Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नापीमा सास्ती, लेखापाल रक्सी बेच्नमै मस्त

Published on 6:30:00 PM //


"नापी कार्यालयका लेखापाल चन्द्रबहादुर विष्ट दिनहुँ मदिरा बिक्रीका लागि बजार र ग्रामीण क्षेत्रमा जाने गरेकाले कार्यालयमा सेवाग्राहीहरूले बुझाउने राजस्वको रसिद काट्ने र रकम जम्मा गर्ने काम कार्यालय सहयोगी देवीराम मरासिनीले गर्ने गरेका छन् ।"

घनश्याम गौतम 
गुल्मी, वैशाख १५ । सर्वसाधरणका जग्गा रजिस्ट्रेसनका लागि कित्ता काट गर्नेदेखि घरजग्गा धितो राख्ने र मूल्यांकनका लागि सेवाग्राहीहरू पुग्ने जिल्ला नापी कार्यालयमा आइतबार ४ बजे पुग्दा कार्यालयमा कोही पनि सेवाग्राहीहरू भेटिएनन् । सेवाग्राही नभएपछि नापी कार्यालयका सबै कर्मचारी गफगाफमै व्यस्त थिए ।

एक साताअघि सेवाग्राहीहरूको बढी चाप हुने मालपोत कार्यालय पुरानो स्थान तम्घास ४ खानीगाउँबाट तम्घास ६ उपल्लो तम्घासको आपmनै भवनमा सरेपछि नजिकै बस्नुपर्ने नापी र मालपोत कार्यालय छुट्टाछुट्टै स्थानमा पुगेका छन् । सेवाग्राहीलाई दुवै कार्यालय एक-अर्काका पूरक कार्यालय भएकाले दुई कार्यालय बढीमा ५ सय मिटरको दूरीमा हुनुपर्ने सरकारी व्यवस्था भए पनि अहिले दुई कार्यालयको दूरी झन्डै दुइ किलोमिटरभन्दा टाढा भएको छ ।

नापी कार्यालयले समयमै भवन निर्माण गर्न वा भाडामै बस्ने भए पनि मालपोतसँगैको स्थानमा भाडामा घर लिन नसक्दा सेवाग्राहीहरू सास्ती खेप्न बाध्य छन् । सदरमुकामको केन्द्रविन्दुमा रहेको जिल्ला प्रशासनदेखि मालपोत कार्यालय पुग्न हरेक सेवाग्राहीलाई आधा घन्टाभन्दा बढी समय लाग्छ । मालपोत पुगेर सेवाग्राहीलाई पुनः फर्केर जिल्ला प्रशासन वा नापी कार्यालय आउनसमेत त्यत्तिकै समय लाग्ने र ओहोरदोहोर गर्ने सवारी साधन समेत नभएकाले सर्वसाधारण मालपोत, नापी र प्रशासनसँग सम्बन्धित कामका लागि कम्तीमा पनि दुई दिन बढी समय खर्चिनुपर्ने भएको छ ।

मालपोत कार्यालय आपmनै भवनमा सरेको एक साता बितिसक्दासमेत मालपोत कार्यालय सर्ने कि नसर्ने भन्ने टुङ्गोमा समेत पुग्न सकेको छैन । आइतबार संवाददाता कार्यालयमा पुग्दा नापी कार्यालय प्रमुख घरभाडामा लिने प्रक्रिया र भाडा निर्धारण समितिको बैठक बस्न भन्दै जिल्ला प्रशासनमा गएका थिए । 'अझै विभागबाट भाडा वृद्धिसम्बन्धी पत्र आएको छैन', कार्यालयमा रहेका खरदार खिमबहादुर घर्तीमगरले भने, 'सेवाग्राहीलाई मर्का परेकाले विभागबाट भाडा वृद्धिको पत्र नआए पनि समितिको निर्णय गराएर कार्यालय सार्ने तयारी भएको बताए ।'

नापी कार्यालयमा अन्य कर्मचारी बाहेक सेवाग्राहीको कित्ता काट, जग्गा रेखांकन, फिल्डबुक तयार लगायत कामका लागि १० जना अमिनको व्यवस्था छ । ७९ गाविस र कार्यालयसमेत हेर्नका लागि अहिले कार्यालयमा जम्मा ४ जना अमिन कार्यरत छन् । त्यसमा पनि नापीमा सबैभन्दा बढी भीड हुने समय दसैं, तिहार लगायतका समयमा कार्यालयमा १ जनाको मात्र दरबन्दी हुने गरेको छ । दैनिक १० देखि  १५ जना सेवाग्राही पुग्ने कार्यालयमा ३ कार्यालय सहयोगी, ४ अमिन, १ खरिदार, लेखापाल र कार्यालय प्रमुख गरी १० मात्र कर्मचारी छन् । त्यसमा पनि नापी कार्यालयका लेखापाल दिनहुँ मदिरा बिक्रीका लागि बजार र ग्रामीण बजारहरूमा पुग्ने गर्दछन् । कार्यालयको हाजिरी रजिस्टरमा समेत लेखापाल चन्द्रबहादुर विष्ट हरेक महिना बढीमा १५ दिन मात्र हाजिर हुने गरेका छन् । लेखापाल दिनहुँ मदिरा बिक्रीका लागि बजार र ग्रामीण क्षेत्रमा जाने गरेकाले कार्यालयमा सेवाग्राहीहरूले बुझाउने राजस्वको रसिद काट्ने र रकम जम्मा गर्ने काम कार्यालय सहयोगी देवीराम मरासिनीले गर्ने गरेका छन् ।

कार्यालयका सूचना अधिकारी प्रमुख अर्यालले पानी परेकाले आइतबार सेवाग्राहीको भीड नभएको बताए । अर्यालका अनुसार आइतबार सेवाका लागि आएका ५ जना सेवाग्राहीमध्ये ३ जनाको कित्ता काटको काम पूरा भएको र २ जना ट्रेस नक्सा लिन आएकाले आइतबार घाम नलागेकाले घाम लागेपछि आउन आग्रह गरी फिर्ता पठाइएको थियो । प्रविधिको अभावले फाइल नक्सा, ब्लू पि्रन्ट र ट्रेस नक्सा लिनका लागि नापी कार्यालयमा घाम कुर्नुपर्ने बाध्यता छ । घाम नलागेको अवस्थामा सेवाग्राहीहरूले एक सातासम्म पनि नक्सा लिन पाउँदैनन् ।
-कान्तिपुर दैनिकबाट 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग