Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नदीमा फसेकाको १० घण्टापछि ३ ट्रक र ३० यात्रुको उद्धार

Published on 12:52:00 AM //

पूजा मल्ल, म्याग्दी । मुस्ताङमा नदीको बीचमा फसेका यात्रुहरूको १० घण्टापछि बुधबार राती उद्धार गरिएको छ।

उपल्लो मुस्ताङ जाने क्रममा छुसाङको चैले र घिलिङको बीचमा पर्ने कालीगण्डकी नदीमा तीनवटा ट्रकसहित ३० जना यात्रु बुधबार दिउँसोदेखि फसेका थिए। नदीको बीच भागमा अगाडि हिँडेको ट्रकको इन्जिनमा समस्या आएपछि त्यसको पछिपछि गएका अरू दुईवटा ट्रकसमेत अगाडि पनि जान नसक्ने र पछि पनि हुन नसकेपछि फसेका थिए।

तीनवटै ट्रक अड्किएपछि त्यहाँ चढेका यात्रुहरू पानीको बहाव उच्च रहेकाले बाहिर निस्कन नसकी ट्रकभित्रै बसेका थिए। पुग्नुपर्ने ठाउँमा समयमै नपुगेपछि ट्रक र यात्रुको खोजी गर्ने क्रममा बुधबार राती १० बजेतिर उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्मा गौतमले जानकारी दिनुभयो।

नदीमा फसेका ना४ख ८५६७, ग१क १६४९ र ग१क ४२०८ नम्बरको ट्रकलाई घिलिङ र चैलैबाट डोडर लगेर त्यसैको सहयोगमा तानिएको थियो। प्रजिअ गौतमका अनुसार प्रशासनका कर्मचारीसहित नेपाल प्रहरी र सेनाको उद्धार टोलीले डोजरको सहायताले ट्रकलाई निकालेर यात्रुहरूको उद्धार गरी गन्तव्यतर्फ पठाएको हो।

दुईवटा पहाडको बीचमा पर्ने खँेंच, नजिकै बस्ती नभएको, नगन्य सवारी गुड्ने र अनकन्टार ठाउँमा सो घटना भए पनि सबैलाई सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो। नदीले बगाउने सम्भावना भएकाले ट्रकभित्र रहेका यात्रु बाहिर निस्कन सकेका थिएनन्।

‘फोन नलाग्ने, खोंच भएकाले सामानसँगै यात्रु बोकेर जोमसोमबाट गएको ट्रक गन्तव्यमा नपुगेको र सम्पर्कविहीन भएको खबर आएपछि सेना र प्रहरीको टोली पठाइएको थियो’ –प्रजिअ गौतमले भन्नुभयो।

पानीको बहाव बढेको अवस्थामा वारपार नगरी नदीमै गुडिरहेको एउटा ट्रक पसेपछि खोंच भएकाले पछिपछि गएका अरू दुईवटा ट्रक पनि अड्किएका हुन्। जोमसोमदेखि कोरला नाकासम्म सडक निर्माण भइरहेको सो स्थानमा कालीगण्डकी नदीलाई सडकका रूपमा प्रयोग गरिन्छ। स्थानीयबासीले मालवाहक ट्रक र ट्याक्टर चढेर निकै जोखिमपूर्ण तरिकाले यात्रा गर्दै आएका छन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग