Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरकारी कर्मचारीको आतिथ्यता विना पहिलो कार्यक्रम गरे मगर महिलाले

Published on 8:22:00 PM //


प्रेम सुनार
बैशाख ७, गुल्मी । गाउँमा त हुन्छन नै तर सदरमुकाममा सरकारी हाकिम विनाको कार्यक्रम हुनु सिद्रा पोल्नु भने झैं हो तर नेपाल मगर संघका महिलाहरुले जिल्ला अधिबेशन गर्दा समेत आज एक जना पनि सरकारी हाकिम वा कर्मचारी बोलाएनन् । अधिबेशन तम्घासको कर्मचारी मिलन केन्द्रमा भएको थियो । कर्मचारी वा हाकिम विनाको कार्यक्रम देख्दा अनौठो जस्तो लागेर आयोजक समितिकी अध्यक्ष कमला पुन सँग जिज्ञासा राख्यौँ उनले भनिन्, "अहँ हामीले त एक जना पनि हाकीमलाई बोलाएनौ ।"
गत केहि वर्ष यता दुईचार जना आमा समुहको कार्यक्रम होस् वा पुरुषरुको सिडिओ, एलडिओ लगायतका ठुलाबडालाई बोलाउने होडबाजी नै चलिरहेको छ । त्यो परम्परालाई तोड्दै नेपाल मगर महिला संघ गुल्मीले आज प्रथम जिल्ला अधिबेशन कुनै सरकारी कर्मचारीको आतिथ्यता बिना सम्पन्न गरेको छ । महिलाको कार्यक्रममा सिडिओ लगायतका पुरुष प्रमुख अतिथी बानाउने यहाँका महिलाहरुको चलनलाई समेत तोड्दै अध्यक्ष पुनले महिला नै प्रमुख अतिथी बनाउनका लागि संघकी केन्द्रिय सदस्य मिना थापालाई नवलपरासीबाट बोलाएको बताईन् ।
नेपाल मगर संघ तथा नेपाल मगर महिला संघकी केन्द्रिय सचिवालय सदस्य रहेकी प्रमुख अतिथी थापाले संघ भित्र राजनिती नगरे पनि महिलाहरु सक्रिय भएर राजनितीमा लाग्न जोड दिईन् । मगर समुदायको मौलिक रितीरिवाज, सँस्कृति संरक्षणमा मगर महिलाहरु लाग्नु पर्नेमा जोड दिँदै उनले महिलाहरुको हक हितका पक्षमा डटेर लड्न कार्यसमितिलाई निर्देशन दिईन् । कार्यक्रमका बिशेष अतिथी नेपाल मगर संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले मगरहरुको पहिचान संस्कृति संरक्षणमा हातोमालो गरेर अगाडी बढेको बताए । नेपाल मगर संघका उपाध्यक्ष टिका रेश्मी, सदस्य गिरीसिंह महाकिम, नेपाल महिला संघकी जिल्ला अध्यक्ष बिष्णुकुमारी सापकोटा, रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, आदीबासी जनजाती पत्रकार संघका अध्यक्ष गणेश सारु, दलित महिला संघकी अध्यक्ष कमला बराल, सुन चाँदी ब्यबसायी संघका अध्यक्ष बालकृष्ण बराल, भुजेल महिला संघ अध्यक्ष कमला घर्ति लगायतको आतिथ्यता थियो । कमला बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव खगिस्वरा काला मगरको सञ्चालन थियो ।

मगर महिला संघको नेतृत्व पनि अव नयाँलाई

नेतृत्व विकासको क्रममा रहेका हामी महिलाहरुले नै पद छाडेर अर्को महिलालाई नेतृत्वको विकास गर्ने अवसर दिँदैनौ भन्दै पुर्व अध्यक्ष कमला पुनले बन्द सत्रमा भनिन् अव नयाँ दिदी बहिनीहरुले नेतृत्व लिनुस् । मैले अन्य संगठनको नेतृत्व पनि लिएको छु ।
एउटै ब्याक्ति विभिन्न संघ संगठनको नेतृत्व हत्याएर बस्नु पनि राम्रो होईन भनेपछि नेपाल मगर संघको अधिबेशनले धेरै जसो नयाँ चेहराहरु नेतृत्वमा ल्याएको छ । अधिबेशनले तम्घासकी लक्ष्मी श्रीसको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिती गठन गरेको छ । उपाध्यक्षमा विरबासकी विना राना, सचिवमा हस्तीचौरकी रेजिना सारु, सहसचिवमा दुविचौरकी टोपकला गाहा मगर र कोषाध्यक्षमा ग्वादीकी शर्मिला घर्ति लगायतलाई नेतृत्वमा ल्याएको हो । अधिबेशनमा मगर महिलाहरुले आफ्नो भेषभुषा प्रदर्शन गर्नुका साथै परम्परागत मगर परिकारहरु पनि अतिथिहरुलाई खुवाएका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग