Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२३ घरलाई एक धारा, बर्षायाममा पनि खानीपानीको समस्या उस्तै

Published on 6:02:00 PM //

पि.एम.मगर
गुल्मी, भदौ २ । अहिले पनि एउटा गाउँभरीलाई एक मात्र धारा भन्दा अनौठो लाग्न सक्छ । तर यो बास्तविकता हो । गुल्मीको हाडहाडे गाविस वार्ड नं. ७ का बासिन्दालाई एउटा मात्रै धारावाट पानीको उपभोग गर्नु र त्यसमा पनि प्रयाप्त पानी नआउनु, यस्तो समस्या झेल्नु अहिले त उनीहरुलाई सामान्य जस्तै बनेको छ ।
हाडहाडे गाविसको वार्ड नं. ५, ६ र ७ को मुख्य व्यापारिक स्थान भनेर चिनिने सोमरभोमर क्षेत्रका २३ घरधुरीले एउटा धारावाट खानेपानी उपभोग गर्दै आईरहेका छन् । समयमै पालो पाईएन भने रित्तो गाग्री बोकेर फर्किनुपर्ने हुन्छ उनीहरुलाई । यहाँका बासिन्दाले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आईरहेका छन् । हिउँदको समयमा खानेपानीको अभाव हुनु त स्वभाविक हो तर हिउँद र वर्षा एउटै छ यहाँ । व्रिटिश आर्मीका पेन्सनर हवल्दार स्वर्गीय पहलसिँह राना मगरको पहलमा सन २००१ मा व्रिटिश कादुरी संस्थाको सहयोगमा यो धारा स्थापना गरिएको थियो । यो धारा नबन्दै धेरै टाढाबाट पानी बोकेर खाने गर्दथे स्थानीयले । पछि रानाको सक्रियतामा एउटा धारा यस स्थानमा निर्माण भएपछि धेरै सहज बन्यो उनीहरुलाई । अहिले पनि बिहान ६ वजे पानी खुल्छ र ९ बजे बन्द हुन्छ ।
३ घण्टामा २३ घरले पानी भर्ने हो । स्थानीय विष्णु काउछा भन्नुहुन्छ–“धारामा पानी आउने समय कम भएपछि खान मात्र पुग्छ, कहिले त पालो नै आउँदैन, रित्ता गाग्री बोकेर घरदेखि आधा घण्टा लगाएर पानी लिन जान्छौँ ।” स्थानीय मिना काउछा मगरले खान र गाई भैँसीका लागि बल्ल तल्ल पुग्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–“कहिलेकाँही त पानी भर्ने क्रममा झगडा पनि हुन्छ, पानी भर्ने भाँडा पनि टिपेर फालिदिन्छन, कहिलेकाँही पालो आएन भने हेरेको हेरै हुनुपर्छ  ।”
“यहाँको खानेपानीको समस्या समाधानका लागि हामीले पटक पटक बिभिन्न निकायहरुमा कुरा राख्यौँ” स्थानीय समाजसेवी छविलाल काउछाले भन्नुभयो “हामीहरुको समस्या त कसैले बुझ्ने प्रयास नै गर्दैनन् ।” यस धाराको उपयोग गर्न लागेको १२÷१३ वर्ष भईसकेको बताउँदै काउछाले अहिले त यो पनि जिर्ण बन्न थालेको बताउनुभयो । खानेपानी समस्याको समाधानका लागि पहल गरेता पनि आर्थिक अवस्था कम र पानीको मुहान अरु नभएकाले यो समस्या कायमै रहेको स्थानीयको भनाई छ । अबका दिनमा यहाँको खानेपानी समस्या समाधानका लागि संवन्धित निकायसँग कुरा राखी अर्को धारा निर्माण गर्न पहल गर्ने र त्यसका लागि सबैसँग समन्वय गर्ने काउछाले बताउनुभयो । खानेपानी उपभोक्ता समिति हाडहाडेका अध्यक्ष प्रेमबहादुर रानाले भन्नुभयो – “पानीको समस्याबारे संवन्धित निकायलाई रिपोर्ट पनि बुझाएँ, जिल्लाबाट आउने ठुल्ठुला नेतालाई पनि यहाँकोसमस्या सुनाएँ, तर पनि केही सुनुवाई भएन ।”
स्थानीयले आफुहरुको खानेपानीको समस्या हेरिदिन आग्रह गरेका छन् । उनीहरुले यहाँ अर्को खानेपानीको जोहो गरी धाराहरु निर्माण गर्नुपर्ने बताउँदै आएका छन् । कुनै निकाय वा संस्थाले आफुहरुको समस्यालाई हेरी सहयोग गरिदिए त्यस योजनालाई सम्पन्न गर्नका लागि आफुहरु जनश्रमदान गर्न तैयार रहेको समेत स्थानीयको भनाई छ । उनीहरुको एउटा माग छ खानेपानीको समस्या समाधानका लागि पहल गरियोस् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग