Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपभोक्ताहरुद्धारा विद्युतमा धर्ना

Published on 7:19:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र १९ – नियमित विद्युत आपुर्तिको माग राख्दै गुल्मी विरवासको सव स्टेशनदेखि जुभुङ्ग तथा वलिथुम हुँदै वितरण हुने विद्युत फिडर अन्तरगतका उपभोक्ताहरुले आज जिल्ला विद्युत प्राधिकरणको कार्यालयमा धर्ना दिनुका साथै ज्ञापन पत्र वुझाएका छन् ।
उनीहरुले गुल्मी जिल्ला लोडसेडिङ्गमुक्त घोषणा भएको निर्णय कार्यान्वयन गर्नुपर्ने, वितरण प्रणाली तथा सामुदायिकमा समान किसिमको विद्युत वितरण गरी सो को कार्य तालिका सवै सामुदायिक फिडरहरुमा दिनुपर्ने, सामुदायिक संस्थाकोतर्फवाट फोनमार्फत सेवा समस्या समाधानका लागि फोन सम्पर्क गर्दा कार्यालय प्रमुखवाट वेवास्ता भएको भन्दै त्यसको स्पष्ट जवाफ दिनुपर्ने माग राखेका छन् । त्यस्तै उनीहरुले कार्यालय प्रमुखसँग सम्पर्क गरी हिजो आईतवार कार्यालयमा फर्कने जानकारी प्राप्त भएवमोजिम आज सामुदायिक संस्थामार्फत सदरमुकाम तमघासमा उपभोक्ता समितिका पदाधिकारीहरु तथा उपभोक्ताहरु जम्मा भई कार्यालयमा आउँदा विहान १० वजे नै कार्यालयवाट अन्य काममा हिडेको कार्यालयले वताएपछि डेलिगेशन आउने हल्ला थाहा पाएर गएको हुनसक्ने आशंका उत्पन्न भएको वताएका छन् । आफुहरुले फोन गर्दा कार्यालय प्रमुखले भोली कार्यालय फर्किने वताएको भन्दै उनीहरुले ज्ञापन पत्र वुझाउँदै वार्ताको माध्यमवाट समस्याको समाधान गरिएन भने कडा भन्दा कडा आन्दोलन गर्न वाध्य हुने चेतावनी समेत दिएका छन् । उनीहरुले सामुदायिक विद्युतीकरण उपभोक्ता समितिहरुसँग विगतका दिनहरुमा भएका मौखिक सहमतिहरु कार्यालयले कार्यान्वयन नगरेको वताएका छन् । विगत लामो समयदेखि विद्युत वितरण प्रणालीमा पक्षपातपुर्ण व्यवहार गरी प्रायः साँझको समयमा सामुदायिक विद्युत लाईन अन्तर्गतका फिडरहरुमा विद्युत कटौती गर्दा आम उपभोक्ताहरु मर्कामा पर्न गई उपभोक्ताहरुले कपितपय सामुदायिक विद्युत कार्यालयमा तालावन्दी गर्ने काम समेत भएको वताउँदै उनीहरुले यस विषयमा गम्भिर हुन आग्रह गरेका छन् ।
ज्ञापनपत्रमा सामुदायिक विद्युतीकरण उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय सदस्य तथा मजुवा इलाका सामुदायिक ग्रामिण विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष स्थानेश्वर भण्डारी, महासंघका जिल्ला सचिव खगेन्द्र के.सी., जिल्ला कोषाध्यक्ष छविलाल सर्तुङ्गी, मजुवा इलाका क्षेत्रका समिति उपाध्यक्ष चेतन वस्नेत, सचिव विष्णुप्रसाद गौतम लगायत पदाधिकारीहरु, शान्तिपुर इलाका क्षेत्रका समिति उपाध्यक्ष यमवहादुर थापा, सहसचिव सिपववहादुर थापा लगायत पदाधिकारीहरुको हस्ताक्षर रहेको छ । त्यस्तै दिव्रुङ्ग इलाका क्षेत्रका समिति अध्यक्ष रविलाल अर्याल, कोषाध्यक्ष विष्णुप्रसाद सापकोटा लगायत समितिका पदाधिकारीहरु, कुर्घा सामुदायिक विद्युत उपभोक्ता समितिका अध्यक्ष झविराम शर्मा, सचिव ज्ञानहरी सापकोटा सहित पदाधिकारी, बलिथुम सामुदायिक ग्रामिण विद्युत उपभोक्ता समितिका सदस्य हिरासिँह सर्तुङ्गी लगायतले हस्ताक्षर गरी समस्या समाधान गर्न माग गरेका छन् । साथै उनीहरुले उक्त ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय, वुटवल, एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा, नेकपा माओवादी, राप्रपा नेपाल, नेकपा माले र नेकपा एकीकृत गुल्मीलाई वोधार्थ पठाएका छन् । ज्ञापन पत्र वुझाउनु अघि उनीहरुले कार्यालय अघि केही समय धर्ना दिनुका साथै विद्युत नियमितताको माग गर्दै नारावाजी समेत गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग