Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खाडी मुलुक जाने महिलाको सङ्ख्या घट्यो

Published on 3:08:00 AM //

धुर्कोट् (गुल्मी),  जेठ २१ । छापहिले–२ गुल्मीकी २१ वर्षीया युमुना खड्का आर्थिक अभावका कारण वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारीमा हुनुहुन्थ्यो । उहाँ एक महिना अघिमात्र राहदानी बनाउन राजधानीबाट सदरमुकाम तम्घास आउनुभयो, तर ३० वर्षभन्दा कम उमेरका महिलालाई खाडी मलुक जान सरकारले रोक लगाएको जानकारी पाएपछि उहाँ त्यत्तिकै फर्कन बाध्य हुनुभयो ।

“घरमा जेठी छोरी भनेकी मै हुँ, अरु बहिनी र भाइ साना छन्, मेरो बाबा अब ६० वर्षको पुग्न थाल्नुभयो, मैले पैसा नकमाउने हो भने मेरो घरमा आर्थिक अभावले खानसमेत पाइँदैन”– उहाँले भन्नुभयो ।
सात कक्षासम्मको अध्ययन गर्नुभएकी उहाँले आफूलाई आर्थिक, शैक्षिक दुवै हिसावले दुबई नै ठीक हुने बताउनुभयो ।
खड्का मात्रै होइन गुल्मी जिल्लामा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा चाहेर पनि उमेर हदबन्दीका कारण जान नपाउने महिलाहरू धेरै छन् । घरमा श्रीमानको कमाइले छोराछोरीको खर्च नचल्ने भएपछि इश्मा दोहली–७ निवासी २६ वर्षीया सुमित्रा कार्कीले पनि वैदेशिक रोजगारमै जाने तयारी गरिरहुनभएको थियो । उहाँलाई पनि सरकारले ल्याएको ऐनले विदेश जानबाट बञ्चित गरायो ।
समाजको चुनौतीका बाबजुद घरपरिवार, श्रीमान, छोराछोरी सबै त्यागेर विदेश जाने तयारी गरिरहेकी कार्कीको वैदेशिक रोजगारीमा गएर सम्पन्न परिवार बनाउने धोको चार वर्षका लागि अझै अधुरै रहने भएको छ ।
रहरले भन्दा पनि बाध्यताले वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेको बताउँदै उहाँले खाडी मुलुकमा कम उमेर भएकै कारण जान नपाउने नियमले आफूजस्ता गरीब र विपन्नहरू भोकै मर्न बाध्य हुने बताउनुभयो । “मेरो श्रीमानको कमाइले म र मेरो दुई छोराछोरीलाई एक छाक खान र एकसरो लुगा फेर्न पनि पुग्दैन”–उहाँले भन्नुभयो, “छोराछोरी पढाउन, पाल्न मैले नै कमाउनुपर्छ, श्रीमान् बिरामी पनि हुनुहुन्छ, उहाँ विदेश गएर कमाउन सक्नुहुन्न ।”
दैनिक घर निर्माण गर्ने काम गर्ने कार्कीका श्रीमानको मासिक आम्दानी रु पाँच हजार मात्रै हुन्छ । खर्चअनुसार आम्दानी कम हुँदा आफूलाई रोजगारीका लागि विदेश नै जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
केही वर्ष अगाडि घरपरिवार चलाउनका लागि पुरुष मात्रै रोजगारीका लागि विदेश जाने प्रचलन रहेपनि पछिल्लो समयमा महिलाहरू पनि वैदेशिक रोजगारीमा जान थालेका छन् । तर पछिल्लो पटक सरकारले वैदेशिक रोजगारीमा जाने महिलालाई लक्षित गरी ल्याएको उमेर हदबन्दीसम्बन्धी ऐनले खाडी मुलुक जाने महिलाको सङ्ख्या घटेको जिल्ला प्रशासन कार्यालय राहदानी फाँटका कर्मचारी भुवन बस्नेतले जानकारी दिनुभयो ।
अरुको लहलहैमा लागेर विदेश जाने महिलाहरू आजभोलि खासै नभएको जिल्ला विकास समितिका सूचना अधिकृत शङ्करप्रसाद गौतमले बताउनुभयो । उहाँले जिल्ला विकास समितिमा राखिएको वैदेशिक रोजगारसम्बन्धी सूचनाकक्षमा सूचना लिनेको सङ्ख्या बढेको बताउनुभयो ।
खाडी मुलुकमा रोजगारीका लागि जाने महिलालाई सरकारले लगाएको उमेर हदबन्दीले महिलाहरूलाई अवैधानिक बाटो हुँदै विदेश जान बाध्य पारेको पिपुल फोरमकी जिल्ला संयोजक सञ्जीवनी अर्यालको भनाइ छ । “उमेरहदबन्दी नै समस्याको समाधान होइन, महिलाहरू यहाँ नेपालको विमानस्थलबाट नभई भारतको बाटो हुँदै गइरहेका छन्” उहाँले भन्नुभयो । रासस

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग