चो भएको छ।'
चेतना अभावले शौचालय बनाउन आनाकानी गर्नेलाई विभिन्न माध्यमबाट दबाब सिर्जना गरेपछि स्थानीयले धमाधम पक्की शौचालय बनाएका छन्। बोहोरागाउँ गाविसका १ हजार २ सय ९४ घरधुरीमा १ हजार १ सय ३२ घरधुरीमा पक्की शौचालय बनाएको गाविस सचिव पहलमान थापाले बताए। 'सुरुका दिनमा चर्पीको महŒव बुझाउन निकै कठिन भयो,' सचिब थापाले भने, 'लाइन काट्ने, सिफारिस रोक्ने, सामाजिक सुरक्षाभत्ता समेत नदिने भनेपछि सबैले बनाए।' सबै घरधुरीले शौचालय बनाएपछि उक्त गाविसलाई खुला दिसामुक्त घोषणा गरेको स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले बताए। 'पहिले अनुदान माग्नेहरु अहिले आफैं खर्च गरेर शौचालय बनाउन अघि सरे,' पौडेलले भने, 'स्थानीयले चर्पी बनाउन करिब २ करोड २६ खर्च गरेका छन्। हरेकले करिब २० हजार खर्च गरेर पक्की शौचालय बनाएका हुन्।'
गाविसका सबै घरमा शौचालय बनाएपछि बाजागाजा र नाचगान गरेर गाउँलेले खुसीयाली मनाए। काठले बारेर खरले घर छाउनेले समेत पक्की शौचालय बनाएका छन्। स्थानीय मानसिंह गिरीको कच्ची घर भए पनि शौचालय भने पक्की छ। 'खुला ठाउँमा दिसापिसाब गर्दा रोगव्याधि लाग्दो रैछ,' उनले भने। सबैले शौचालय निर्माण गरेपछि अब झाडापखला लगायतका समस्या कम हुने स्वास्थ्य संस्थाका प्रमुख टोपबहादुर चनले बताए। ' खुला ठाउँमा दिसापिसाब गर्दा सरुवा रोगको प्रकोप थियो,' उनले भने, 'अब स्थानीयको स्वास्थ्यमा धेरै सुधार आउनेछ।'
अहिले बाग्लुङ जिल्लाभर शौचालय बनाउने अभियान चलेको जिविसका वास सल्लाहकार सूर्य थापाले बताए। 'जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी भएको छ,' थापाले भने, '४५ गाविसका सबै घरधुरीले चर्पी बनाइसकेका छन्।'
नागरिक दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग