Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लफ कलले प्रहरी र पत्रकार रातभर जागै (संबाददाताका कुरा)

Published on 2:52:00 AM //

विशाल भट्टराई
गुल्मी । शनिवार साँझ ६ वज्दा नवज्दै एउटा एनसेल नम्बरबाट जिल्लाका पत्रकारहरु र प्रहरीलाई लगातार फोन आयो । फोनको खवर थियो जिल्लाको पश्चिमी गाविस ईश्मा रजस्थलमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भयो एक जना गम्भिर घाईते छ । यस्ता फोन प्रहरीमा धेरै आउने प्रहरी बताउँछन् । तर दुर्घटनाको समाचारले पत्रकार र प्रहरी तरंगित भए ।
खवर सुनेपछि मैले तुरुन्त डिएसपी राजकुमार लम्साललाई फोन गरेँ । ‘सर ईश्मामा दुर्घटना भएछ के छ जानकारी ?’ मैले यस्तो प्रश्न गरेपछि उनी झसङ्गै भए । उनले केही थाहा छैन भनेर जवाफ दिएपछि अरु स्रोतहरुलाई फोन लगाउँन सुरु गरेँ । रेसुंगा एफएममा पनि घटनाको बारेमा समाचार आएको रैछ । एफएमका समाचार प्रमुख पिएम मगरले समाचार आएको तर आफू पनि पुष्टि गर्न नसकेर लखतरन परेको बताए । ‘मैले त हरेस खाएँ यार जेजे हुने हो होस भोलि विहानै थाहा होला !’ उनले पनि राती साढे आठ बजे सम्म समाचार पुष्टि गर्न कोशिस गरेका थिए ।
मैले भने यत्तिकै चुप लाग्ने अवस्था रहेन । दुर्घटना भएको भए अर्कोदिन ढिला भईसकेको हुन्थ्यो । शनिबार म जिल्लामै छु । यसो सम्झिएँ तीज मनाउन घर गएका ईश्माका पत्रकार टोपलाल अर्याल गाउँमै छन् । उनी मलाई गतिलो स्रोत बन्ने भएकोले तत्कालै फोन गरेँ ‘गाउँमा दुर्घटना भयो रे आफ्नै गाउँको दुर्घटनाको समाचार जानकारी नगराउने के हो ?’ यसो भनेपछि उनी पनि रन्थनीएर गाडि नम्बर मागे । मैले आफूलाई उपलब्ध भएको एउटा नीजि भ्यानको नम्बर उनलाई उपलब्ध गराएँ । यत्तिकैमा अरु पत्रकारहरुले पनि मलाई समाचार पुष्टि भयो कि भएन भनेर सोधका थिए ।
प्रहरीको हटलाईन १०० मा त कतिपटक फोन हानियो म आफैलाई याद छैन । प्रहरीको हटलाईनले पनि आफूहरुलाई दुर्घटना भएको समाचार आएको बतायो । तर उसले पनि पुष्टि गर्न सकेको रैनछ । डिएसपीले गाउँका दुईवटा प्रहरी युनिटलाई बुझ्न पठाए । सहकर्मी टोपलालले पनि गाउँका हर्ताकर्ता सवैलाई फोन गरेछन् । तर कतैबाट पनि दुर्घटनाको समाचार पुष्टि भएन । अब त केहि पत्ता लाग्यो होला भनेर फेरी डिएसपीलाई फोन गरेँ । उनले बुझ्दा बुझ्दा आफ्नो टाउको नै दुखेको बताए । ‘धनार्जी र ईश्माको प्रहरीलाई बुझ्न पठाएको केहि पत्ता लागेन, पत्ता लाग्यो भने मैले सुरुको जानकारी तपाईलाई गराउँछु ’ उनले भने ‘तपाईले मलाई पहिले जानकारी गराउनुभएको हो मैले पनि त्यहि गर्छु ।’
अव विस्तारै समाचार पुष्टि नहुने अड्कल मैले पनि काटेँ । तैपनि मैले आशा मारेको थिईन् । एकचोटी फेरी त्यो हामी पत्रकार र प्रहरीलाई जानकारी गराउने ९८१७११८७३६ एनसेलको नम्बरमा फोन हानेँ । फोन गर्ने उनले आफ्नो नाम पारस कुँवर बताएका थिए । तर उनले दर्जनौ पटक सम्म फोन उठाएनन् । अब दुर्घटना हैन मान्छे पत्ता लगाउनु प¥यो भनेर फेरी टोपलाललाई फोन गरेँ । उनले त्यहाँका स्थानीय कार्यालय प्रमुहरु सवैलाई त्यो मान्छेको बारे सोधेछन् तर त्यो मान्छे गाउँमै छैन भनेर खवर पाएछन् । प्रहरीले पनि त्यो मान्छे तत्कालै पत्ता लगाउन नसकिने बतायो ।
लगभग साढे ११ वजे सम्म नागरिक दैनिकको पश्चिमेली डेस्कमा काम गर्ने पुष्पराज जोशी संग सामाजिक संजालमा सञ्चोविसञ्चोको कुराकानी भएको थियो । मैले नागरिकमा भने केहि पनि जानकारी गराएको थिईन । घटना पुष्टि भएन भने डेस्कलाई बेकार तनावमात्रै हुने अनुमान लगाएँ । यसरी नभएको दुर्घटनाले जिल्लाभरका पत्रकार र प्रहरीलाई दिनु सम्मको तनाव दियो । डिएसपीले फोन गर्छु भनेका थिए फोन गरेनन् । उनले फोन गर्छु भनेपछि तत्कालै फोन गर्छन् । अव मैले पनि यो दुर्घटना नभएको निष्कर्ष निकालेर १२ बजेपछि सुतेँ । आईतबार बिहान पनि यताउता बुझेँ तर दुर्घटना भएको रैनछ । डिएसपीले मलाई शनिवार नै भनेका थिए कहिलेकाहीँ ब्लफकल पनि आउँछ । अन्त्यमा घटनाबारेको निष्कर्ष निकालेँ ‘ब्लफकल रैछ ।’
(भट्टराई नागरिक दैनिकका गुल्मी संबाददाता हुन ।)

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग