Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

झारफुक गर्दा दिएको यातनाका कारण मानसिक सन्तुलन गुम्यो

Published on 11:09:00 AM //

फलेवास (पर्वत), असार ३१
झारफुक गर्ने नाममा धामीले दिएको यातनाका कारण पर्वतको सदरमुकाम कुस्माबजारकी एक महिला सिकिस्त बिरामी भएकी छन्।

कुस्माबजारको बड्गाउँस्थित मुलुककै अग्लो झोलुङ्गेपुल नजिक पसल गर्दै आएकी सीता पौडेललाई दुई दिनसम्म झारफुक गर्दा दिइएको यातनाका कारण सिकिस्त बिरामी परेकी हुन्।

पर्वतकै लिमीठाना घर भई कुस्माबजारमा बस्दै आएकी मीना सुनारले दुई दिनसम्म झारफुक गर्दा यातना दिएपछि पौडेलको मानसिक सन्तुलनसमेत गुमेको छ। बिरामी परेकी पौडेलको फेवासिटी अस्पतालमा उपचार भइरहेको छ।

कुस्माबजारमा एक महिना पहिलेदेखि झारफुकको काम गर्दै आएकी सुनारले पौडेललाई असार २५ र २६ गते उपचारका नाममा झारफुक गरेकी थिइन्।

झारफुकका क्रममा कपाल लुछ्ने (जगल्लटा लुछ्ने) टाउको भुईमा ठोक्याउने, तातो पन्यू र पानीले हान्ने काम भएकाले उनकी मानसिक अवस्थासमेत बिग्रन पुगेको पीडित सीताका श्रीमान् भीमप्रसाद पौडेलले बताए।

एक दुई दिन घरमै ठीक होला भनेर बसे पनि सुधार हुनुको साटो अवस्था बिग्रँदै गएकाले शनिबार बागलुङमा समेत धामीलाई देखाएपछि पौडेलले आइतबार बिहानै उपचारका लागि पोखरा लगेका हुन्।

मीनाले कुस्मा बजारको बड्गाउँस्थित अधिकारी होटलमा बसेर झारफुक गर्दै आएको र धेरैजनालाई यातना दिएको भन्दै छिमेकीले जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी दिएका छन्। उजुरीमा बोक्सी भनेर महिलाले महिलालाई यातना दिने, झारफुकका नाममा मानिसलाई लुट्ने काम भएकाले कारबाही गर्न माग गरिएको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनाको अनुसन्धान गर्न र आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको बताए।

जिल्ला प्रहरी कार्यालय पर्वतले पीडक मीना परियारलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाउने जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले बताए। रासस 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग