Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

व्यस्त सडक डेढ महिनादेखि ठप्प, ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव

Published on 8:34:00 PM //

घनश्याम गौतम
गुल्मी, असार २२ । महिनायता बन्द रिडी-वामीटक्सार सडकमा यातायात सुचारु हुन नसक्दा ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव भएको छ । दैनिक उपभोग्य बस्तुको मूल्य तीन गुणासम्म महँगो भएको छ । गुल्मी र बाग्लुङ दुई दर्जनभन्दा बढी गाविसमा खाद्यान्न अभाव छ ।

सडकको रुपाकोटको च्युरेनी भीरमा गएको पहिरो हटाउन जिविसले कुनै पहल नगर्दा सडक सुचारु नभएको हो । दैनिक १ सय २० भन्दा बढी सवारी साधन ओहोरदोहोर गर्ने सडक जिल्लाकै बढी व्यस्त हुन्थ्यो । समयमै पहिरो नहटाउँदा दैनिक हजारौं यात्रुको आवतजावतमा समस्या छ । दिनहुँ पहिरो झर्ने गरेकाले अहिलेसम्म १४ भन्दा बढी घाइते भइसकेको मजुवाका हर्क बस्नेतले बताए ।

सडक माथिबाट ठूलो पहिरो खसेकाले कसले हटाउने भन्ने जिविसमा विवाद छ । सडक उपभोक्ता समितिले पनि आफूहरूले मर्मत गर्न नसक्ने भन्दै चासो देखाएको छैन । जिविस मातहतमा रहेर आरएआईडीपी परियोजनाले सडकको मर्मत र स्तरोन्नतिको काम गर्दै आएकाले पहिरो मर्मत परियोजनाले नै गर्नुपर्ने वा जिविसले गर्ने भन्नेमा विवाद देखिएको बस्नेतले बताए ।

परियोजनाअन्तर्गतको बजेट खर्च गर्ने अधिकार प्राविधिक कार्यालयलाई छ भने जिविसले त्यसको विरोध गर्दै आएको छ । त्यसै क्षेत्रमा परियोजनाअन्तर्गत सडक मर्मतको काम गरिरहेका व्यवसायी हरी न्यौपानेले सम्झौतामा १० घन्टामात्र सडक मर्मतको काम गर्नुपर्ने रहे पनि अहिलेसम्म ५२ घन्टा काम गरिसकेको र पहिरो हटाउन तयार गरेको तर त्यसको खर्च कसले दिने भन्ने टुङ्गो नलागेकाले जोखिम मोल्न नसकेको बताए । 'मैले पहिरो मर्मतका लागि मेसिनसमेत खोजें,' न्यौपानेले भने, 'तर मर्मतको खर्च कसले दिने भन्ने टुङ्गो नभएपछि फिर्ता गरें ।' कुनै एक निकायले भुक्तानी दिने प्रतिबद्धता जनाए आफू पहिरो हटाउन तयार रहेको उनले बताए । लामो समयदेखि सडक सुचारु हुन नसक्दा त्यस क्षेत्रका ३० भन्दा बढी गाविसमा एक महिनायता खाद्यान्न अभाव छ । व्यवसायीले ठाउँठाउँमा लोड र अनलोड गर्दै ढुवानी गर्नु परेपछि दैनिक उपभोग्य सामानमा तीन गुणासम्म मूल्य वृद्धि गरेका छन् । 'सरासर सामान ल्याउन नपाएको डेढ महिना भयो,' खरबाङका व्यवसायी नरेन्द्र पुनले भने, 'बाटोमै धेरै स्थानमा लोडअनलोड गर्नुपर्दा प्रति किलो ३ रुपैयाँ ढुवानी लाग्ने सामानको अहिले १३ रुपैयाँसम्म पुगेको छ ।'

नियमित सडक अभावकै कारण बाग्लुङको दोस्रो व्यापारिक केन्द्र मानिने बुर्तिबाङका व्यवसायीले बुटवलबाट पोखरा, बाग्लुङ हुँदै सामान ढुवानी गर्न थालेका छन् । बाग्लुङ हुँदै सामान ढुवानी गर्नुपर्दा २४/२५ हजार रुपैयाँ प्रति ट्रक पर्ने ढुवानी भाडा बढेर ७६ हजार प्रति ट्रक परेको बुर्तिबाङका व्यवसायीले बताए । स्थानीय विकास अधिकारी हरी ज्ञवालीले रिडीदेखि खैरेनीसम्मको सडक जिविसले आपmनै पहलमा मर्मत गरिसकेको तर खैरेनीदेखि अगाडीको क्षेत्रमा परियोजनाको ठेक्का सम्झौताअन्तर्गत काम भइरहेको बताए । उनले भदौसम्म त्यसको सम्झौता अवधि बाँकी रहेकाले मर्मतको जिम्मा निर्माण व्यवसायीकै भएको बताए । 'हामीलाई सम्झौताअनुसार सडक हस्तान्तरण नै भएको छैन,' ज्ञवालीले भने, 'मर्मत र सडक चौडा पार्ने काम गर्दा माथिबाट खसेको पहिरो नै सफा नगरी सडक कसरी हस्तान्तरण हुन्छ र त्यसमा अहिले जिविसले कसरी थप लगानी गर्न सक्छ ।' परियोजनाअन्तर्गतको सडक प्राविधिक कार्यालयले नै रेखदेख गर्नुपर्ने ज्ञवालीले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग