Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भोलिदेखी वामीमा एकीकृत घुम्ती सेवा सञ्चालन हुने

Published on 12:53:00 PM //


पि.एम.मगर
गुल्मी, जेष्ठ ०५ । जिल्लाका सरकारी सेवाहरुवाट वञ्चित रहेका गुल्मीका दुर्गम क्षेत्रका स्थानीय जनतालाई केन्द्रीत गरी भोली जेठ ६ देखि ८ गतेसम्म तीन दिन वामीटक्सारमा एकीकृत घुम्ती सेवा सञ्चालन गरिने भएको छ ।
वामी, अर्लाङ्गकोट, कुर्घा, मुसीकोट, वडागाउँ, पौँदीअमराई लगायतका गाविसका जनतालाई लक्षित गरी वामीटक्सारमा सेवा सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जानकारी दिनुभयो । सोही अभिायन अनुसार यस अघि जिल्लाको पुर्व क्षेत्रमा रहेका गाविसलाई लक्षित गरी वैशाख १४ देखि १९ गतेसम्म हर्मिचौर र पुर्तिघाटमा सेवा सञ्चालन गरिएको थियो । हर्मिचौर केन्द्रमा हर्मिचौर, अर्वेनी र ठुलोलुम्पेक गाविसलाई केन्द्रीत गरी सेवा सञ्चालन गरिएको थियो भने पुर्तिघाट केन्द्रमा पुर्तिघाट, अर्वेनी, जयखानी, खड्गकोट, भुर्तुङ्ग र भार्से गाविसलाई लक्षित गरी सेवा सञ्चालन गरिएको थियो ।
त्यस्तै वैशाख २७ देखि २९ गतेसम्म नेटा, दर्लिङ्ग, ह्वाङ्गदी, अर्खवाङ्ग, दोहोली, छापहिले लगायतका पश्चिम क्षेत्रका गाविसलाई लक्षित गरी दर्लिङ्ग गाविसमा एकीकृत घुम्ती सेवा सञ्चालन गरिएको थियो । शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण, जिल्ला निर्वाचन कार्यालयले फोटो सहितको मतदाता नामावली संकलन, महिला तथा वालवालिका कार्यालयले अपाङ्गता परिचय पत्र वितरण, जिल्ला स्वास्थ्य कार्यालयले नि:शुल्क विरामी जाँच तथा परामर्श सेवा, जिल्ला पशु सेवा कार्यालयले औषधी वितरण र परामर्श सेवा, जिल्ला कृषि विकास कार्यलयले तरकारी विज वितरण र परामर्श सेवा प्रदान गरेको थियो ।
त्यस्तै जिल्ला शिक्षा कार्यालयले स्थानीय अभिभावकहरुसँग छलफल, घरदैलो कार्यक्रम तथा विद्यालय अनुगमन, जिल्ला प्रहरी कार्यालयले सुरक्षा जनचेतना, जिल्ला हुलाक कार्यालयले टिक विक्री, नेपाल टेलिकमले सहुलियत दरमा सिम तथा रिम वितरण, आयुर्वेद सेवा केन्द्रले आयुर्वेद स्वास्थ्य सेवा जाँच र औषधी वितरण, जिल्ला विकास समितिले सामाजिक सुरक्षा भत्ता वितरण जस्ता सेवाहरु प्रदान गरेको थियो । सम्पन्न भएका शिविरहरुमा सवैभन्दा वढी नागरिकता वनाउने र फोटो सहितको मतदाता नामावली वनाउनेहरुको अत्यधिक भिड लाग्ने गरेको थियो । तीन स्थानमा सम्पन्न एकीकृत घुम्ती सेवावाट १५ हजार भन्दा वढीले सेवा लिएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग