Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषि सडकमा पक्की पुल

घनश्याम गौतम
गुल्मी, फागुन ४ । जिल्लाको तेस्रो महत्त्वपूर्ण कृषि सडकमा पक्की पुल निर्माण भएपछि दूध र तरकारी उत्पादन गर्दै आएका व्यावसायिक किसानलाई राहत मिलेको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको आर्थिक तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा गुल्मी र अर्घाखाँची जोड्ने रिडी-खज्र्याङ-बल्कोट सडकको सातमुरे खोलामा पुल निर्माण भएको हो । पुल बनेपछि गुल्मीका दिगाम, खज्र्याङ, अमरअर्वाथोकसहित आधा दर्जन गाविस र अर्घाखाँचीको उत्तरी क्षेत्रका केही गाविसका व्यावसायिक किसानलाई कृषि उपज बजार पुर्‍याउन सहज भएको छ । त्यस क्षेत्रमा करिब १ सय ५० व्यावसायिक किसान छन् । दिगामका नारायण पाण्डेले भने, 'अब दूध र तरकारीसँगै दाहसंस्कारका लागि रिडीमा शव लान पनि सजिलो हुने भयो ।'

पुल अभावमा खोला तर्ने क्रममा सातमुरेले धेरैलाई बगाइसकेको छ । २५ मिटरको पुल २ करोड १२ लाख ९ हजार ४ सयमा निर्माण भएको स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताए । पुलसँगै १४ लाखमा खोलामा तटबन्ध लगाइएको छ । कृषि सडक विभागअन्र्तगत जिल्लामा बनेको यो पहिलो पक्की पुल हो । गुल्मीमा करिब १ हजार किमि कच्ची सडक निर्माण भएकामा ५ सय किमि कृषि सडक छ । अन्य सडकमा पनि पुल निर्माणाधीन रहेको जिविसले जनाएको छ ।

जिल्लाको उत्तरी क्षेत्र र गुल्मीका दुई दर्जनभन्दा बढी गाविसलाई बाहिरी जिल्लासँग जोड्ने रिडी-खज्र्याङ-बल्कोट सडक व्यस्तसमेत भएकाले पुल निर्माणलाई प्राथमिकतामा राखिएको ज्ञवालीले बताए । यो प्रस्तावित मध्यपहाडी राजमार्गको समानान्तर सडक पनि हो । पूर्वजिविस सभापति कौशल पोखरेलले भने, 'पुलले मध्यपहाडी मार्गको समानान्तर रूपमा परिकल्पना गरिएको तनहुँको भिमादबाट रिडी हुँदै सुर्खेत जोड्ने बाटोका लागि पनि सहयोग पुग्नेछ ।'

स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले सडक निर्माण पर्याप्त मात्रामा भए पनि अधिकांशमा हिउँदका लागि मात्र गाडी चल्ने गरेको र वषर्ामा खोलाहरूकै कारण बन्द हुने गरेकाले विभागले पुल निर्माणलाई प्राथमिकतामा राखेको बताए ।

सामुदायिक जंगलभित्र कफीका बोट हुर्कंदै

घनश्याम गौतम
गुल्मी, माघ १८ । कफी खेतीका लागि उर्वर मानिएको गुल्मीका सामुदायिक बनभित्र कफीका बोट हुर्कन थालेका छन् ।
छहारी नभई नहुने कफी खेतीका लागि किसानले परीक्षणको रूपमा कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा जंगलभित्रै खेती सुरु गरेका हुन् । तीन वर्षअगाडि सुरु गरिएको परीक्षण सफल भएपछि  आँपचौर, दिगाम र ग्वादीका तीन सामुदायिक वनहरूले झन्डै २५ हजार कफीका बोट जंगलभित्रै हुर्काइरहेका छन् । किसानले सुरु वर्ष परीक्षणका लागि ५ सय बोट रोपेका थिए ।
दिगामको रुप्से सामुदायिक वन, आँपचौरको उपल्लो फाँट सामुदायिक वन र ग्वादीको कोलौंदी सामुदायिक वनले २ वर्षदेखि कफीका बिरुवा रोप्न थालेका हुन् ।
दिगाममा दुर्गा भवानी कृषक समूह गठन गरेर जंगलमा कफी खेती सुरु गरिएको छ । 'सुरुमा परीक्षणका लागि ५ सय बिरुवा मात्र रोपेका थियौं,' समूहका सदस्य तुल्सी कँडेलले भने, 'निकै राम्रो हुर्किएपछि अहिले थप २० रोपनी जग्गामा २ हजार बिरुवा रोप्ने तयारी गरेका छौं ।' कफी खेतीका लागि पात पतिङ्गरसहितको खुकुलो माटो र छहारी आवश्यक पर्छ । कफी खेतीका लागि मिल्दो वातावरण र ठूला रूखहरू भएको जंगलमा त्यस्तो सम्भाव्यता अध्ययन गरी दुई वर्षदेखि परीक्षण सुरु गरिएको हो ।
पहिलो चरणमा लगाइएका कफीका बोटहरू राम्रो देखिएकाले थप विस्तार गरिएको कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत चेतनाथ अधिकारीले बताए । 

चालकको प्रतिस्पर्धाले यात्रु त्रसित

Published on: //
घनश्याम गौतम
गुल्मी, पुस २३ । बस व्यवसायी समितिमा पश्चिम नेपालको मात्रै एकाधिकार रहँदा तम्घास-बुटवल सडक खण्डको बस यात्रा सधै जोखियुक्त छ ।

अलिकति गुडेपछि घन्टौं रोकेर कुर्ने र पछाडिको अर्को बस आएपछि तीव्र गतिमा हाँक्ने प्रवृत्तिले यात्रुहरू त्रासमा यात्रा गर्न बाध्य छन् ।

बुटवल-तम्घास-सिमलटारी खण्डमा मात्र १ सय ४, रात्रि सेवामा १८ र स्तरीय सेवामा ११ गरी १ सय ३३ बस चल्दै आएका छन् । रेसुंगा मिनी माइक्रो व्यवसायी समिति र गुल्मी यातायात व्यवसायी समितिका साना सवारी साधनहरू सञ्चालनमा भए पनि अन्य बस व्यवसायीले यस जिल्लामा सवारी सञ्चालन गर्न सकेका छैनन् । बस सञ्चालन गर्ने अर्को कुनै समिति नभएपछि व्यवसायीहरूले आफू/आफूहरूबीच प्रतिस्पर्धा खेप्दै आएका हुन् ।

'रोक्यो भने १ घन्टासम्म पनि रोक्ने,' लु१ख. ६०७० मा बुटवलबाट तम्घास आएका सिर्सेनीका श्याम कुँवरले भने, 'तीव्र गतिमा बस हुँइक्याएपछि धेरैलाई बमिट भएरै समस्या हुने र डर र त्रास उत्तिकै हुँदा अब कहिल्यै बस नै नचढ्ने जस्तो गरायो ।'

सदरमुकाम तम्घासबाट बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म बस छुट्दै आएका छन् । दिउँसो १ बजेसम्म प्रत्येक २५ मिनेटमा बस छुट्ने भए पनि तम्घासबाट छुटेको बस १० किलोमिटरको दूरी पार गरेपछि गौंडाकोट नजिकैको डाँडोमा झन्डै आधा घन्टा रोकिन्छ । पारिपट्टबिाट अर्को बस आइपुगेको देख्नासाथ चालकले बस हुइँक्याउँछन् र झन्डै १ घन्टापछि पुनः हर्दिनेटाको भेडुवा डाँडोमा रोक्छन् । तम्घासबाट बुटवल खण्डमा चल्ने बसहरूबीचको यो प्रतिस्पर्धाले अधिकांशलाई डर, त्रास हुनुको साथै बमिट हुने गर्छ ।

बस समितिको एकाधिकारले यात्रुलाई समस्या पर्ने गरे पनि बस व्यवसायीलाई भने फाइदै छ । १ सय ४ बसमध्ये एउटा बसले ४ महिनामा झन्डै ४६ दिन गुड्ने पालो पाउँछ । त्यसरी गुड्न पाउँदा औसतमा ३५ देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने लु१ख ४८४२ का चालक भरत पन्थीले बताए ।

पन्थीले बीचबीचमा रोक्ने र तीव्र गतिमा बस कुदाउने परम्परालाई भने आफूहरूबीचको समय व्यवस्थापन भएको बताए । 'लगातार हिँडिरहँदा सबै बस एकैसाथ पर्छन्,' पन्थीले भने, 'त्यसले कुनै यात्रुले बस नै नपाउने र कुनै बस खाली खाली नै हिँड्नुपर्ने अवस्था हुन्छ ।'

६० लाख खर्चेर गौंडाकोटमा पिकनिक स्थल

घनश्याम गौतम
गुल्मी, पुस ११ । सरदुमकाम नजिकको गौंडाकोट क्षेत्रमा करिब ६० लाख लगानीमा पिकनिक स्थल निर्माण गरिएको छ । रूरू-रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति, पर्यटन कार्यालय भैरहवा र स्थानीय उपभोक्ताको पहलमा गौंडाकोटको दारेढुंगामा करिब ४० लाख र म्यालपोखरीमा करिब २० लाख बजेटमा वनभोजस्थलहरू निर्माण गरिएको हो ।

पर्यटकीय एवं धार्मिक क्षेत्र रेसुंगाको फेँद गौंडाकोटको दारेढुंगामा निर्मित स्थल जिल्लाकै उत्कृष्ठ भएको छ । यस्तै, गौंडाकोटकै म्यालपोखरीमा निर्मित स्थलसमेत आकर्षक छ । सदरमुकाम तम्घासबाट करिब २० किमि दूरीको दारेढुंगामा सेनाले पैदल मार्ग निर्माण गरिदिएपछि पिकनिकमा जानेहरूका लागि थप सहयोग पुगेको छ ।
गुल्मीको गौंडाकोट गाविसको दारेढुंगामा निर्माण गरिएको पिकनिक स्पट । रूरू-रेसुंगा क्षेत्र
 संरक्षण तथा पर्यटन विकास समिति, पर्यटन कार्यालय, स्थानीय उपभोक्ता र
नेपाली सेनाको समेत सहयोगमा निर्माण गरिएको पिकनिक
स्पट जिल्लाकै उत्कृष्ठ भएको छ ।
तस्बिर: घनश्याम गौतम

समितिले करिब २५ लाखको लागतमा दारेढुंगा क्षेत्रमा पिकनिक र भ्रमणका लागि चारवटा गोल घर, एउटा भान्सा घर, पानी सुविधाका लागि प्लास्टिक पोखरी, धारा, खानेपानी संकलनका लागि ट्यांकी निर्माण गरिदिएको अध्यक्ष निमबहादुर पाण्डेले बताए । दारेढुंगा विकास समितिका अध्यक्ष क्याप्टेन रामबहादुर थापाका अनुसार अहिलेसम्म सडक, भवन र पूर्वाधार निर्माणमा ४० लाखभन्दा बढी खर्च भइसकेको छ ।

तम्घास-रिडी सडकबाट करिब १५ मिनटको पैदल दूरी र करिब एक किमि कच्ची मोटरबाटोले दारेढुंगालाई छोएको छ । उक्त क्षेत्रबाट गुल्मी, पाल्पा, बागलुङ, पर्वत, र स्याङ्जाका मनोरम बस्तीहरू दृश्यावलोकन, कालीगण्डकी र रुद्रावती नदी, अन्नपूर्ण, धौलागिरीलगायत विभिन्न हिमशृंखलाको समेत सजिलै अवलोकन गर्न सकिने भएकाले पनि धैरैको आकर्षण बढेको पर्यटन विकास समितिका कार्यकारी निर्देशक श्रीराम गौतमले बताए ।

गौंडाकोट बजार नजिकबाट १० मिनटको पैदल दूरीमा पुग्न सकिने दारेढुंगा क्षेत्रलाई थप आकर्षक बनाउन स्थानीय बासिन्दाले सेनाको सहयोगमा २ सय ५० पारिजात, ५० धूपी र इपिलइपिलका बिरुवासमेत रोपेका छन् । दारेढुंगा क्षेत्र करिब साढे २ हेक्टर क्षेत्रफलमा फैलिएको समितिका अध्यक्ष थापाले बताए ।

मन्दिर प्रवेश विवाद ः मन्दिर सबैको साझा हुने सहमतिपछि जातिय विभेदको घटनामा मिलापत्र

Published on: //
घनश्याम गौतम
गुल्मी– मन्दिर प्रवेशको विषयमा दरबारदेविस्थानमा भएको जातिय विभेदको घट्नामा शुक्रवार दुवै पक्षबिच मिलापत्र भएको छ ।
मन्दिरमा दलित समुदायले धूपधजा चढाएको विषयमा भएको विवादले उग्र रुप लिएपछि दरबार देविस्थानका दलितका अगुवा नेता गोकर्ण नेपालीलाई ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षा र न्याय माग्दै पाँच दिनदेखि तम्घासमा थिए । तिन दिनदेखिको छलफल शुक्रवार मन्दिरमा निर्वाध पुजाआजा गर्न तथा दुध चढाउन पाउने र मन्दिरमा हुने साप्ताहिक पुजामा दलितले चढाएको दुध मिसाएरै खिर पकाउने र त्यसलाई प्रसादको रुपमा सबैलाई वितरण गर्ने सहमतिपछि मिलापत्र भएको हो । मन्दिर व्यवस्थापन समिति, प्रहरी, अधिकारकर्मीहरु सहितको छलफलले यस अघि भएका घटनाका दोषीहरुले आगामी दिनमा त्यस्ता गल्ती नगर्ने र मन्दिरमा निर्वाध सबैले पुजाआजा गर्न पाउने सहमति भएको पीडित गोकर्ण नेपालीले बताए । मन्दिरमा प्रवेश गरेको विषयलाई लिएर नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका अशोक थापा र स्थानीय व्यवसायी मोती श्रेष्ठले गोकर्ण नेपालीलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपालीले प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै उजुरी गरेका थिए ।
शुक्रवारको छलफलका लागि प्रहरीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज अर्याल सहित सबै कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई समेत कार्यालयमा उपस्थित गराएको थियो । छलफलपछि मन्दिर व्यवस्थापन समितिका सबै सदस्यहरु सबै समुदाय र जातीले मन्दिरमा सहजै पुजाआजा गर्न पाउनेमा सहमत भएको अर्यालले बताए । दरबार देविस्थान, ९ मा रहेको मालिका मन्दिरमा हरेक आईतवार पुजा हुने गर्दछ ।
एक वर्ष अघि स्थानीय सबै मिलेर मन्दिर निर्माण गरेको भएपनि दलितहरु मन्दिर प्रवेश र पुजाआजामा बञ्चित भएको भन्दै नेपालीको नेतृत्वमा दलितहरुले मन्दिर प्रवेशको अभियान शुरु गरेका थिए । अभियान शुरु गरेपछि मन्दिर व्यवस्थापन समिति, थापा र श्रेष्ठ सहित अन्य समुदायले विरोध गरेपछि विवाद बढेको थियो । ‘विवाद बढ्दै गएपछि अगुवाई गरेको भन्दै मलाई नै रुखमा झुण्ड्याएर मार्ने सम्मका धम्की दिए’, नेपालीले भने, ‘गाउ“मा बस्नै नसक्ने अवस्था आएपछि ज्यान जोगाउन प्रहरीमा उजुरी दिएको हु“ ।’ अब कसैले धम्की नदिने, आक्रमण नगर्ने र मन्दिर सबैको साझा हुनेमा सहमति भएपछि मिलापत्र गरेको नेपालीले बताए ।
प्रहरी निरिक्षक निशान्त श्रीवास्तवले पनि दुवै पक्षबिच आन्तरिक सहमति भएपछि मिलापत्र भएको बताए । ‘दलित समुदायका ५०÷६० जना, मन्दिर व्यवस्थापन समिति, कांग्रेस क्षेत्रीय सभापति सहितको छलफलमा मन्दिर व्यवस्थापन समितिको माईन्यूट बुकमै सहमति गरेर हस्ताक्षर गरेका छन’, श्रीबास्तवले भने, ‘मन्दिरमा दलित समुदायलाई पुजा गर्न दिने, दुध एकै स्थानमा चढाउने र त्यही दुधबाट बनेको खिर प्रसादको रुपमा सबैले खाने गरी दुवैपक्ष बिच सहमति भएको छ ।’ घटना गम्भिर भएकाले प्रहरीले मन्दिर व्यवस्थापन समितिका सबै पदाधिकारी सहित स्थानीयलाई समेत कार्यालयमै बोलाएर छलफल गराएको उनले बताए । आइतवार हुने मन्दिरको नियमित पुजामा सबै समुदाय मिलेर भब्यरुपमा पुजाआजा गर्ने सहमति समेत भएको प्रहरीले जनाएको छ ।

१२ वर्षदेखि सडक अलपत्र

घनश्याम गौतम
गुल्मी, मंसिर १२ । सडकको बीचमा परेको चट्टान सहितको पहरो फुटाउन नसक्दा सर्वसाधारणले रकम संकलन गरेर खनेको सडक १२ वर्षदेखि अलपत्र परेको छ । दिगामको तीन वार्डका झन्डै चार सय घरधुरी लाभान्वित हुने बोखरदेखि अँगाहासम्मको सडक निर्माण सम्पन्न हुन नसक्दा अलपत्र परेको हो । कृषि सडक नामकरण गरिएको सडक सम्पन्न हुन नसक्दा दिगामका विभिन्न स्थानमा उत्पादन हुने दूध र तरकारी बजारसम्म पुर्‍याउन समेत समस्या पर्ने गरेको छ ।

दिगाम ७, ८ र ९ का तीन सयभन्दा बढी घरधुरीले १२ वर्षअगाडि ४ लाख ५० हजार रुपैयाँ चन्दा संकलन गरेर सडक निर्माण गरेको तर बीचमा परेको एउटै पहिरो फाल्न नसक्दा सडक सुचारु हुन नसकेको उपभोक्ता समितिका अध्यक्ष हिमलाल भण्डारीले बताए । 'बीचसम्म जिप, ट्रयाक्टर सजिलै आवतजावत गर्न सक्छन्', भण्डारीले भने, 'तर पूरा गर्न गाविस, जिविस लगायत सबै स्थानमा पहल गर्दा पनि कसैले सुनुवाइ नगर्दा सडकको उपयोग हुन सकेन ।' पाँच लाख रुपैयाँ सहयोग भएमा सडक सम्पन्न हुने भण्डारीले बताए ।

सडक नहुँदा दिगाम ७ को तल्लो अमराई, उपल्लो अमराई, घट्टेखोला, राममियाँ, पाणेटोलका १ सय २० घर, ८ को बिसौना, बोखर, डाँडाखर्क, तल्लो बिसौनाका १ सय घर, ९ को भाँखर्क, एकुडाँडा, बोखर, घलाम, चिलामपोखरी र भुजेलमाराका १ सय २० घरधुरीसहित ३ सय ४० घरपरिवार प्रभावित भएको गाविस सचिव लीलाबहादुर सिंजालीले बताए ।

'हामीले चन्दा उठाएर र श्रमदान गरेर सडक खनेको १२ वर्ष नाघिसक्यो' समिति सदस्य गोकर्ण ढकालले भने, 'गाविस, जिविस जताततै धाउँदा पनि सुनुवाइ हुन नसकेपछि थकित भएर बसेका छौं ।' गाउँमै मोटरबाटो आउने खुसियालीमा गाउँका अधिकांशको खेतीयोग्य बारी र खानेपानीका मुहानसमेत नष्ट गरिए पनि अहिले न बारीमा खेती न सडकमा मोटर चल्न सकेको ढकालले बताए ।

गाविस सचिव सिंजालीले गाविसको रकमबाट मात्र सडक पूरा गर्न सम्भव नभएकाले जिविसमा पटक-पटक अनुरोध गरिएको बताए । 'गाविसमा आउने रकममध्येबाट हरेक वर्ष अर्को मुख्य सडकको ठूलो पहिरो मर्मत गर्दा ठीक्क छ', सिंजालीले भने, 'मुख्य सडक मर्मत गर्दागर्दै गाविसको बजेट सकिने हुँदा झन्डै ४ सय घर प्रभावित भएको शाखा सडक पूरा गर्न सकिने अवस्था नै छैन ।'

दिगामको ८ र ९ वार्ड व्यवसायिक तरकारी र दूध उत्पादनमा जिल्लाकै अग्रणी स्थान हो । सडक अभावमा दुई गाउँमा उत्पादन हुने गरेको दूध र तरकारीसमेत बजारसम्म पुर्‍याउन समस्या पर्ने गरेको किसानहरूको गुनासो छ ।

समानुपातिकमा गुल्मीमा एमाले अगाडी

घनश्याम गौतम
गुल्मी, ९ मंसिर– गुल्मीका दुई क्षेत्र जितेको कांग्रेस भन्दा एक क्षेत्र मात्र जितेको नेकपा एमालेले समानुपातिकमा धेरै मत पाएको छ । समानुपातिकमा नेकपा एमालेले नेपाली कांग्रेसले भन्दा ३ हजार ६ सय ७२ मत बढी ल्याएको हो ।
एमालेको ४४ हजार ५ सय ३५ मत छ, भने नेपाली कांग्रेसले ४० हजार ८ सय ६३ मत पाएको छ । समानुपातिका गुल्मीबाट तिनवटै क्षेत्रमा १ सय २२ दल मध्ये ५ पार्टीले मात्र कुनै पनि मत पाएका छैनन् । गुल्मीमा मतदाताले अन्य १ सय १७ दललाई मत दिएका छन् । तेस्रो स्थानमा एमाओवादीले १४ हजार ५ सय ३३ मत प्राप्त गरेको छ, भने ३ हजार ६ सय २९ मत प्राप्त गरेर जनमोर्चा चौथो स्थानमा देखिएको छ । त्यस्तै राप्रपा नेपालले १ हजार ५ सय २१ मत ल्याएको छ, भने राप्रपाले १ हजार ४ सय ४६ मत प्राप्त गरेको छ ।

यस्तो छ गुल्मी क्षेत्र नं. १,२,३ को समानुपातिक तर्फको मत परिणाम:

नेकपा एमाले - ४४५३५
नेपाली कांग्रेस - ४०८६३
एमाओबादी - १४५३३
राष्ट्रिय जनमोर्चा - ३६२९
राप्रपा नेपाल - १५२१
राप्रपा - १४४६

यस्तो देखियो गुल्मीमा नेपाली कांग्रेसको बिजय जुलुस (फोटो र भिडियो सहित)

गुल्मीको क्षेत्र नं. १ र २ मा बिजयी भएपछि बिजय उत्सवमा कांग्रेस कार्यकर्ता । गुल्मी जिल्लामा नेपाली कांग्रेसले २०५१ सालपछि दुई क्षेत्रमा जितेको छ । क्षेत्र नं. ३ मा भने एमालेका गोकर्ण विष्ट बिजयी भएका छन् । हेरौ तम्घासबाट गुल्मीन्युज सहकर्मी घनश्याम गौतमले खिच्नुभएका केही तस्बिरहरु:



भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

यस्तो देखियो तम्घासमा एमालेको प्रचार-प्रसार (फोटोहरु)

भोट मलाई: मंसिर ४ गते हुने संविधान सभा निर्वाचनमा आफुलाई मतदान गर्न आग्रह गर्दै एमाले पोलिटब्यूरो सदस्य प्रदिप ज्ञवाली गुल्मीको सदरमुकाम तम्घासमा । गाउँस्तरको घरदैलो सम्पन्न गरेर ज्ञवालीले विहिवार तम्घासमा घरदैलो गरेका हुन् । हेरौँ गुल्मीन्युज सहकर्मी घनश्याम गौतमले खिच्नुभएका केही तस्बिरहरु:



तम्घासमा कांग्रेसको चुनावी र्‍याली सम्बन्धी फोटो तथा भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोला । 

यस्तो छ, मंसिर ४ मा हुने गुल्मीको चुनावी भिडन्त

घनश्याम गौतम
गुल्मी, कार्तिक २४ । तीन निर्वाचन क्षेत्र रहेको गुल्मीमा ९ दलका २५ सहित ३५ जनाको उम्मेदवारी परेको छ । ८ स्वतन्त्र उम्मेदवार रहेको यस जिल्लामा एमाओवादी, कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुँदै छ । दलहरू आ-आपmनो इतिहास कायम राख्ने दाबीसाथ चुनावी मैदानमा छन् । २०४८ मा तीनै क्षेत्र कांग्रेसले जितेको थियो । २०५१ र ५६ मा तीनै क्षेत्र एमालेले जित्यो भने २०६४ को संविधानसभा निर्वाचनमा दुई क्षेत्र एमाओवादी र १ क्ष्ाेत्रमा एमाले विजयी भएको थियो । यस पटकको निर्वाचनमा तीनै दल तीनै क्षेत्र जित्ने दाबीसाथ मतदातासँग पुगेका छन् ।

जनजाति बाहुल्य रहेको क्षेत्र १ मा एमाओवादी, कांग्रेस र जनमोर्चाले जनजातिलाई नै उम्मेदवार बनाएका छन् भने एमालेले महिला उम्मेदवार उठाएको छ । २०६४ मा एमाओवादीका सुदर्शन बरालले १४ हजार १ सय ६४ मत ल्याएर जितेका थिए । यस पटक बरालसँग कांग्रेसका प्रा. कृष्णबहादुर छन्तेल, एमालेकी मैना भण्डारी र जनमोर्चाका जमानसिंह राना चुनावी मैदानमा छन् । कांग्रेस जित्ने दाबी गर्दै घरदैलो र सभा समारोहमा व्यस्त छ । २०६४ को निर्वाचनमा पनि कांग्रेस दोस्रो शक्ति हो । ६ सय ३४ मत अन्तरले तेस्रो बनेको एमालेले पनि तीन जनजाति उम्मेदवारबीचको लडाइँको फाइदा महिला उम्मेदवार भण्डारीले सजिलै लिन सक्ने भन्दै प्रतिस्पर्धामा छ । सांगठनिक संरचनामा बलियो देखिएका कांग्रेस, एमालेले एमाओवादीका सुदर्शन बराललाई चुनौती दिइरहेका छन् भने उनलाई आपmनै पार्टीबाट फुटेको नेकपा-माओवादी थप चुनौती बनेको छ । १ नं. क्षेत्र यस जिल्लामा वैद्य पक्षको बढी प्रभाव छ ।

२०५१ देखि नै लगातार एमालेले जित्दै आएको क्षेत्र २ मा यसपटक पनि एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली चुनावी मैदानमा छन् । उनीसँग २०६४ मा २ हजार १ सय ५२ मतले पराजित कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी प्रतिस्पर्धामा

छन् । विकासको पूर्वाधारमा अगाडि रहेको क्षेत्र २ मा एमाओवादीको संगठन तुलनात्मक रूपमा कमजोर रहेकाले यहाँ एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा छ । सचेत मतदाताको संख्या बढी रहेको यस क्षेत्रमा प्रतिस्पर्धामा उभिएका कांग्रेस, एमालेका दुवै नेता संविधान निर्माणका लागि आवश्यक रहेको मतदाताको विश्लेषण छ ।

क्षेत्र ३ मा एमाओवादी केन्द्रीय सदस्य बामदेव क्ष्ाेत्री, एमाले केन्द्रीय सदस्य गोकर्ण विष्ट र कांग्रेस पूर्व सभापति त्रैलोक्यप्रताप सेनबीच प्रतिस्पर्धा हुने देखिएको छ । २०६४ मा एमाओवादीका चन्द्रबहादुर थापा सागर यहाँबाट विजयी भएका थिए । कांग्रेस सभापति चन्द्र केसीले कांग्रेस २०४८ सालदेखि नै विकासप्रेमी र यस पटक बलियो संगठन भएकाले तीनै क्षेत्रमा विजयी भएर इतिहास पल्टाउने बताए ।

एमाले जिल्ला अध्यक्ष टोमलाल पाण्डेले भने एमालेको विकासप्रतिको नीति, सुदृढ संगठन र केन्द्रीयस्तरमा पहुँच राख्ने उम्मेदवार भएकाले तीन वटै क्षेत्रमा सहजै जित हासिल गर्ने दाबी गरे । एमाओवादी इन्चार्ज सुदर्शन बरालले २०६४ सालको तुलनामा एमाओवादी गाउँस्तरसम्मै संगठन विस्तार गरेकाले यसपटक सबै क्षेत्र जित्न कुनै अप्ठ्यारो नरहेको बताए ।

२०६४ सालको निर्वाचनमा २ लाख ६१ हजार ६ सय ६९ मतदाता रहेको जिल्लामा यसपटक १ लाख ११ हजार ५ जनाले घटेर १ लाख ५० हजार ६ सय ६४ मतदाता छन् । 

मतदाता तान्न गाउँ-गाउँमा डोजर

घनश्याम गौतम
गुल्मी, कार्तिक १७ । निर्वाचन नजिकिँदै गर्दा त्रिपक्षीय टक्कर रहेको निर्वाचन क्षेत्र नं. ३ मा मतदाता प्रभावित गर्न दलहरूले सामग्री वितरण र विकास निर्माणका लागि डोजरसमेत प्रयोग गर्न थालेका छन् ।

एमाओवादीका बामदेव क्षेत्री, कांग्रेसका त्रैलोक्यप्रताप सेन र एमालेका गोकर्ण विष्टबीच प्रतिस्पर्धा रहेको यस क्षेत्रमा एमाओवादीले मतदाता प्रभावित गर्न बढी आक्रामक देखिएको छ । पश्चिमी क्षेत्रका केही गाउँका मतदाता प्रभावित गर्न डोजर प्रयोग हुन थालेको हो भने केही गाउँमा सामग्री वितरण गर्न थालिएको हो । एमालेको प्रभावित क्षेत्र रहेको वाग्लामा एमाओवादीले रातारात डोजर प्रयोग गर्‍यो । अन्य पार्टीको उजुरीका आधारमा अहिले रातिमा चल्ने गरेको डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।

वाग्लाको लाँहाटा बस्तीमा अहिलेसम्म मोटरबाटो पुगेको छैन । स्थानीय मतदाताहरूले जसले बाटो ल्याइदिन्छ उसैलाई भोट दिने भनेपछि एमाओवादीका कार्यकर्ताहरूको पहलमा लाँहाटामा मोटरबाटो लैजान रातिमा डोजर प्रयोग गरिएको एमालेका क्षेत्रीय इन्चार्ज सोमनाथ सापकोटाले बताए । 'झन्डै १ किलोमिटर सडक निर्माण गर्न डोजर प्रयोग गरिएको रहेछ,' सापकोटाले भने, 'झन्डै ५ सय मिटर खनिसकेपछि प्रशासनले डोजर नै नियन्त्रणमा लिएको छ ।'

निर्वाचन अभियान सुरु भएपछि पश्चिमी क्षेत्रकै ऐतिहासिक क्षेत्र मानिएको मुसिकोटको कोटसम्म पुर्‍याउने गरी झन्डै एक किलोमिटर सडक निर्माण गर्न डोजर प्रयोग गरिएको छ । एमाओवादीका क्षेत्रीय संयोजक बुद्धि जिसीले भने वाग्लामा प्रयोग भएको डोजर स्थानीय आपै+mले प्रयोग गरेको बताए । 'स्थानीयले डोजरवाला नचिनेका कारण हाम्रा साथीहरूले सम्पर्क गराइदिएका मात्र हुन्,' जिसीले भने, 'तर व्यक्तिव्यक्तिले पैसा उठाएर डोजर चलाएको जानकारी पाएको छु ।'

अधिकांश दलित बस्ती रहेको लाँहाटा गाउँमा १ सय ५० भन्दा बढी मतदाता छन् । गाविस सचिव बेदनिधी पन्थीले स्थानीयले ४० हजार रकम संकलन गरेर बाटो खन्न सुरु गरेको बताए ।

'अन्य रकमका बारेमा मलाई जानकारी भएन,' उनले भने ।

ऐतिहासिक दरबार रहेको मुसिकोट मन्दिरसम्म बाटो लैजाने भन्दै नेपाली कांग्रेसका कार्यकर्ता रामबहादुर केसीको नेतृत्वमा उनकै डोजर प्रयोग गरेर झन्डै २ सय ५० मिटर मोटरबाटो निर्माण गरिएको छ । आचारसंहिता विपरीत डोजर सञ्चालन भएको भन्दै स्थानीय अन्य राजनीतिक दलहरूले विरोध गरेपछि डोजर फिर्ता भएको छ । केसीले भने आपmनो डोजर अन्य सडक निर्माणका बेला अप्ठ्यारो भीरमा झुन्डिएकाले मुसिकोट खड्गदेवतासंँ भाकल गरेर जोगाएकाले त्यही भाकलस्वरूप मन्दिरसम्मको बाटो निर्माण गर्न खोजेको बताए । 'त्यसमा अन्य कुनै दलको रकम परेको छैन,' उनले भने ।

नयाँगाउँ, पिपलधारालगायतका गाविसहरूमा एमाओवादीले राष्ट्रिय दलित आयोगका तर्फबाट वितरण गर्न लागेको सिलाइ मेसिन निर्वाचन कार्यालयले नियन्त्रणमा लिएको छ । 'वितरणका लागि तयार गरिएका केही थान मेसिनहरू नियन्त्रणमा लिएका छौं,' निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले भने, 'आचारसंहिता विपरीत मेसिन वितरण गर्ने आयोगलाई समेत सचेत गराएका छौं ।' त्यस्तै ग्रामीण क्षेत्रमा लुकिछिपी चल्ने गरेका डोजरहरू सूचना पाएसम्म नियन्त्रण गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए ।

‘मुलुकको निकासका लागि एमालेको बहुमत आवश्यक’

Published on: // ,
घनश्याम गौतम 
गुल्मी– मुलुकको निकासका लागि नेकपा एमालेको बहुमत आवश्यक भएको एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले बताएका छन् ।
निर्वाचन क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार नेता ज्ञवालीले दरबार देविस्थान र अमरअर्वाथोकको चुनावी सभामा बोल्दै एमालेको ९ महिने सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुकै आधारमा देश अगाडी बढीरहेको उल्लेख गर्दै अहिले पनि त्यस्तै नीति र संविधानका लागि एमालेको बहुमत आवश्यक भएको बताएका हुन् । ‘एमालेको आप्mनो गाउ“ आपैmं बनाउ“ अभियान देखि बृद्धभत्ता, विधवा भत्ता, सुकुम्बासी समस्या समाधान जस्ता कार्यक्रम अभैm निरन्तर छन’, नेता ज्ञवालीले भने, ‘अहिलेको निर्वाचन संविधान लेख्नका लागि पनि त्यस्तै दुरगामी प्रभाव पार्ने गरी मुलुकलाई निकास दिनु जरुरी छ, त्यसका लागि एमालेको बहुमत आवश्यक छ ।’
दश वर्षे जनयुद्धबाट शान्ति प्रकृया स्थापना र २०६४ को निर्वाचनपछि शान्ति प्रकृयालाई पूर्णता प्रदान गर्न एमालेले उल्लेख्य भूमिका निर्वाह गरेको ज्ञवालीले बताए । ‘२०६४ को निर्वाचनमा एउटा पार्टी हतियार सहितको सेना राखेर चुनावमा होमिएको थियो’, नेता ज्ञवालीले भने, ‘यो निर्वाचनपछिको कार्यभार भनेको सहमती हुन नसकेका विषयबस्तुहरुमा सहमति जुटाएर संविधान लेख्नु मात्र हो ।’ चुनावी सभाका अवसरमा दरबार देविस्थान–६ जोर्तेपोखराबाट कर्णबहादुर कार्कीको नेतृत्वमा ७६ घरपरिवारका झण्डै ३ सय मतदाता र ९ को रानापोखराबाट ध्रुब शाहीको नेतृत्वमा १६ जना युवा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको जिल्ला सदस्य अशोक श्रेष्ठले बताए ।  
त्यस्तै क्षेत्र नं. ३ का एमाले उम्मेदवार गोकर्ण विष्टले पनि सोमबार पौंदीअमराईमा भएको चुनावी सभालाई सम्बोधन गर्दै एमालेको अगुवाईमा मात्र लोकतान्त्रिक संविधानका निर्माण हुन सक्ने बताएका छन् । पूर्व उर्जा मन्त्री समेत रहेको नेता विष्टले जनताको विचारलाई समेटेर निर्माण गरिने संविधानका लागि आप्mनो अमुल्य मत दिएर एमालेलाई दुई तिहाई बहुमत दिन उनले आग्रह गरे । ‘आप्mनो भाग्य आपैmले कोर्ने सौभाग्य मिलेकोले एमालेलाई बहुमत दिएर त्यसको सदुपयोग गर्नुहोला’, उनले भने, ‘तपाईको सहयोगलाई एमालेले लोकतान्त्रिक संविधान निर्माणमा लगाएर तपाईको र मुलुकको हितमा प्रयोग गर्ने छ ।’  

६ हजारका लागि ५५ बर्षदेखी निरन्तर

टुटेन विद्यालय सहयोगीको जिम्मेवारी
यो पनि पढ्नुस्: ५५ बर्ष देखी बिद्यालयका पियन ८७ बर्षिय बृद्व

घनश्याम गौतम
गुल्मी, आश्विन ३१ - मासिक छ हजार रुपैयाँ आम्दानीका लागि ८७ वर्षीले विद्यालयमा कार्यालय सहयोगीको जागिर खाँदै आएका छन् ।
हुँगाको जनजागृति उच्चमाविमा हुँगा ६ ठुटेपिपलका भीमलाल सुवेदीले नियमित आम्दानीका लागि ५५ वर्षदेखि नियमित कार्यालय सहयोगीको काम गर्दै आएका हुन् । विद्यालयमा निःशुल्क सेवा हुँदै मासिक ४५ रुपैयाँबाट सुरु भएको सुवेदीको तलब ५५ वर्ष पुग्दा ६ हजार पुगेको हो । उनी ०१६ सालमा विद्यालय स्थापना भएदेखि नै निरन्तर कार्यालय सहयोगी रहँदै आएका छन् ।
विद्यालय स्थापनाका तीन वर्षसम्म निःशुल्क काम गरेर ०१९ सालमा विद्यालयले मिडिल क्लासको मान्यता पाएपछि मासिक ४५ रुपैयाँमा सेवा सुरु गरेका सुवेदीको पारिश्रमिक अहिले ६ हजार पुगेको भीमलालले बताए । उनको सक्रियता, परिश्रम र इमान्दारीताकै कारण विद्यालयले अहिलेसम्म उनलाई हटाउन सकेको छैन ।
बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म नियमित काम गर्ने सुवेदीलाई विद्यालयका प्राचार्य, शिक्षक, कर्मचारी र विद्यार्थीले भीमलाल बुबा भनेर बोलाउने गर्छन् । 'स्थापनाका बेला काठ, ढुंगा, माटो सबै मैले बोकेर विद्यालय स्थापना गरेको हुँ, उनले भने, 'त्यसैले मैले कहिल्यै तलबको कुरा गरिन र विद्यालयले मलाई बूढो भइस् छोड् भन्न पनि सक्तैन ।' उमेरले वृद्ध भए पनि सक्दासम्म विद्यालय नछोड्ने सुवेदीले बताए ।
विद्यालयमै सबैभन्दा पुराना र निडरसमेत भएकाले शिक्षकदेखि विद्यार्थीसम्म सबै भीमलाल बा भनेपछि डराउने गर्छन् । 'उमेर ८७ भए पनि उहाँ हामीभन्दा जोशिलो र फुर्तिलो हुनुहुन्छ', प्राचार्य विजयकुमार झाले भने, 'युवाको भन्दा उहाँको कार्यशैली राम्रो भएकाले हामीलाई पनि उहाँ विद्यालयमा भएकै राम्रो छ ।' काम गर्न सक्दासम्म सुवेदीलाई हटाउन आवश्यक नरहेको झाले बताए ।
विद्यालयमा विद्यार्थीलाई अनुशासित राख्नसमेत अन्य शिक्षकको तुलनामा सुवेदीको भूमिका बढी छ । शिक्षकसँग नडराउने विद्यार्थी पनि सुवेदी बा भनेपछि डराउने गरेको झाले बताए । विद्यालयमा आएपछि सबै कक्षा कोठाका ढोका खोल्नेदेखि सरसफाइ गर्ने, चिया पकाएर शिक्षक एवं कर्मचारीलाई खुवाउने, घण्टी बजाउनेदेखि विद्यार्थीलाई अनुशासनमा राख्ने काम पनि उनकै जिम्मेवारीमा छ ।
व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर पल्लीले सुवेदीको विद्यालयमा आवश्यकता भएकै कारण अहिलेसम्म न्यूनतम पारिश्रमिक दिएर भए पनि काममा लगाई राखिएको बताए । जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले पनि उमेर, लगनशील र परिश्रमका हिसाबले सुवेदी सबैका सम्मानका पात्र भएको बताए । 'उमेरको हिसाबले उहाँको सक्रियता, इमान्दारिता र परिश्रमलाई हामीले सम्मान गर्नैपर्छ', अर्यालले भने ।

दलित-गैरदलित संयुक्त पुजारी

घनश्याम गौतम
गुल्मी, आश्विन ३१ - जातीय विभेद अन्त्य गर्न दुर्गम गाउँको एक कोटमा दलित समुदायबाट पनि मन्दिरमा पुजारी राख्न सुरु गरिएको छ । जयखानी, लम्सराङ्गस्थित देवीकोट मन्दिरमा दलित युवा ९ वर्षीय विनम विश्वकर्मा पुजारी बसेका हुन् । क्षत्री, मगर र दलित समुदायको मात्र बसोबास रहेको मन्दिरमा केही वर्षअघिसम्म पर्वतबाट ब्राह्मण ल्याएर पुजारी राख्ने चलन थियो ।
पछिल्ला वर्षमा मगर समुदायबाटै पनि पुजारी राख्न थालिएको थियो । स्थानीय राजनीतिक दल, समाजसेवी र 'दलित' समुदायबीच सहमति गरी जातीय विभेद अन्त्य गर्न दलित समुदायबाट पनि पुजारी राख्न थालिएको कोट व्यवस्थापन समिति अध्यक्ष मोतीप्रसाद श्रीशले बताए । 'दलित समुदायबाट पनि पुजारी राख्न पाउनुपर्छ भन्ने माग आयो', अध्यक्ष श्रीशले भने, 'शुद्ध व्यक्ति भए राख्न सकिन्छ भन्ने छलफल चलेपछि ९ वर्षीय किशोरलाई पुजारी राख्ने निर्णय गरिएको हो ।'
पुजारी बस्न थालेका किशोर विनम स्थानीय एमाओवादी नेता ईश्वरी विश्वकर्माका छोरा हुन् । उनकै १९ वर्षीय छोरा विनोदलाई भने गैरदलित समुदायले पुजारी राख्न अस्वीकार गरेका थिए । विश्वकर्माका अनुसार विनमले अहिलेसम्म माछामासु नखाएको र एक वर्षअघिदेखि पूणिर्माको व्रतसमेत बस्दै आएकाले पुजारी राख्न सहज भएको हो ।
एमाले जिल्ला सदस्यसमेत रहेका जयखानीका देउकुमार काउछा मगरले मन्दिरमा दलित मात्र नभएर मगर समुदायबाट पनि एक जना र दलित समुदायबाट एक जना पुजारी संयुक्त रूपमा राख्न सुरु गरिएको बताए । 'तीन वर्षअघिदेखि दलित समुदाय पनि मन्दिरमा सहज प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था थियो', उनले भने, 'अहिले पुजारी पनि राख्न पाउनुपर्ने माग गरेपछि मन्दिर आफैमा पवित्र संस्था भएकाले हामी सबैको सहमतिमा दुई समुदायकै पुजारी राख्ने निर्णय गरेका हौं ।' १ सय ५० घरधुरी रहेको लम्सराङ्गमा ३ घर क्षत्री, २४ घर दलित र अन्य सबै जनजाति रहेको एमाओवादी अध्यक्ष विश्वकर्माले बताए । जयखानी गाविसमा ६० घर दलित समुदाय छन् ।
अहिलेसम्म मन्दिरमा दलितले बाजा बजाउने, हतियारमा सान लगाउने, सरसफाइ गर्ने जस्ता काम मात्र गरेकामा यस वर्षदेखि सहज रूपमै पुजारीसमेत बस्न पाउने भएपछि आफूहरू उत्साहित भएको उनले बताए । मन्दिर सञ्चालनका लागि प्रतिव्यक्ति १ सय ५० संकलन गर्ने गरेको मन्दिरमा राँगा, बोका र परेवा बलि चढाउने गरिन्छ । दलित र मगर युवा पुजारी बसेपछि मन्दिरमा दुवै समुदायबाट पूजा गर्नेको भीड लागेको देउकुमारले बताए ।

गाउँ भरिँदै, शहर रित्तिँदै

Published on: // ,
घनश्याम गौतम
गुल्मी , आश्विन २८ - लामो समयदेखि युवाविहीन गाउँमा उनीहरू दसैंमा फर्केपछि गाउँमा रौनकता बढेको छ । दसैं र युवाको आगमनले गाउँमा छुट्टै चहलपहल छ । सहर बजार भने सुनसान बनेका छन् ।
'गाउँमा रमाइलो छैन भनेको त दुई वर्षपछि गाउँ आउँदा झनै रमाइलो लाग्यो,' हर्राचौरका अशोक थापाले भने, 'हिजोदेखि नै बुटवल बजार सुनसान हुन थाल्यो, तर गाउँमा रमाइलो सुरु भएको छ ।' चाडवर्पबाहेकका समय भने गाउँ प्रायः सुनसान नै हुन्छन् । सधैं चहलपहल हुने सदरमुकाम तम्घास पनि बिहीबारदेखि प्रायः सुनसान बनेको छ । रोजगारी, अध्ययन, व्यापार व्यवसायलगायतका कामले सहर रोज्नेहरू वर्षमा एक पटक दसैंमा मात्र घर र्फकने भएकाले गाउँहरू भरिभराउन हुन थालेका हुन् । सहरको कोलाहल, कामको व्यस्तता, तनावपूर्ण दिनहरूलाई बिर्सदै दसैं मनाउन गाउँ पसेकाहरूको फुर्सदले उत्साह र उमंग थप्ने गरेको अर्जैका सुरज भण्डारीले बताए । 'म आएको ५ दिन भयो,' भण्डारीले टेलिफोनमा भने, 'अघिपछि गाउँ आउन मनै लाग्दैन,' उनले भने, 'दसैंमा भने कहिले गाउँ पुगौं, पुगौं जस्तो हुन्छ ।'
वर्षौंदेखि बिछोडिएका साथीसंगीहरूको भेटघाट, सम्बन्ध विस्तारका कारण पनि सहरमा बसेर गाउँ फर्केकालाई केही दिन गाउँको बसाइँ रमाइलो नै लाग्छ । 'पूर्वाधार र प्रविधिको विकासमा भएको ढिलाइले भने दिक्कै लाग्ने गर्दछ,' जुभुंगकी सीता थापाले भनिन्, 'अब धेरै युवा पुस्तालाई प्रविधिबिना टिक्नै नसक्ने बनाइदियो ।' शुक्रबार गाउँ फर्किएकी थापाले सहरमा मोबाइल र फेसबुकमार्फत हुने साथीभाइको सम्बन्ध गाउँमा प्रत्यक्ष हुने भए पनि त्यो सीमित मात्र हुने बताइन् । 'त्योमात्र नरमाइलो हो,' उनले थपिन्, 'अरू त सबै रमाइलै छ ।' गाउँको चहलपहलसँगै सहरमा सुनसान धेरै बढेको छ । सवारी साधनमा बाहेक अन्य क्षेत्रको व्यापार व्यवसाय घट्दो छ । पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकासले पनि सदरमुकामको व्यापार व्यवसाय घटाउँदै लगेको व्यवसायीको अनुभव छ । 'ठूला बजारहरूबाट सवारी साधनले सीधै ग्रामीण क्षेत्रमा मालसामान ढुवानी गर्न थालेपछि तम्घासको व्यापार पहिलाजस्तो छैन,' तम्घासका व्यवसायी तेजेन्द्रकुमार श्रेष्ठले भने, 'अहिले त बजारमा भन्दा गाउँमै व्यापार राम्रो हुन थाल्यो ।'
पछिल्लो एक सातामा जिल्लाका रिडी, खैरेनी, शान्तिपुर, मजुवा वामिटक्सार, विरबास, सिमलटारीलगायतका ग्रामीण बजारहरूमा भने चहलपहल बढ्दै गएको छ । शान्तिपुरका व्यवसायी दामोदर सापकोटाले सुस्ताएको व्यापार व्यवसाय चाडपर्वमा केही फरक हुने गरेको बताए । 'अहिले चहलपहल बढ्दो छ,' उनले भने, 'दसैंमा युवायुवतीको गाउँ र्फक अभियानले यस्तो भएको हो ।' दसैंबाट सुरु भएको ग्रामीण क्षेत्रको चहलपहल तिहारसम्म नै रहने सापकोटाले बताए । राष्ट्र बैंक भैरहवाबाट तानसेन राष्ट्रिय बैंकमा रकम ल्याउने र त्यही पैसा सबैले आवश्यकता अनुसार लग्ने गरेको प्रबन्धक पाठकले बताए । भूतपूर्व कर्मचारीले पेन्सन पनि दसैंमै निकाल्ने गर्छन् । यस्तै, सरकारी कर्मचारीले पनि दसैं पेस्कीसहित तलब लिने गर्छन् । यस्तै सर्वसाधारणले पनि यही बेलामा दसैं खर्च निकाल्ने भएकाले पनि बढी खर्च देखिएको हो ।
नेपाल इन्भेस्टमेन्ट बैंकका प्रबन्धक बाबुराम कँडेलले अन्य समयमा भन्दा दसैंका बेला बढी निकाल्ने चलन रहेको बताए । घर खर्चका लागि आवश्यकभन्दा बढी नै निकाल्छन् । नयाँँ नोट साट्नका लागि जनताको भीड लाग्ने गरेको उनले बताए । पर्यटकीय नगरी तानसेन निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारका लागि आकर्षणको केन्द्र बनेको तानसेनमा झन्डै दर्जन बैंक खुलेका छन् । राष्ट्रिय वाणिज्य बैंकबाहेक हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, किस्टलगायतका बैंकका शाखाहरू छन् ।

गुल्मीका दर्जनौं कोटहरुमा महाअष्टमीको पुजाआजा सम्पन्न

Published on: // ,
घनश्याम गौतम
गुल्मी, आश्विन २६ - बडादसैँको आठौँ दिन शनिबार गुल्मीका एक दर्जन भन्दा बढी मठमन्दिर र कोटहरुमा बलीसहित पूजा सम्पन्न गरिएको छ ।
बडादशैंको आठौं दिन महाअष्ठमी पर्व अनुसार दसैँघर र कोतरुमा पुजाअर्चना तथा दुर्गापाठ गर्ने परम्परा अनुसार गुल्मीका ऐतिहासिक महत्व बोकेका कोटहरु चन्द्रकोट, इश्माकोट, पुर्कोट, धुर्कोट, मुसिकोट, मानकोट लगायतका कोटहरुमा बली सहित दुर्गामाताको पुजा सम्पन्न गरिएको कोट व्यवस्थापन समितिहरुले जनाएको छ । गुल्मीसँगै यस क्षेत्रका अर्घाखाँची, पाल्पा, बाग्लुङ लगायतका विभिन्न मठ, मन्दिर, शक्ति पिठ र कोटहरुमा दिनभर शक्तिरुपा भगवतीको पुजाअर्चना गरी बली चढाउने परम्परा छ ।
पशुबली नचढाउने दशैंघर र कोटहरुमा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने परम्परा छ । गुल्मीका विभिन्न क्षेत्रमा रहेका एक दर्जन भन्दा बढी कोटहरुमा बाजागाजा, हर्ष बढाई सहित महाअष्ठमी पर्वका दिन बेलुका समेत बढी चढाई पुजाआजा गर्ने गरिन्छ ।

सडकका खाल्डाखुल्डीले जोखिमपूर्ण यात्रा, दशैँमा घर फर्कनेहरुलाई सास्ती

Published on: // ,
घनश्याम गौतम
गुल्मी, आश्विन २२ । मर्मत र स्तरोन्नति हुन नसक्दा जिल्लाकै बढी व्यस्त सडक समस्याग्रस्त र जोखिमपूर्ण बन्दै गएको छ । समयमै सडक मर्मतको पहल नहुँदा दसैंमा घर र्फकने यात्रुहरूले सास्ती भोग्नु परेको छ ।

दैनिक १ सय २० भन्दा बढी सवारी साधन ओहोरदोहोर गर्ने रिडी-रुद्रवेणी-वामिटक्सार सडक जीर्ण र जोखिमयुक्त बन्दै गएको हो । सडक डिभिजन कार्यालय, जिविस, केन्द्रीय योजनाबाट अहिलेसम्म करोडौं लगानी भएको ४६ किलोमिटर सडक साँघुरो र खाल्डैखाल्डा भएको छ । सडकका अधिकांश क्षेत्रमा नालीसमेत छैन ।

सडकमा ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजनाले तीन वर्षदेखि सडक मर्मत र स्तरोन्नतिको काम गरिरहेको छ । सडक चौडा गर्ने र नाली बनाउने कार्य निरन्तर भइरहे पनि राम्रोसँग काम नभएको र भएको पनि सम्बन्धित निकायले अनुगमन नगर्दा सडक झन् बिगि्रएको सवारी चालकहरूले बताए । 'बाटोमा सवारी साधन चलाउन सक्ने अवस्थै छैन,' लु१ख ६९१० ट्रकका चालक देवी ज्ञवालीले भने, 'बाटो बनाउने भन्दा झन् बिगार्ने काम भएको छ ।' जिविस र सडक डिभिजन कार्यालयको लापरबाहीले बाटो हरेक वर्ष झन् बिगँ्रदै गएको उनले बताए ।

रिडीदेखि रुद्रवेणीसम्मको सडक अत्यन्तै साँघुरो रहेको र कालीगण्डकीको किनारै किनार यात्रा गर्नुपर्ने भएकाले पनि बढी जोखिमयुक्त छ । त्यस्तै रुद्रवेणी देखि साघाट र खैरेनी खण्डको सडकमा सवारीका टायर नै भास्सिने गरी खाल्डाखुल्डी रहेको ज्ञवालीले बताए । सडक अप्ठ्यारो भएकै कारण एक पटक ओहोरदोहोर गर्दा सवारीमा ८ देखि १० हजार रुपैयाँसम्मका बढी खर्च आउने गरेको उनले गुनासो गरे ।

परियोजनाले सडक मर्मतमा २ करोड ५० लाख रुपैयाँ खर्च भइसक्दा पनि सडक राम्रो नभएको गुनासो आएपछि जिल्लाको सर्वपक्षीय टोलीले शनिबार र आइतबार सडकको अनुगमन गरेको स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताए । टोलीले रिडीदेखि वामिटक्सारसम्मको ४६ किलोमिटर सडक खण्डको अनुगमन गरेको थियो । जिविसले सम्झौता गरेको झन्डै ४ करोड रुपैयाँमध्ये १ करोड ५० लाख रुपैयाँको काम अझै बाँकी नै रहेकाले त्यस्ता काम तत्काल सम्पन्न गर्न अनुगमनका क्रममा निर्माण व्यवसायीलाई निर्देशन दिइएको जिल्ला इन्जिनियर लालु गिरीले बताए । 'अनुगमनका क्रममा सबै स्थानमा देखिएका समस्याका बारेमा स्थानीयसँगै छलफल गरिएको छ', गिरीले भने, 'खाल्डाखुल्डीको मर्मत र नाली बनाउनसमेत निर्देशन गरेका छौं ।'

सडकको अवस्थाले ठूला सवारी ट्रक, बससँगै साना सवारी साधनहरू झन् मर्कामा परेका छन् । दैनिक १ हजारभन्दा बढी सर्वसाधारण ओहोरदोहोर गर्ने जिपहरू सडकमा परेका ठूला खाल्डाले बढी समस्यामा परेको लु १ज १३६२ नम्बरका जिप चालक लेखबहादुर कार्कीले बताए । 'बाटोको अधिकांश भाग गाडी चल्न मिल्ने बाटो नै भन्ने जस्तो छैन', कार्कीले भने, 'दसैंमा घर र्फकनेहरूलाई समस्या पर्ने भएकाले जबर्जस्ती गाडी चलाउनु परेको छ ।' साँघुरो सडक त्यसमा पनि खाल्डाखुल्डी भएकाले साना-ठूला दुवै सवारी साधनहरूका पट्टा भाँच्चिने, क्राउन जाने, गेयर बक्स बिग्रने लगायतका समस्या दिनहुँ हुने गरेको कार्कीले बताए ।

जिल्लाकै ठूलो सडक मानिएको रिडी-रुद्रवेणी-वामिटक्सार सडक जनश्रमदानमा २०४० सालदेखि निर्माण सुरु भएको थियो । २०५२ मा रुद्रवेणीमा पक्की पुल बनेदेखि अहिलेसम्म नियमित रूपमा सवारी चल्दै आएका छन् । निर्वाचन क्षेत्र नं. १ का २५ गाविस, २ का झन्डै  १० र ३ का समेत केही गाविस त्यस्तै बागलुङको इलाका सदरमुकामसमेत रहेको बुर्तिबाङ सहित झन्डै २५ गाविसका लागि प्रत्यक्ष सेवा पुर्‍याएको यो सडकमा सरकार र योजना आयोगले समेत ध्यान नपुर्‍याएको सर्वसाधारणको गुनासो छ ।

'महत्त्वको हिसाबले यो सडक सदरमुकाम जोड्नेभन्दा पनि ठूलो हो', एमाले जिल्ला सचिवसमेत रहेका वामिटक्सारका सोमनाथ सापकोटाले भने, 'तर सवारी चल्न थालेको ३० वर्ष पुग्नथाल्दासम्म सडकको अवस्था स्तरोन्नति हुनुको साटो झन् बिग्रँदै गएको छ ।' सडकमा परियोजना बाहेक सडक डिभिजन कार्यालय पाल्पा, जिविस र केन्द्रीय योजनाबाट समेत १ करोड ५० लाखभन्दा बढी लगानी भइसकेको छ । सडक मर्मतका लागि सडक, जिविसबाट थप पहल पनि भैरहेको इन्जिनियर गिरीले बताए ।

३३ दलिय मोर्चासंग बार्ताको ढोका खुल्ला राख्न ज्ञवालीको आग्रह

Published on: // ,
घनश्याम गौतम
गुल्मी– नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले देशलाई द्वन्द्वको सम्भाब्य अवस्थाबाट जोगाउन बार्ताको ढोका खुल्ला राख्न राजनीतिक संयन्त्र र सरकारसंग आग्रह गरेका छन् ।
निर्वाचन क्षेत्र नं. २ को चुनावी कार्यक्रमलाई रुरु र बलेटक्सारमा मंगलबार सम्बोधन गर्दै नेता ज्ञवालीले दोस्रो संविधान सभा पनि जनमत संग्रहकै अर्को रुप भएकाले नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चालाई पनि संविधान सभाको निर्वाचनमा सहभागी गराउनु जरुरी रहेको बताए । ‘मुलुक अग्रगामी राष्ट्रको रुपमा परिचित हुने कि असफल राष्ट्रमा जाने, मुलुककोविविधता र राष्ट्रिय एकता कायम रहने कि जातिय विखण्डनमा जाने’, ज्ञवालीले भने, ‘मुलुक समृद्ध दिशामा अगाडी बढ्ने कि, अराजकतामा फस्ने भन्ने छिनोफानो समेत दोस्रो संविधान सभाको निर्वाचनले सुनिश्चितता गर्दै छ ।’ निर्वाचनमा सहभागी गराउन बार्ताको ढोका खुल्ला राख्न समेत उनले सरकार र राजनीतिक संयन्त्रसंग आग्रह गरे ।
संविधान सभाको दोस्रो निर्वाचन भनेकै जनमत संग्रहको अर्को रुप भएकोले त्यसमा सहभागी भएर आफ्ना ऐजेण्डाहरु स्थापित गर्न पनि नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई बार्ताकै माध्यमबाट निर्वाचनमा सहभागी गराउन राजनीतिक संयन्त्र र सरकारसंग आग्रह गरेका हुन् । उनले मोर्चा निर्वाचनमा नगएपनि उनीहरुका ऐजण्डालाई सम्बोधन गर्न मुलधारका दलहरुसंग आग्रह गरे । ‘मोर्चालाई लोकतान्त्रिक पद्धतीमा राख्न राजनीतिक दलहरुमा निरन्तर संवाद हुनु जरुरी छ’, नेता ज्ञवालीले भने, ‘विविध कारणहरुले निर्वाचनमा जान नसकेपनि त्यसलाई ठुलो मुद्धाको रुपमा चित्रण नगरी आप्mनो ऐजेण्डा स्थापित गर्ने दिशामा अगाडी बढ्न समेत म मोर्चालाई आग्रह गर्दछु ।’
नेता ज्ञवालीले पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेपनि मुलुकका अधिकांश मुद्धाहरु समाधान भएको, संविधान जारी गर्नका लागि अन्तिम प्रयास गरिएको भन्दै कार्यकर्ताका गुनासा र जिज्ञासा मेटाउने प्रयास गरेका थिए । संविधान सभाबाट अहिलेसम्म भएका प्रगतीहरुको बारेमा समेत ज्ञवालीले जानकारी गराए ।

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते

घनश्याम गौतम
गुल्मी, २३ असोज– गुल्मी जिल्लाको ग्वाघा गाविसमा आज राती भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
भुर्तङ्ग प्रहरी चौकी इन्चार्ज पशुपती बोहोराका अनुसार बुटवलबाट खाध्य सामाग्री लिएर भुर्तुङ्ग तर्पm जा“दै गरेको लु. २ त. ६१४३ नम्बरके ट्याक्टर ग्वाघा गाविसको वार्ड नं. २ गम्देबेलौनी भन्ने स्थानमा राती दुर्घटनामा परेको थियो । दुर्घटनामा भुर्तुङ्ग गाविस वार्ड नं. ४ का ट्याक्टर मालिक नवराज श्रेष्ठ र भुर्तुङ्ग गाविस वार्ड नं. ५ का गुनबहादुर किसानको  घटनास्थलमै मृत्यु भएको प्रहरी हवल्दार बोहोराले बताउनु भयो । ट्याक्टर सडकबाट झण्डै ७० मिटर तल खसेको छ । घटनामा ट्याक्टर चालक भुर्तुङ्ग गाविस ४ कै कुमार थापा र हुमबहादुर राना सामान्य घाइते भएको र उनीहरुको शान्तिपुर हेल्थपोष्टमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

चुनाबी माहौल: बिहीवार तम्घासमा यस्तो देखियो (फोटो फिचर)

आमने-सामने कार्यकर्ता ः दोस्रो संविधान सभा निर्वाचनका लागि गुल्मीका तिनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्न जुटेका एमाओवादी र नेपाली कांग्रेसका कार्यकर्ताहरु । एकै स्थानमा निर्वाचन कार्यालय रहेकाले एकै समयमा उम्मेदवारी दर्ता गर्न जुलुस सहित दुवै पार्टी आएपछि नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । तस्विर ः घनश्याम गौतम

किरियामै उम्मेदवारी ः दोस्रो संविधान सभा निर्वाचनका लागि गुल्मीको क्षेत्र नं. ३ बाट उम्मेदवारी दिंदै बाबुको क्रियामा बसेका पूर्व उर्जा मन्त्री गोकर्ण विष्ट । उम्मेदवारीका लागि पठाएको वारेस नामामा त्रुटी भएर निर्वाचन कार्यालयले उम्मेदवारी दर्ता गर्न नमानेपछि विष्टलाई एमाले कार्यकर्ताहरुले हतारहतारमा उनी क्रियाबसेको घर दोहोली- ३ पुगेर तम्घास ल्याएका थिए । उनको घर सदरमुकाम तम्घासबाट झण्डै ४० किलोमिटरको दुरीमा पर्छ । तस्विर ः घनश्याम गौतम

अब उम्मेदवार ः दोस्रो संविधान सभा निर्वाचनका लागि गुल्मीको क्षेत्र नं. १ बाट उम्मेदवारी दिन जाँदै महिला उम्मेदवार मैना भण्डारी । २४ निर्वाचन क्षेत्र रहेको लुम्बिनी अञ्चलबाट जम्मा ३ जना महिलालाई टिकट दिईएको छ । तस्विर ः घनश्याम गौतम

अब सेलिब्रेटी पनि ः दोस्रो संविधान सभा निर्वाचनका लागि गुल्मीका तिनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्न आएका नेपाली कांग्रेसका उम्मेदवारहरुको तस्विर खिच्दै पत्रकार । नेपाली कांग्रेसले क्षेत्र नं. २ मा २०६४ मा दोस्रो भएका केन्द्रिय सदस्य चन्द्र भण्डारीलाई टिकट दिएको छ भने अन्य दुई निर्वाचन क्षेत्रमा नयाँले टिकट पाएका छन् । तस्विर ः घनश्याम गौतम
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग