Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घुम्ती शिविरमा १३ सय भन्दा वढीलाई नागरिकता वितरण

Published on 3:22:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख १९ गते, रेडियो रेसुङ्गा । गुल्मीको विकट पुर्वी क्षेत्रमा सञ्चालन गरिएको घुम्ती शिविरमा १ हजार ३ सय ७१ ले नागरिकता पाएका छन् । हर्मिचौर र पुर्तिघाट गरी दुई स्थानमा छुट्टाछुट्टै समयमा राखिएको घुम्ती शिविरवाट उनीहरुले नागरिकता पाए भने १ हजार ५ सय ८५ जनाले फोटो सहितको मतदाता नामावालीमा नाम दर्ता गराएका छन भने १ सय १८ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
स्थानीयले नागरिकतासँगै फोटो सहितको मतदाता नामावली संकलन, जिल्ला स्वास्थ्य कार्यालयवाट स्वास्थ्य जाँच तथा औषधी वितरण, कृषि विकास कार्यालयवाट वीउ, पशु सेवा कार्यालयवाट पशु चौपायाँको स्वास्थ्य जाँच, नेपाल टेलिकमद्धारा सिम वितरण, हुलाक कार्यालयवाट हुलाक टिकट, महिला तथा वालवालिका कार्यालयवाट अपाङ्ग परिचय पत्र वितरण गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले सुरक्षा अवस्थाका विषयमा जानकारी लिने तथा प्रशिक्षण दिने कार्य गरेको थियो । नागरिकता लगायतका सेवा लिन सदरमुकाम तमघास धाउनुपर्ने बाध्यतावाट मुक्ति मिलेको भन्दै स्थानीयले राहत महशुस गरेका थिए ।
पाँच-छ हजार खर्च गरी सदरमुकाम गएर बनाउनुपर्ने नागरिकता लगायतका कामहरु अहिले आफ्नै गाउँमा ती सेवा सुविधाहरु पाउँदा उनीहरु निक्कै दङ्ग तथा हर्षित समेत वनेका थिए । कार्यालयमा आउन नसकी सेवाबाट बन्चित भएका नागरिकलाई सेवा दिने उद्धेष्यले जिल्ला प्रसासन कार्यालय सहितका जिल्लाका सरकारी कार्यालयहरुले एकिकृत घुम्ति सेवा सञ्चालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिले वताउनुभयो ।
अर्वेनी, हर्मिचौर र ठुलो लुम्पेक गाविसलाई केन्द्रीत गरेर हर्मिचौरमा वैशाख १४ र १५ गते दुई दिनको सञ्चालन गरिएको घुम्ती शिविरमा ५ सय ६३ वटा नागरिकता वितरण गरिएको थियो भने ६ सय जनाले फोटो सहितको मतदाता नामावलीमा दर्ता गराएका थिए । शिविरमा महिला तथा वालवालिका विकास कार्यालयले ४७ वटा अपाङ्गता परिचय पत्र वितरण गर्नुका साथै जिल्ला स्वास्थ्य कार्यालयले २ सय १५ जनाको स्वास्थ्य परीक्षण एवं परामर्श तथा औषधि वितरण गरेको थियो भने जिल्ला पशु सेवा कार्यालयले २ सय ५० वटा जनावरको स्वास्थ्य परीक्षण एवं निशुल्क औषधि वितरण गरेको थियो । सो स्थानमा नेपाल टेलिकमले ५ सय वटा जिएसएम सिम र १५ वटा स्काई फोनको सिम वितरण गरेको थियो ।
यस्तै पुर्तिघाट, अर्वेनी, फोक्सिङ्ग, खडगकोट, जयखानी, भुर्तङ्ग, भार्से लगायतका गाविसलाई केन्द्रीत गरी वैशाख १६, १७, १८ र १९ गते गरी ४ दिनसम्म पुर्तिघाटमा सम्पन्न गरिएको घुम्ती शिविरमा ८ सय ८ वटा नागरिकता वितरण गरिएको छ भने ९ सय ८५ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । सोही शिविरमा जिल्ला स्वास्थ्य कार्यालयले १ सय १९ जनालाई र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रले ८८ जनालाई स्वास्थ्य तथा परामर्श सेवा दिएको छ भने जिल्ला कृषि विकास कार्यालयले २ सय ३२ जना कृषकलाई विउ विजन वितरण गरेको छ । त्यस्तै महिला तथा वालवालिका कार्यालयले ७१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ भने नेपाल टेलिकमले ४ सय ४५ वटा सिम कार्ड वितरण गरेको छ । शिविरमा ८ हजार ५ सय रुपैयाँ वरावरको हुलाक टिकट सेवा प्रदान गरेको छ । दुई स्थानकै शिविरमा सवैभन्दा वढी नागरिकता वनाउने र फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको भिड लागेको थियो ।
सरकारी कार्यालयहरुले सञ्चालन गरिरहेको संयुक्त घुम्ती सेवा कार्यक्रमकै समयमा पुर्तिघाट वजारको अनुगमन तथा निरीक्षण समेत गरिएको थियो । अनुगमनको क्रममा प्रहरीले अवैध मदिरा तथा मदिराजन्य अखाध्य वस्तुहरु वरामद गरी नष्ट गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्ति र जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लेको नेतृत्वमा खटिएको अनुगमन टोलीले पुर्तिघाट गाविस वार्ड नं. १ अन्तर्गतका विभिन्न पसल तथा स्थानीयवासीहरुको घरहरुमा अनुगमन गर्ने क्रममा बरामद गरेको करिव २ सय लिटर मदिरा सहित अन्य अखाध्य वस्तुहरु नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग