Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुंगामा लागेको आगो निभाउन आसपासका जनताले नसघाउँदा नियन्त्रण बाहिर

Published on 10:31:00 PM //


आगो निभाउने कार्यमा सघाउन सर्वसाधारणलाई अनुरोध 

प्रेम सुनार
गुल्मी, २९ चैत । गुल्मीको गौरव मानिएको रेसुंगा क्षेत्रमा भएको आगलागी नियन्त्रण भन्दा बाहिर गएपछि जिल्ला दैबिक प्रकोप उद्धार समिति गुल्मीको आकस्मीक बैठक बसेर आम नागरिकलाई सहयोगका लागि अपिल गरेको छ । सेना, प्रहरी र तम्घासका केही स्थानिय बासिन्दाको नियन्त्रण भन्दा बाहिर गएपछि छिमेकी गाविसहरुलाई पनि आगो नियन्त्रणमा सघाउन अनुरोध गरिएको समितीका अध्यक्ष कबिन्द्र नेपालले जानकारी दिनुभएको छ ।

आगो निभाउनको लागी जिल्लाका प्रत्येक नागरीकको दायित्व रहेको उहाँले बताउनुभयो । उहाँले नागरीकले आफ्नो दायित्व बहन गरि रेसुंगा बनमा लागेको आगो नियन्त्रणका लागी आउनु अनुरोध गर्नुभएको छ । हिँजो दिउँसोबाट शुरु भएको आगलागीले भिषणरुप लिएको छ । हिँजोबाटै आगो निभाउने कोशिश गरिएको भएपनी त्यो असम्भव भएको छ । जिल्लामा रहेको नेपाल प्रहरी र नेपाली सेनाको समुहले हिँजो राती १ बजे सम्म आगो नियन्त्रणमा ल्याउने कोशिश गरेको थियो ।
उहाँले प्रहरी तथा सेनाको समुह निरन्तर रुपमा लागेको भएपनि स्थानियको असहयोगको कारण नियन्त्रणमा धक्का पुगेको बताउनुभयो । वन क्षेत्रभित्र रहेका पशुपंक्षी, महत्वपुर्ण जडिवुटी, रुखविरुवा जलेर नष्ट भएका छन् । प्रहरी, सेना लगायत केही स्थानिय बासिन्दाले आगो नियन्त्रणको लागी ब्यापक कोशिश गरेको भएपनि रेसुंगा क्षेत्रबाट प्रत्यक्ष लाभ उठाने तम्घास, सिमिचौर र दुबिचौरका अधिकांश स्थानिय बासिन्दा रमिते बनेर बसेका छन् । भिर तथा कठिन जंगल भएकाले आगोलागी नियन्त्रण लिन निकै कठिन भएको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक काफ्लले बताउनुभयो । काफ्लेले तम्घासका धेरै जसो स्थानिय बासिन्दाले सहयोग नगरेको समेत बताउनुभयो ।
हिँजो साँझ आंशिक रुपमा आगो नियन्त्रणमा आएपनि हावाहुरीले गर्दा फेरी आगोले भिषण रुप लिई जंगलैभरी फैलिएको छ । आगोलागीले रेडियो नेपालको टावर, एनसेलको टावर, बिभिन्न ईन्टरनेट कम्पनिका टावर्हरु, भ्यु टावर, यज्ञशाला लगायतका मन्दिर तथा भौतिक संरचना जोखिममा परेपनि प्रहरीले सतर्कता वढाएकाले तीनमा भने अहिलेसम्म क्षति पुगेको छैन् । सेना तथा प्रहरीले दिउँसो र राती पनि लगातार नियन्त्रणको प्रयास गरेपनि असफल भएको छ ।
झण्डै ५ हजार हेक्टर क्षेत्रफलमा चारैतिर फैलिएको रेसुङ्गा क्षेत्रमा जनचेतना अभाव र हेलचेक्रयाईका कारण हरेक वर्ष आगलागी हुने गरेको छ । राणाहरुको पालामा काठमाण्डौको सिंहदरबाटबाट राजनीति सञ्चालन गर्दा गुल्मीको रेसुङ्गामा तपस्या गरी बसेका शशिधर स्वामीसंग सोधखोज गर्ने भएकोले यसलाई नेपालको दोश्रो सिंहदरबारको रुपमा धार्मिक राजधानीको रुपमा लिने गरेका थिए ।रेसुङ्गामा राणाशासन कालदेखिका मन्दिर पौवाहरु र अन्य संरचना रहेपनि प्रत्येक वर्ष लाग्ने आगोको कारण बचाउन मुस्किल परेको छ । आगो निनयन्त्रणको लागी केहि स्थानिय बासिन्दा, जिल्लाका सामाजिक संस्थाका प्रतिनिधी तथा सेना प्रहरीले कोशिश गरिरहेका छन् ।
अघिल्ला बर्षहरुमा लागेको आगो पनि नियन्त्रण गर्न नसक्दा पानी नपर्ने समय सम्म नियन्त्रण गर्न कठिन हुन्थ्यो । तर यसपाली निकै उचाई पुगेर आगो लगाईएपछि यसलाई नियन्त्रणमा ल्याउन नसकिएमा रेसुंगामा रहेको मन्दिरहरु पनि ध्वस्त हुने प्रवल सम्भावना बढेर गएको छ । आगो अस्थित्व संकटमा परेको छ । जिल्लामा रहेको उद्योग बाणिज्य संघ रेसुंगा क्षेत्रलाई प्रयोग गरेर मनग्य पर्यटक ल्याउने कोशिश गरेको थियो । आगलागीले बाणिज्य संघको यो अभियानमा ठूलो धक्का लागेको छ । नियन्त्रणमा नआए कैयन जडिबुटी, रेसुङ्गाको मूहानको पानीबाट वरीपरीका दर्जनभढी गाविस र करिव २५ कि.मि टाढा वलेटक्सारसम्मका ७० हजार बढी जनता आश्रित रहेको भएपनि जंगल नष्ट हुँदै जाँदा खानेपानीको समस्या पर्न थालेको छ । ६५ हजार प्रकारका फूल फुल्ने प्रजातिका वनस्पति, १ हजार ८ सय २२ प्रजातिका ढुसी, ४ सय ६५ प्रजातिका च्याउ, ६ सय ८७ प्रजातिका एलगी, ६२ प्रजातिका चरा, ६ सय ४० प्रजातिका पुतली, ६ हजार भन्दा बढी प्रजातिका मथहरु, १ सय ४७ प्रजातिका घस्रिने जीवजन्तु, ४३ प्रकारका उभयचर, १ सय ४४ प्रकारका माकुराहरु, १ सय ८१ प्रकारका स्तनधारीहरु र अन्य किटपतङ्गहरु पाइने जैविक विविधताको धनि रेसुङ्गामा वर्षेनी लाग्ने आगोले यीनिहरुको अस्थित्वमा संकट परेको छ । यस क्षेत्रमा प्रत्येक वर्ष आगोलागी हुने गरेपनि अहिलेसम्म आगो लगाउनेलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग