Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्गमका विद्यालयमा अझै सट्टा शिक्षक

Published on 5:26:00 PM //


घनश्याम गौतम
गुल्मी, वैशाख २५ । शिक्षा कार्यालयले पत्रकार सम्मेलन गरेर जिल्ला सट्टा शिक्षकमुक्त भएको घोषणा गरे पनि जिल्लाका झन्डै एक दर्जन विद्यालयमा अझै पनि सट्टा शिक्षक कार्यरत रहेको फेला परेको छ ।

शिक्षा कार्यालयले प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालको समेत उपस्थितिमा गत पुस २५ गते पत्रकार सम्मेलन गरी जिल्लाका कुनै पनि विद्यालयमा सट्टा शिक्षक नरहेको र झोले विद्यालयसमेत नरहेको स्पष्ट पारेको थियो तर दुर्गमका विद्यालयमा अझै सट्टा शिक्षक कार्यरत छन् । सदरमुकामबाट १७ कोश पश्चिमको देउराली मावि हर्मिचौरकी अप्सरा न्यौपाने असोजदेखि पाल्पामा बस्दै आएकी छन् । उनका नामबाटै विद्यालयमा सुरेन्द्र तिवारीले पढाउँदै आएका छन् तर शिक्षा कार्यालयमा भने अहिलेसम्म अप्सराले नै पढाइरहेको काजगपत्र र तलबी भर्पाई पेस गर्दै तलब निकासा भइरहेको छ ।

ज्ञानोदय प्रावि अर्बेनीकी जानकी न्यौपाने पनि मंसिरमा विवाह भएर पर्वत गएकी छन् तर उनको नाममा अर्का शिक्षक नारायण न्यौपाने र सीता घिमिरेले पढाउँदै आएका छन् । अर्बेनीकै दभौखानी मावि र खड्गकोटको देउराली माविका राहत कोटामा पनि विद्यालयले सट्टा शिक्षक राखेका छन् ।

तुराङ्गको बालनिकेतन माविमा पनि विन्दुप्रसाद अर्यालको सट्टामा कमल अर्यालले झन्डै एक वर्ष अध्यापन गरे । स्थानीयबाटै चर्को विवाद भएपछि झन्डै दुई साताअघि विद्यालयले खेमराज अर्याललाई नियुक्ति दिएको छ । बालनिकेतनकै अर्को राहत कोटामा पनि सट्टा शिक्षक राखेको एक वर्षपछि अहिले बल्ल विद्यालयले अर्को शिक्षक नियुक्तिका लागि विज्ञापन गरेको छ ।

पश्चिमको दुर्गम घमिरको देवीस्थान उच्चमाविकी शिक्षिका कल्पना अर्याल पनि लामो समयदेखि काठमाडौंमा छिन् । विद्यालयले आधा तलब दिने गरी स्थानीय कमल विश्वकर्मालाई नियुक्ति दिएको छ । शिक्षा कार्यालयको अनुगमन नियमित र प्रभावकारी नहुँदा विद्यालयमा अझै सट्टा शिक्षक कार्यरत छन् ।

हर्मिचौर स्रोत केन्द्रका स्रोत व्यक्ति होमकान्त न्यौपानेले देउराली मावि हर्मिचौर, दभौखानी मावि अर्बेनी, ज्ञानोदय प्रावि अर्बेनी लगायत विद्यालयका राहत कोटामा सट्टा शिक्षक रहेको स्वीकार गरे । दुर्गम क्षेत्रका विद्यालयको बाध्यता, निमावि र मावि स्वीकृति पाए पनि दरबन्दी अभाव लगायत समस्याका कारण सट्टा शिक्षकभन्दा पनि एक जनाको तलबबाट दुई जना पाल्नुपर्ने अवस्था रहेकाले त्यस्तो समस्या देखिएको न्यौपानेले बताए । 'मैले कार्यालयलाई जानकारी गराइसकेको छु', न्यौपानेले भने, 'रिक्त पदहरूमा कार्यालयबाट समयमै विज्ञापन अनुमति नपाइएकाले पनि सट्टा शिक्षक राख्नुपरेको हो ।'

जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले भने त्यस्तो फेला परेको र जानकारी भएका विद्यालयलाई तत्काल स्पष्टीकरण सोध्ने र कारबाही गर्ने कार्य भइरहेको बताए । 'हामी जानकारी भएसम्म तत्काल कारबाहीकै प्रकृयामा लागेका छौं', अर्यालले भने, 'अझै पनि छिटपुट भएमा हामी कारबाही प्रकृया अगाडि बढाउनेछौं ।' शिक्षा कार्यालयले स्पष्टीकरण सोधेपछि ज्ञानोदय मावि पीपलधारामा एक जना हाजिर भएको र एक जनाले छाडेको, जनता बालनिकेतनमा विज्ञापन गरेर नयाँ शिक्षक नियुक्ति गरिएको, त्यस्तै खड्गकोटको देउराली माविमा विज्ञापन भएको अर्यालले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग