Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उमेरले छेकेन प्रेमलाई

Published on 3:12:00 PM //

हेटौंडा, फाल्गुन २० - पत्नी गुमाएका वृद्ध र पति गुमाएकी महिलाले दशकदेखि झांगिएको प्रेमलाई शनिबार बिहेमा परिणत गरेका छन् । दुवैलाई छोरी र भतिजाले मन्दिरमा लगेर विधिपूर्वक प्रणयसूत्रमा बाँधिदिए । दुवैका छोराछोरी, नातिनातिना छन् । दुवैलाई सन्तानले माया गर्छन् । भोजपुर कोट-९ का ६९ वषर्ीय गंगाबहादुर राई र काठमाडांै-४ की ४५ वषर्ीया सरस्वती थापा मगरबीचको प्रेम दाम्पत्य जीवनमा परिणत भएको हो ।
बेलायती सेनावाट निवृत्त राई र थापाको विवाह हेटौंडा-२ वनस्खण्डीको मन्दिरमा परम्पराअनुसार गरिएको हो । राई कोट-पाइन्टमा र थापा रातो साडी र चोलोमा सजिएकी थिइन् । बेहुला-बेहुली प्रसन्न थिए । बेहुला २४ वर्ष जेठो भएकाले अलि वृद्ध देखिन्थे । तर मुहारमा छाएको चमकले किशोर बनाएको थियो । बिहे हेर्दै ४४ वषर्ीया सुन्तली घिमिरेले भनिन्, 'दुवैले बुढेसकालमा सहारा खोजेछन् ।' धार्मिक पर्यटकीयस्थल वनस्खण्डीमा वनभोज खान आएकाको आकर्षणको केन्द्र यो विवाह बन्यो ।
हेर्न आउनेको भीडले पुरोहितलाई कर्मकाण्ड पूरा गर्न हम्मे परेको थियो । एक वर्षदेखि हेटौंडा-२ स्थित भतिजाको घरमा बस्दै आएका राईले थापाको सिउँदोमा सिन्दूर हाल्दा र पोते लगाउँदा हात कामेको थियो । दरिलो मनले उनले जीवन संगिनीको औंला समातेर औंठी लगाइदिनुका साथै सयपत्री फूलको माला पहिराई दिए । थापाले राईलाई औंठी र माला पहिराई दिइन् । भतिजा दलबहादुर राईले गंग्ााबहादुरलाई सहयोग गरेका थिए । सरस्वतीलाई माइली छोरी पुनमले साथ दिएकी थिइन् ।
बिहेमण्डपमा उनले आमालाई मात्र सहयोग गरेकी थिइनन्, दुलाहा-दुलहीको तस्बिर खिच्न पनि व्यस्त थिइन् । विवाह हेर्न आएका महिलाका छोराछोरीले 'बावुआमाको विवाह हेर्न हुँदैन भन्थे तर अहिले झन् विवाह नै गरिदिन्छन्' भनेर कानेखुसी गरिरहेका थिए । पुनः दाम्पत्य जीवनमा गाँसिएका राईको एक छोरा र दुई नातिनातिनी छन् । उनीहरू सबै भोजपुरमा बस्छन् । उनकी पत्नीको २०५२ सालमा निधन भएको थियो । थापाका तीन छोरी, एक छोरा र चार नातिनातिना छन् ।

दुई छोरी र छोराबुहारी बेलायतमा बस्छन् । एक छोरी र उनीमात्र काठमाडौंमा बस्दै आएका थिए । २७ वर्षदेखि थापाले एकल जीवन बिताउँदै आएकी थिइन् । पतिको २०४२ सालमा मृत्यु भएको थियो । राई र थापा विधिवत ढंगले प्रणयसूत्रमा गाँसिदा हषिर्त देखिन्थे । थापाकी छोरी १७ वषर्ीया पुनम खुसी थिइन् । उनको अनुहारमा अलिकति पनि पीरको संकेत थिएन । सञ्चारकर्मीसँग उनले भनिन्, 'उहाँहरूको इच्छा पनि पूरा भयो, दुवैले सहारा पनि पाए ।' करिब १५ हजारभन्दा बढी मासिक पेन्सन आउने राई र थापाबीच २०५९ सालमा काठमाडौंमा भेट भएको थियो । ती भेट अहिले बिहेमा परिणत भएको हो ।

'उनीसँग मेरो दस वर्षअघि काठमाडौंमा चिनजान भएको थियो,' राईले मुसुक्क हाँस्दै भने, 'अहिले बिहे भयो, अरू धेरै कुरा नभनौं ।' सिउँदोमा सिन्दूर र गलामा पोते पहिरिएपछि खुसी हुँदै थापाले भनिन्, 'हामी दुवैले बुढेसकालमा सहारा पाएका छौं, छोराछोरीहरूको सल्ल्ााह र सुझावमा दाम्पत्य जीवनमा गाँसिएका हौं ।'

सुरुमा दुवै पक्षका छोराछोरी बिहेको पक्षमा थिएनन् । पछि मात्र उनीहरू विवाह गरिदिन सकारात्मक भएको उल्लेख गर्दै थापाका आफन्तले भने, 'बूढाबूढीको चिनजान अचम्मैसँग बिहेमा बदलियो ।'
ईकान्तिपुरबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग