Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक गाग्रो पानी भर्न पाँच घण्टा कुर्दै मुसिकोटवासी

Published on 3:50:00 AM //


प्रेम सुनार
बैशाख २२, गुल्मी । वर्षयाममा समेत खानेपानीको विकराल समस्या भोग्दै आएका गुल्मी मुसिकोटका बासीन्दाले यो सुख्खा याममा एक गाग्रो पानी भर्न पाँच घण्टासम्म कुर्ने गरेका छन् । मुसिकोट ५ र ९ का करिव एक सय घरधुरीले खानेपानीको यस्तो विकराल समस्या भोग्दै आएका हुन् । त्यो सहित बडागाउँको खानेपानी समस्या समाधान गर्न एक दशक अघिदेखि दर्लिङको दुनाम देखि करोडौँको लागतमा मुसिकोट बडागाउँ खानेपानी योजना सम्पन्न भए पनि मुसिकोट ५ को बुढाथोक र वडा नम्वर ९ को कुखरापोलो लगायतका माथील्लो भुभागका वासीन्दाले पानीको यस्तो विकराल समस्या भोग्दै आएको वडा नम्वर ९ का निवर्तमान वडा अध्यक्ष डिलबहादुर परियारले बताए । ‘हालै मुसिकोट खुल्ला दिशा मुक्त गाविस घोषणा गरियो’ परियारले भने ‘खानेपानीको समस्या यस्तो छ, उता बनेका शौचालय प्रयाप्त पानीको अभावमा कतिपयको घरमा प्रयोगविहिन अवस्थामा पुगेका छन् ।’
कुँवामा पानी संकलन हुन्जेल त्यही कुरेर बस्दै स्थानिय मञ्जु र सुमन परियार दिदी-बहिनी । तस्बिर: प्रेम सुनार 
दिर्घकालिन समस्या समधानका लागि स्थानिय तहमा रहेका तल्ला पानीका मुहानहरुवाट लिफ्टीङ्ग सिस्टमबाट खानेपानी योजना सुरु गर्नुपर्ने उनको तर्क छ । ति दुवै वडाका जनताको सदियौं पुरानो झिरपानी र अर्सौदीको पँधेरो संरक्षणको अभावमा पानी संकलन हुन छाडेको छ । ‘एक बटुको पानी संलिन आधा घण्टा जस्तो कुर्नुपर्छ’ स्थानिय मञ्जु परियारले भनिन् ‘दुई घण्टा भयो पानी उभाउन थालेको अझै आधा गाग्रो भएको छैन ।’
‘खान पकाउने बेला हुन लाग्यो ’ सुमन परियारले भनिन् ‘यहि आधा गाग्रो पानी लिएर फर्किदै छौं ।’ अर्की एक महिला पल्लो सानो कुवामा बटुकामा पानी भर्दै थिईन । ‘तेल भन्दा महँगो छ यहाँको पानी’ उनले भनिन् ‘बडागाउँ मैदान सम्मका मानिसहरु आउँछन् यो पँधेरोमा तर पनि संरक्षण कसैबाट भएन ।’ ‘आफुहरु विहान ४ वजे उठेर पानी लिन आउँछौं पालो कुर्दा विहान जान्छ’ सुमनले भनिन् ‘कहिले काँही त पँधेरमा झगडा पनि पर्छ पालो मिच्न खोज्यो भने ।’
मुसिकोट बडागाउँ खानेपानी योजनाको पानी नियमित हुन सकेको छैन । ‘धारा टोलटोलमा राखिए पनि पानी आउँदैन’ अर्का स्थानियवासी शिवबहादुर बिंकले भने ‘यहाँको खाने पानी समस्या कहि साध्य छैन् ।’ दुनामबाट ल्याईएको उक्त खानेपानी योजना पुनर्निर्माण नगरे जनअपेक्षा अनुसारको पानी पु¥याउन कठिन हुने र त्यही पनि अवरुद्ध हुन सक्ने समितिका पदाधिकारीले बताउँदै आएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग