Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

७ दिन पछि बल्ल खुल्यो बिद्युत प्राधिकरणमा लागेको ताला

Published on 1:57:00 AM //

विशाल भट्टराई
गुल्मी, २९ जेठ । नियमित बिद्युत आपूर्तिको माग गर्दै बिद्युत प्राधिकरण कार्यालय गुल्मीमा लगाईएको ताला ७ दिन पछि खुलेको छ । ७ दिन देखि आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुका माग पुरा गरिने भएपछि प्राधिकरणमा लगाईएको ताला बुधबार साँझ खोलिएको हो ।
गुल्मीलाई २ पटक सम्म लोडसेडिङ मुक्त जिल्ला घोषणा गरिएको भएपनि कार्यान्वयन पक्ष फितलो हुँदै गएपछि एमाले निकट अनेरास्वबियू र युवा संघ तथा संयुक्त संघर्ष समितिले ७ दिन अगाडि बिद्युत प्राधिकरणमा ताला लगाएर आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकारीहरु तथा राजनैतिक दलका प्रतिनिधिहरुसंग जिल्ला प्रशाशन कार्यालयमा गरिएको संयुक्त बार्ता निष्कर्षमा पुगेपछि बिद्युत प्राधिकरणमा लगाईएको ताला खुलेको हो । बार्तामा बिद्युत नियमित हुने आश्वसन दिईएको छ । त्यस्तै आन्दोलनकारीहरुले उठाएका सम्पूर्ण मागहरु पुरा गर्ने गरि वार्ता निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले बताए ।
आन्दोलनकारीहरुले तिव्र रुपमा उठाएको बिद्युत कार्यालयमा भएको अनियमितताको बिषयमा प्रमुख जिल्ला अधिकारीले अनुगमन गर्ने सम्झौता भएको छ । त्यस्तै जिल्लाका मागहरु तत्काल केन्द्रमा पु¥याउनको लागी तत्कालै कार्यदलको गठन गर्नेगरि सम्झौता भएको छ । आन्दोलनकारीहरु बिद्युत नियमित हुनुपर्ने र कार्यालयमा भएको अनियमितताको छानविन हुनुपर्ने मागलाई प्रमुख बिषय बनाएका थिए । लोडसेडिङ मुक्त जिल्ला भनिएपनि बिद्युत प्राधिकरणले पटक पटक बिद्युत काट्ने गरेपछि स्थानीय बासिन्दाहरु आन्दोलनमा उत्रिएका हुन ।
बुधबार भएको वार्ता पछि तत्कालको लागी आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित हुने भएका छन् । तर जिल्लामा रहेका केहि संस्थाहरुले भने निरन्तर रुपमा बिद्युत नियमित गर्नको लागी दवावका कार्यक्रमहरु संचालन गरिरहेका छन् । केहि दिन अगाडि गुल्मीका सम्पूर्ण एफएम रेडियोहरु पनि बिद्युत नियमित हुनुपर्ने माग सहित अनिश्चितकालका लागी बन्द भएका थिए । तर रेडियोहरु भने स्थानीयको अनुरोधमा ४ दिन पछि खोलिएको थियो । बिद्युत प्राधिकरणमा लगाईएको ताला केहिबेर अगाडि खोलिएपछि बिहिबार देखि कार्यालयका नियमित कामहरु निरन्तर संचालन हुनेछन् । बिगत ७ दिन देखि कार्यालयका सम्पूर्ण कामहरु ठप्प रहेका थिए ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग