Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मगरको शव कुलोमा फेला, हत्याको आशंका

Published on 4:01:00 PM //


प्रेम सुनार
बैशाख २२, गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्ग दगातुम डाँडाका एक ब्यक्तिको शव घरदेखि तल कुलोमा फेला परेको छ । बैशाख ११ गते साँझ साढे ६ वजतिरे वुर्तिबाङ्गबाट सडक विभागका मानिसहरुसंग गाडीमा आई ग्वालीचौरको नयरासम्म देखा परेका दगातुमडाँडा गाविस वडा नम्वर ९ सक्न्याराका ५१ वर्षिय शेरबहादुर वलामी मगरको शव तिन दिन अघि नयरा वारी लब्धी खोलाको कुलोमा फेला परेको हो ।
भावविहल शेरबहादुरका आफन्तजन । तस्बिर: प्रेम सुनार
‘आज मात्रै बाग्लुङ्ग सदरमुकाम पुगेर शव पोष्ट मार्टम गरी फर्कियौं’ मृतकका भाई हिराबहादुर वलामीले भने ‘उहाँको कसैले हत्या गरेरै फालेको हामीले पायौं ।’ ‘टाउकोमा धारिलो हतियार र रडले प्रहार गरेको गहिरो घाउ छ ’ वलामीले भने ‘त्यस माथी कुलाको ढुङ्गाको कापामा शव लुकाएर राखेकोले हत्या भएको वलियो आधार देख्न सकिन्छ’ । शेरबहादुर बाग्लुङ्ग-खर्बाङ-बुर्तिबाङ लोकमार्गमा काम गर्ने कर्मचारी थिए । कामदारहरुलाई खान पकाउने, रेखदेख गर्ने उनलाई सडक विभागकै मानिसहरुले बुर्तिबाङ्ग वोलाएर लगेका थिए । उनिहरुकै गाडीमा फर्किएका उनलाई ११ गते साँझ साढे ६ वजेतिर स्थानिवासीले देखेको बताए ।
त्यहीँ ओर्लेर फेरी गाडी चढेका उनको एउटा चप्पल न्याराबाट पाँच मिनेट पनि नलाग्ने पारी सडकमा फेला परेको थियो । उनि माथी घर सक्न्यारा जानका लागि त्यो स्थानबाट धेरै पर ओर्लिनु पर्दथ्यो । जाँड रक्सी पिएर नहिँडेको र त्यो शव रहेको स्थान लडेर मृत्यु हुने अवस्थाको पनि नभएकोले उनको सुनियोजित रुपमा कसैले हत्या गरी ढुङ्गाको कापामा लगेर लुकाएको हुन सक्ने आशंका स्थानियबासीले गरेका छन् ।
त्यस घटनाको अनुसन्धान भईरहेको खर्बाङ ईलाका प्रहरीले जनाएको छ । अघिल्लो दिनसम्म त्यो स्थान भन्दा अलि पर सडकको कुनामा अन्यत्रबाट माटो ल्याएर थुपारिएको थियो । जहाँ मान्छे अट्ने खाडल पनि खनिएको थियो । त्यही स्थान खनेर शव खोज्न थालेको अर्को दिन विहान वलामीको शव अलि पर कुलाको ढुङ्गा मुनी भेटिनुले उनको शव रातौरात स्थानान्तरण गरिएको हुनसक्ने आशंका समेत बढेको छ ।
पोष्टमार्टमका लागी मगरको शब लैजाने तयारी । तस्बिर: प्रेम सुनार
उनि चढेका गाडी र संगै यात्रा गरेका सडक विभागका मानिसहरु को थिए ? उनिहरुको पत्तो लगाएपछि घटनाको रहस्य खुल्ने देखिएको छ । मृतक शेर बहादुर गाउँमा असध्यै सोझो ब्याक्तिका रुपमा चिनिँदै आएका थिए । उनि त्यो उमेरसम्म जाँड रक्सी पिएर कहिल्लै झै झगडा नगर्ने गरेको स्थानियबासी बताउँछन् । धेरै अघि देखि बडिघाट खोला लाईनमा मानिसहरु बेपत्ता हुने र पछि शव फेला पार्ने क्रममा बढ्दै आएको छ । कतिपय सुनियोजित हत्या घटना समेत लडेर मरेको बनाईका कारणले पनि त्यो क्रम बढेको स्थानियबासीको गुनासो छ । त्यसै बढिघाट खोलामा ४ महिना अघि हात खुट्टा बाँधेर, खोला भित्र लेउ लागेको अवस्थामा शव फेला परेका गुल्मी आँपचौरका विष्णु भन्ने दलबहादुर पछाईका हत्याराहरु गुल्मी प्रहरीले अहिले सम्म पत्ता लगाउन सकेको छैन । कतै सक्न्याराका शेरबहादुरको मृत्यु घटना पनि त्यसरी नै प्रहरीको निरिहताले रहस्यकै गर्वमा रहि रहने हो कि भन्ने आसंका बढेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग