Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस बर्षको राष्ट्रपती कप त्रिभुवन उच्च माबिलाई (फोटो फिचर)

Published on 7:35:00 PM //

प्रेम सुनार
जेठ १७, गुल्मी । चौथो राष्ट्रपति कप रनिङ्शिल्डको उपाधि त्रिभुवन उच्च मा.वि. कुर्घाले जितेको छ । गत ३ दिन देखि गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालित राष्ट्रपति कपमा विभिन्न खेलमा १ सय ५६ अंक प्राप्त गर्दै त्रिभुवन उच्च मा.वि.ले उपाधि हात पारेको हो ।
एथलेटिक्सका धेरै विधा, दौड प्रतियोगितामा प्रथम र भलिबलमा दोस्रो स्थान सहित उत्कृष्ट स्थान हासिल गरेको हो । त्यस्तै रनिङ् शिल्डमा आदर्श उच्च मा.वि. दिगाम १ सय २३ अंक सहित द्वितीय स्थान हासिल गरेको छ । उसले भलिबलमा प्रथम स्थान प्राप्त गरेको हो । त्यस्तै शिद्धबाबा उच्च मा.वि. तम्घास तेस्रो स्थानमै चित्त बुझाउनु परेको छ ।


एथ्लेटिक्सको मद्दतले राष्ट्रपति कप जितेको त्रिभुवन उच्च मा.वि. का बेल बहादुर थापा उत्कृष्ट खेलाडी घोषित भएका थिए । भलिबल तर्फ पनि त्रिभुवन उच्च मा.वि.का दुर्गा मगर उत्कृष्ट खेलाडी भएका छन् । त्यसैगरी छात्रातर्फ भलिबलमा शिद्धबाबाकी देबिका वि.क. र एथ्लेटिक्समा उपल्लो तम्घासकी संगिता चुदारा उत्कृष्ट भएका छन् । छात्रातर्फको भलिबल खेलमा त्रिभुवन मा.वि. पराल्मीलाई पछाडि पार्दै प्रथम भएको पृथ्वी उच्च माध्यमिक विद्यालय पूर्कोटदह समग्र खेलमा चौथो भएको छ । उसले ९१ अंक प्राप्त गरेको थियो ।

 गत वर्षको राष्ट्रपति कप उचाल्न सफल नयाँगाउँ उच्च मा.वि. नयाँगाउँले भने पाँचौं स्थानमै चित्त बुझाउनु प¥यो । नयाँगाउँले जम्मा ६८ अंक मात्र प्राप्त गरेको थियो । प्रतियोगितामा विभिन्न विधामा शिद्धबाबाका दुर्गा राकसकोटी, अर्जुन आवासीय उच्च मा.वि.का सन्ध्या के.सी., शिद्धबाबाका दिपा खत्री, आदर्श उच्च मा.वि. दिगामका सुरेश श्रेष्ठ त्रिभुवन उच्च मा.वि. कुर्घाका खिमकुमारी राना, महेन्द्र उच्च मा.वि. का तरुण खड्का थापा, पृथ्वी उच्च मा.वि. पूर्कोटका सरस्वती पौडेल, त्रिभुवन उच्च मा.वि.का अप्सरा के.सी, सोही विद्यालयका बेल बहादुर थापा, अर्जै उच्च मा.वि.की बिन्दु अर्याल, पृथ्वी उच्च मा.वि.की रिज्यु सेन, उदय उच्च मा.वि. शान्तिपुरका रन्जित खत्री, उपल्लो तम्घास मा.वि.की संगिता चुदारा, शिद्धबाबा उच्च मा.वि.का तिलक सोनारे, नयाँगाउँ उच्च मा.वि.की सिर्जना पोख्रेल आदर्श उच्च मा.वि.का खिमलाल भट्टराई प्रथम भएका छन् । त्यस्तै विभिन्न दौड प्रतियोगितामा त्रिभुवन उच्च मा.वि. प्रथम भएको थियो । त्यस्तै छात्रा भलिबल खेलतर्फ त्रिभुवन उच्च मा.वि. द्वितीय र सरस्वती माध्यमिक विद्यालय अर्लाङ्कोट तथा हर्राचौर मा.वि. तृतीय भएका थिए ।
 प्रतियोगिताका प्रायः सबै खेलहरुमा त्रिभुवन उच्च माध्यमिक विद्यालय कुर्घाका विद्यार्थी दुर्गा बहादुर मगर र दुर्गा बहादुर राकसकोटी, बिमल राकसकोटी बेल बहादुर थापा प्रकाश थापा, कृष्ण थापा, तिब्बत रायमाझी र नारायण कार्की जमेका थिए । त्यस्तै दोस्रँे स्थान हासिल गर्ने आदर्श उच्च मा.वि. दिगामका प्रकाश आले, शेर बहादुर सन्वानी, दिल बहादुर सोमरे सुरेश श्रेष्ठ, खिमलाल भट्टराई, प्रशान्त आले, सुन्दर सन्वानी, धन बहादुर थापा र तिलक थापा प्रतिद्वन्दीहरुलाई आच्चुआच्चु पार्न सफल रहे ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १० हजार, ६ हजार र ५ हजार नगद पुरस्कार एवम् मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा जिल्लाका २६ वटा विद्यालय सहभागी भएक थिए । समापन समारोहमा प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल, एकिकृत ने.क.पा. माओवादीका बुद्धि जि.सी., नेपाली काँग्रेसका दामोदर भुसाल, नेकपा. एमालेका टोमलाल पाण्डे र ने.क.पा.– माओवादीका विरबहादुर कार्की लगायत विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख हरुको आतिथ्यता रहेको थियो । आयोजक जिल्ला खेलकूद विकास समितिले सहयोगी संस्था र व्यक्तिहरुलाई सम्मान गरेको थियो । खेलको व्यवस्थापन विभिन्न खेलमा रेफ्री लगायतका कार्यमा नेपाली सेना गुरु गोरख गुल्म र जिल्ला प्रहरी कार्यालयले सहयोग गरेका थिए । आई.टि.एफ. डब्लु. टि.एफ तेक्वान्दो र सितोरियो करातेका खेलाडीहरुले स्वयम् सेवकको भूमिका निभएका थिए । प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री प्रदिप कुमार ज्ञवालीले गरेको थिए । प्रतियोगिता अपेक्षा गरेभन्दा सफल भएको आयोजक संस्थाका अध्यक्ष गोबिन्द बि.क.ले प्रतिक्रिया दिए । उनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीको सञ्चालन रहेको थियो ।

माथिका सम्पूर्ण फोटोहरु प्रेम सुनारले खिच्नुभएको हो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग