Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा डम्पिङ साईटकै किचलो, २ करोड ६० लाख रुपैँया भन्दा बढीको योजना अलपत्र

Published on 2:27:00 AM //

विशाल भट्टराई
गुल्मी, १० भदौ । सदरमुकाम तम्घास सहरको फोहोर ब्यवस्थापनका लागि बन्ने करोडौँको डम्पिङ साईटले ठाउँ पाउन नसकेर समस्या सिर्जना भएको छ । तम्घास बजारका झण्डै ५० हजार मान्छेले पिउने खानेपानीको मुहान फाहोर हुने सम्भावना वढेपछि तम्घास – ८ मा रहेको डम्पिङ साईट सार्नको लागि पहल सुरु भएको थियो । तर तम्घास आसपासमा कतैपनि डम्पिङ साईट बनाउनको लागि ठाउँ नपाएपछि २ करोड ६० लाख भन्दा वढीको योजना अलपत्र परेको छ ।
ओख्रेखोलाको लिफ्टिङ सिस्टमको पानीको मुहान फोहार हुने सम्भावना वढेपछि डम्पिङ साईडको लागि विकल्प खोजिएको तम्घासका गाविस सचिव दोर्णराज पन्थीले बताए । उनका अनुसार अहिले सम्म तम्घास गाविसले डम्पिङ साईडको लागि सम्भाब्य दुई ठाउँ अवलोकन गरिसकेको र एक ठाउँ जग्गा समेत किनेको छ । तर स्थानीय वासिन्दाले आफ्नो ठाउँ वरिपरि फोहोर विसर्जन गर्न नदिने भएपछि यो योजना अलपत्र परेको हो । ‘गाविसले तम्घासकै लसुने गैरामा डम्पिङ साईडको लागि ठाउँ पक्का गरेको थियो, पछि स्थानीयको विरोध भयो’ उनले भने ‘फेरी कालाखोलामा साईड निर्माणको लागि जग्गा पनि किनियो त्यहाँपनि अवरोधनै भएर काम रोकिएको छ ।’ कालाखोलामा गाविसले २ लाख ५६ हजारको जग्गा पनि किनिसकेको छ । तर स्थानीयको विरोधमा काम अवरुद्ध भएको छ ।
अहिले जिल्ला ईन्जिनियर लालु गिरीको संयोजकत्वमा डम्पिङ साईड अध्ययनको लागि एउटा टोली समेत बनेको जिविसका सूचना अधिकारी शंकर प्रसाद गौतमले बताए । टोलीले जिविसलाई अध्ययन प्रतिवेदन वुझाएपछि बाँकी कामको टुंगो राजनीतिक दलले लगाउने सहमति भएको उनले बताए । तम्घास खानेपानी उपभोक्ता समितिका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले छिट्टै डम्पिङ साईडको विकल्प खोजि नगरिएमा तम्घासमा वितरण गरिएको खानेपानी प्रदुषित हुने बताए । जिल्ला विकास समिति तथा अन्य सरोकारवालाहरुले प्रभावकारी भूमिका निर्वाह गरेर डम्पिङ साईडको काम टुंगो लगाउनुपर्ने उनको माग छ । ‘कतिपयले अहिले खानेपानी प्रदुषित भईसक्यो भनेर हल्ला पिटेकाछन् त्यो होईन’ उनले भने ‘खानेपानी प्रदुषित हुनसक्छ भनेर डम्पिङ साईडको विकल्प सोँचिएको हो ।’ उनले समितिले निरन्तर पनीको ल्याव टेस्ट समेत गरेको दावी गरे । वर्तबान डम्पिङ साईडको केहि मिटर तल खानेपानीको मुहान भएपछि डम्पिङ साईडको विकल्प सोँचिएको हो । डम्पिङसाईड बनाउनको लागि प्रक्रिया थालिएको भएपनि दुवै ठाउँमा स्थानीय वासिन्दाले आफ्नो ठाउँमा फोहोरको समस्या हुने भन्दै काम गर्न दिएका छैनन् । उनीहरुले पनि आफ्नो पानीको मुहान फोहोर हुने दावी गरेका छन् ।
फोहोरमैला ब्यवस्थापन तथा वातावरण समितिका अध्यक्ष हरीकुमार श्रेष्ठले भने स्थानीय वासिन्दाले सोँचे जस्तो फाहोर नहुने दावी गरे । आधुनिक प्रविधिबाट बन्न थालेको महगों योजना भएकोले कतैपनि फोहोर नवन्ने गरि आफूहरुले काम थाल्न खोजेको बताएका छन् । ‘पहिले स्थानीयले हुन्छ भनेका थिए तर पछि हुँदैन भनेर विरोध गरे’ श्रेष्ठले भने ‘यसमा पनि राजनीतिक गन्ध मिसिएको छ ।’ उनले त्यहाँका केहि स्थानीय राजनीतिक दलका नेताहरुले स्थानीय वासिन्दालाई उकासेको समेत आरोप लगाए । गाउँका युवाहरुलाई रोजगारी समेत दिने गरि आफूहरु योजना बनाउन तयार भएको श्रेष्ठको भनाई छ । अघिल्लो बर्ष चौतर्फि विवादका कारण डम्पिङ साईड निर्माणको लागि आएको १५ लाख रुपैँया फ्रिज गएको छ । स्थानीय विकास अधिकारीले समयमै पहल कदमी  लिन नसकेको कारण उक्त रकम फ्रिज गएको अध्यक्ष श्रेष्ठको आरोप छ । ‘पहिले एलडियोले कुनैपनि पहल कदमी लिनुभएन पछि रकम फ्रिज भयो’ उनले थपे ‘अहिले पनि यसवारे समयमै सोँचिएन भने तम्घासमा फोहोर पानीको आतंक हुनेछ ।’ तम्घाका स्थानीय नागरिकले तत्कालै डम्पिङ साईडको विकल्पको माग गरेका छन् । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग