Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एउटै डोरीले बाँधिएका युवायुवतीको मृत्यु रहस्यमय, खुलेन शवको पहिचान !

Published on 4:21:00 PM //

-धौलाश्री
पर्वत, २०७० असार २४ । गत शनिवार कालीगण्डकी नदी किनारमा एउटै डोरीले बाँधिएको अवस्थामा भेटिएको युवा युवतीको शव अझै पहिचान हुन सकेको छैन । काली गण्डकीले बगाएर किनारमा फालेको अवस्थामा भेटिएको शव क्षतबिक्षत अबस्थामा भएकाले पहिचानमा कठिनाई भएको हो ।

पर्वतको शालिग्राम गाबिस– ५ भोर्लेपानी भन्ने ठाउँमा कालीगण्डकी नदीमा ढुंगामा चेपिएको अबस्थामा दुई युवायुवतीको शव भेटिएको थियो । घाँटीमा युवतीले ओढ्ने कुर्ताको एउटै सल र कम्मरमा जुटको एउटै डोरीले दुबै शव बाँधिएको अबस्थामा फेला परेको थियो । युवतीको शवमा टाउको समेत छैन भने दुबै शवको अधिकाँश भाग कुहिएर खसेको छ । भेटिएको शवमध्य युवकको उमेर अन्दाजी २५ बर्ष र युवतीको उमेर २० बर्ष जति रहेका अनुमान गरिएको छ ।

हालसम्म कहिँ कतैबाट समेत युवायुवती हराएको जानकारी समेत प्रहरीमा नआएकाले शव पहिचान गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पर्वत, बागलुङ, म्याग्दी लगायत छिमेकी जिल्लाहरुबाट कुनै युवायुवती हराएको भए हल्ला हुन्थ्यो, सूचना वा जानकारी आउनु पर्थ्यो, केहि नआएको अवस्थामा अन्यत्रै जिल्लाबाट आएर कालीमा बगेका हुन् वा कसैले हत्या गरी एकै ठाउँमा बाँधी गाडीबाट ल्याएर कालीमा फालेका हुन् भन्ने दिशामा पनि प्रहरीले अनुसन्धानलाई बढाएको छ ।

शवको अबस्थाले पहिचान गर्न कठिनाई हुने भएकाले गाउँबाट हराएका युवायुवतीको जानकारी पाएमा डिएनए परिक्षणबाट पहिचान गर्न सकिने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक जगबन्धु पोखरेलले बताए । युवायुवती हराएको जानकारी दिनका लागि जिल्लाका सबै प्रहरी युनिट र छिमेकी बागलुङ, स्याङ्गजा, गुल्मी र म्याग्दी लगायतका जिल्लामा समेत सुचना पठाइएको जानकारी दिँदै प्रनि पोखरेलले भने ‘सबैतिर जानकारी गराएका छौ, कुनै ठाउँबाट पनि युवायुवती हराएको जानकारी आएको छैन ।’

एकै पटक मर्ने निधो गरेर एउटै डोरी र सलले बाँधिएर नदीमा बगेर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिव अनुमान गरिएपनि हत्या वा आत्महत्या हो भन्ने पुष्टि भैनसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रनाउ श्यामकृष्ण अधिकारीले बताए ।

दुई जनाको शव एउटै डोरीमा बाँधिएको अबस्थामा भेटिएकाले घटना बिबादास्पद हुन सक्ने देखिएकाले टुक्राटुक्रा संगालेर पनि पोष्टमार्टम गरिएको प्रनाउ अधिकारीले बताए ।

शवको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्गमा पोष्टमार्टम गरिएको छ भने अइतबार भिसेरा परिक्षणका लागि केन्द्रिंय बिधिबिज्ञान प्रयोगशालामा पठाइएको छ । -ईबाग्लुङ डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग