Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासको भगवती मन्दिरमा अब पण्डितले कसैलाई पनि टिका नलगाइदिने, भक्तजनले आफै लगाउनु पर्ने

Published on 2:15:00 AM //

प्रेम सुनार
भदौ १८, गुल्मी । मंगलवार जिल्ला प्रशासन कार्यालय गुल्मीको रोहवरमा तम्घास १ मा रहेको भगवती मन्दिर ब्यवस्थापन समितिका पदाधिकारी र दलित नेताहरु विच भएको छलफलले त्यस मन्दिरमा कुनै पनि प्रकारको जातिय विभेद नगर्ने निर्णय गरिएको छ ।
भदौ १२ गतेका दिन परेको कृष्ण जन्म अष्टमीको पुजामा त्यस मन्दिरका पण्डितले दलित युवतीहरुलाई टिका नलगाई दिएको विषयलाई लिएर जिल्ला प्रशासनमा उजुरी परेपछि मंगलवार यस्तो निर्णय भएको हो । त्यस दिन तम्घास १ स्थित कल्पना सुनार लगायत पुजा गर्न गएको र अन्य गैरदलित महिलालाई टिका लगाई दिएको तर आफुहरुलाई पण्डितले दलित भनेर चिनेकोले विभेद गरी टिका नलागाई दिएको भन्दै उजुरी दिईएको थियो ।
मन्दिर ब्यवस्थापन समितिको तर्फबाट सचिव महाशर्मा भण्डारी, सह सचिव दुर्गाप्रसाद पाण्डे, सदस्य कृष्णप्रसाद भण्डारी उपाध्यक्ष नन्दरामा भुसाल लगायत र पिडितको तर्फबाट दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्मा, एकिकृत नेकपा माओवादीको दालित संगठनको तर्फबाट धर्म बिश्वकर्मा, नेपाली कांग्रेसको तर्फबाट झविन्द्र बिश्वकर्मा, नेकपा एमालेको तर्फबाट छविलाल बिश्वकर्मा र पिडितहरु कल्पना सुनार, मोनिका दुधराज र शोभा दुधराज लगायत छलफलमा सहभागि थिए ।
दलितलाई  विभेद नगर्ने निर्णय पछि पण्डितबाट टिका ग्रहण गर्दै आएका ग्रैह दलितहरु अव उनिबाट टिका लगाउन नपाउने भएका छन् । अव कसैलाई पनि पण्डितले टिका लगाई दिन नपाउने जसले पनि बाहिर राखिएको टिका आफै लगाउने सहमति भएको साझा मञ्च गुल्मीका अध्यक्ष बिश्वकर्माले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग