Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुधारिएको चुल्होबाट महिला मख्ख

Published on 3:39:00 AM //


विशाल भट्टराई
गुल्मी, २७ वैशाख । सुधारिएको चुल्होले गाविस नै प्रदूषणमुक्त भएपछि गुल्मीको हर्दिनेटावासीमा खुसीयाली छाएको छ । घरघरमा सुधारिएको चुल्हो बनेपछि धुवाँ र प्रदूषण कम भएको देखेर गाउँका महिला खुसी भएका हुन् । पुरानो प्रविधिको चुल्होमा धेरै धुवाँ हुने र फोहर बढ्ने भएका कारण सुधारिएको चुल्हो प्रयोग भएपछि महिला मख्ख छन् । दाउरा बचत हुने, खाना छिटो पाक्ने, स्वास्थ्यमा असर नपर्ने, घर फोहोर नहुने, समय बचत हुने, खाना चिसो नहुने आदि कारणले यस्तो चुल्होप्रति दिनानुदिन आकर्षण बढिरहेको छ । हर्दिनेटा धरमपानीकी ६५ वर्षीया देवकला पन्त भन्छिन्, ‘यो चुल्हो बाल्न थालेपछि धेरै सजिलो भएको छ भान्छामा धुवाँ नभएपछि केटाकेटी पनि बिरामी परेका छैनन्, मलाई दमको रोग हुने खतरा पनि टरेजस्तो लाग्न थालेको छ ।’ हर्दिनेटा गाविसमा मात्रै एक हजार एक सय ८१ घर धुरीमा सुधारिएको चुल्हो जडान गरिएको छ ।
हरेक घरमा सुधारिएको चुल्हो बनाएपछि हर्दिनेटा गाविसलाई जिल्लाको पहिलो ‘घरभित्रको वायु प्रदूषणमुक्त गाविस’ घोषणा गरिएको छ । गाविसमा चुल्हो निमार्णका लागि जिल्ला विकास समिति गुल्मी, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, हर्दिनेटा गाविस र नवप्रभात युवा संघले प्राविधिक सहयोग गरेको थियो । रेडा पाल्पाले गाविसमा पाँच जनालाई तालिम दिएर चुल्हो प्रवद्र्धक तयार गरेपछि गाउँमा सुधारिएको चुल्हो बनाउने लहर चलेको हो ।
चुल्हो बनाउने प्रवद्र्धकले समेत गाउँमा चुल्हो बनाउने र मर्मत गर्ने काम गरेर राम्रो आम्दानी गर्न थालेका छन् । चुल्हो प्रवद्र्धक राधिका पन्त यो पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछिन् । ‘गाउँका सबैले सुधारिएको चुल्हो बनाउन थालेका छन्, मेरो आम्दानी पनि बढेको छ,’ उनले भनिन् ।
गुल्मीमा सुधारिएको चुल्हो बनाउने प्रविधि १० वर्षअगाडि भित्रिए पनि अहिले पछिल्ला एक/दुई वर्षयता यसको बढी प्रयोग हुन थालेको हो । अहिले गुल्मीमा करिब २३ हजार दुई सय घरपरिवारले सुधारिएको चुल्होको प्रयोग गरेको रेडा पाल्पाका गुल्मी संयोजक ज्ञानबहादुर महतराले बताए । ‘सुधारिएको चुल्होमा ६० प्रतिशत कम दाउरा कम हुुनुका साथै यसले गृहिणीलाई सजिलो भएको छ,’ उनले थपे, ‘वनजंगल संरक्षणमा समेत ठूलो सहयोग पुग्ने गरेकाले हामी खुसी छौँ ।’ गुल्मीका ६९ गाविसमा ३० देखि ९५ प्रतिशत घरमा सुधारिएको चुल्होको प्रयोग भएको छ । गुल्मीमा करिब दुई सय जनाले सुधारिएको चुल्हो बनाउने काम गर्दै आएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग