Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल डिभिजन ३ च्याम्पियन, विश्वकपबाट एक कदम टाढा

Published on 11:00:00 AM //


काठमाडौँ- भाग्य र मेहनत दुवैले साथ दिएपछि नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ च्याम्पियन बन्न सफल भएको छ। गएराति भएको खेलमा युगान्डालाई पाँच विकेटले हराउँदै नेपालले यो गौरव पाएको हो।
लिग चरणका सुरुवाती दुई खेलमा पराजय भोगेपछि नेपाललाई अघि बढ्न मेहनत र भाग्य दुवैको साथ आवश्यक थियो।
लिग चरणको अन्तिम खेलमा शनिबार दुवैले साथ दिएपछि रनरेटका आधारमा अमेरिकालाई पछार्दै नेपाल शीर्ष दुईमा पुग्दै डिभिजन २ मा बढुवा र विश्वकप छनौट प्रतियोगिताका लागि चयन भएको हो। र, फाइनलमा युगान्डालाई पराजित गर्दै नेपालले आफू मात्र भाग्यका कारण अघि नबढेको प्रमाणित पनि गर्‍यो।

फाइनल खेलका नायक भए प्रदीप ऐरी। सुरुवाती ब्याट्सम्यानका रुपमा मैदानमा उत्रिएका ऐरीले चार छक्का, पाँच चौकासहित ९५ बलमा ६० रनको योगदान दिए। उनलाई दरिलो साथ दिए शरद भेषावकरले जसले अविजित अर्धशतक बनाए। प्रदीप र शरद्‌को अर्धशतकसँगै यु १९ विश्वकपमा नेपालको नेतृत्व गरिसकेका पृथु बाँस्कोटले बनाएको अविजित १९ रनले ६४ बल बाँकी छँदै नेपालले खेलमा पाँच विकेटको विजय हात पारेको हो।

यसअघि टस जितेर ब्याटिङ रोजेको युगान्डालाई नेपालले १५१ रनमा सीमित पारेको थियो। राहुल विश्वकर्मा र वसन्त रेग्मीले दुई दुई विकेट लिएका थिए भने पारस खड्का, पृथु बाँस्कोटा र शक्ति गौचनले एक एक विकेट लिए।

डिभिजन ३ च्याम्पियन नेपाल डिभिजन २ मा बढुवा मात्रै भएको छैन, अर्को वर्ष हुने विश्वकप छनौट प्रतियोगिताका लागि चयन पनि भएको छ। २०१४ को जनवरीमा न्युजिल्यान्डमा हुने उक्त प्रतियोगितामा आठ अन्य एसोसिएट र एफिलियट टिमहरु सहभागी हुनेछन्। यसमा शीर्ष दुई स्थानमा रहन सके नेपालले सन् २०१५ मा हुने विश्वकपमा सहभागी हुने अवसर पाउनेछ। तेस्रो वा चौथो स्थान हासिल गर्न सके नेपालले एक दिवसीय खेल खेल्न पाउने मान्यता पाउनेछ।

बर्मुडामा रहेका नेपालीहरुको सानो समूहले विजय उत्सव मनाइरहँदा कप्तान पारसले यो विजय अविश्वसनीय लागेको प्रतिक्रिया दिए। 'हामीले यसका लागि निकै मेहनत गर्‍यौँ। सुरुका केही खेल हारेपछि कसैले पनि हामीलाई पत्याएका थिएनन् तर हामीले आफूमा र आफ्नो क्षमतामा विश्वास राख्यौँ। सबै कुराले हाम्रै साथ दियो। भन्छन् नि भाग्यले पनि सुरोको साथ दिन्छ। म खुसी छु। हामी त्यो ठाउँमा पुगेका छौँ, जहाँ हामी सँधै पुग्न चाहन्थ्यौँ", पारसले भने।

उनले विश्वकप छनौट खेल आठ महिनामात्रै बाँकी रहेकोले अभ्यास निरन्तर हुनेमा जोड दिए। 'विश्वकप छनौटभन्दा अघि नोभेम्बरमा दुबईमा विश्व ट्वान्टी-२० छनौट हुँदैछ, त्यो पनि उत्तिकै महत्त्वपूर्ण प्रतियोगिता हो', उनले भने।

तयारीको हिसाबले अब एउटा ठूलो रणनीतिक योजना आवश्यक रहेको उनले बताए। 'किनभने यो एउटा ठूलो चरण हो-एउटा थप चरणले हामीलाई विश्वकपमा पुर्‍याउँछ। घरमा सबै कुरा राम्रो भयो भने र हामीले राम्रा टिम र गुणस्तरीय विपक्षीसँग खेल्न पायौँ भने हामीले खेलाडीका रुपमा आफूलाई विकास गर्नेछौँ र तयारी गर्नेछौँ', उनको भनाई थियो।

निराश भएका युगान्डाका क्याप्टेन डेभिस एरिनाइट्वेले विश्वकप छनौटमा चयन हुने आफूहरुको मुख्य लक्ष्य भएको बताए। आफूहरुले फाइनलको ट्रफी पनि घर लैजान चाहेको तर मैदानमा भाग्यमानी नरहेको बताउँदै नेपाली ब्याट्सम्यानहरुले निकै राम्रो खेलेकोमा प्रशंसा गरे उनले।

यस्तो छ बाटो
२०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गर्ने एकदिवसीय विश्वकपमा एसोसिएटका चार टोलीले स्थान पाउनेछन्। यसमध्ये दुई स्थान विश्व क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष दुई टोलीले पाउने छन्। अहिले यो च्याम्पियनसिप चलिरहेको छ र अंकतालिकामा आयरल्यान्ड र नेदरल्यान्ड शीर्ष स्थानमा छन्। यो प्रतियोगितामा डिभिजन १ का आयरल्यान्ड, नेदरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड, केन्या र क्यानाडा तथा डिभिजन २ का शीर्ष दुई टोली युएई र नामिबिया छन्।

यो च्याम्पियनसिपबाट विश्वकपका लागि छानिएर बाँकी रहेका ६ टोली, डिभिजन २ का पपुवा न्युगिनी र हङकङ तथा भर्खरै डिभिजन ३ बाट बढुवा भएका युगान्डा र नेपाल गरी १० टोली न्युजिल्यान्डमा विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट शीर्ष दुई टोली विश्वकपमा पुग्ने छन् भने तेस्रो र चौथो टोलीले चार वर्षका लागि एकदिवसीय मान्यता पाउने छन्।
पोहोरसम्म नेपाल डिभिजन ४ को टोली थियो। सेप्टेम्बरमा मलेसियामा भएको डिभिजन ४ मा अमेरिकालाई हराएर उपाधि जित्दै नेपाल डिभिजन ३ मा बढुवा भएको थियो।
नागरिकन्युज डट कमबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग