Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नार्डेक नेपालको बार्षिक समिक्षा सकियो

Published on 11:29:00 PM //

पि.एम.मगर
गुल्मी, भदौ ३० । राष्ट्रिय ग्रामिण तथा सामुदायिक बिकास केन्द्र नार्डेक नेपालले आफ्नो बार्षिक समिक्षा तथा कार्यक्रमको विषयमा आज एक कार्यक्रमका विच जानकारी गराएको छ । नार्डेकका कार्यक्रम संयोजक रामबहादुर कुवँरले एकीकृत एच.आई.भी. र एड्स रोकथाम तथा सहयोग र हेरचाह कार्यक्रमका विषयमा जानकारी गराउनुका साथै प्रतिबेदन समेत प्रस्तुत गर्नुभएको थियो । विशेष गरी प्रबासी कामदार, तिनका परिवार र एच.आई.भी.संक्रमितहरुलाई लक्षित गरि नार्डेकले जिल्लाका ५८ गाविसहरुमा कार्यक्रमहरु सञ्चालन गरिसरहेको कुवँरले बताउनुभयो ।
जिल्लाका उच्च जोखिममा रहेका समुहलाई एच.आई.भी. र एड्स संबन्धि ब्यापक एबं एकीकृत सेवाहरु द्रुत रुपमा प्रदान गर्ने, एच.आई.भी. संक्रमणबाट बचाउन यसको सहज परामर्श, परिक्षण र यौन रोगको पहिचान र निदानमा सबैको सहज पहुँच बढाउने, एच.आई.भी.संक्रमित एबं प्रभावितका लागि गुणस्तरीय रोकथाम, उपचार, सहयोग र हेरचाहमा विकेन्द्रीकृत स्वास्थ्य सेवामार्फत पहुँच बृद्धि गर्ने, एच.आई.भी.रोकथाम, हेरचाह र उपचार सेवाका लागि द्रुत तथा दिगो स्वास्थ्य एबं सामुदायिक व्यवस्था निर्माण एबं सुदृढ गर्ने लगायतका कार्यक्रमको उद्धेष्य रहेको प्रतिबेदनमा उल्लेख छ । संस्थाले सकारात्मक व्यवहार परिवर्तनका लागि साथी शिक्षा कार्यक्रम, समुदाय तथा लक्षित बर्गका लागि जनचेतनामुलक कार्यक्रम, लक्षित वर्गका लागि अभिमुखिकरण कार्यक्रम, संक्रमितहरुका लागि पोषण, उपचार तथा हेरचाह सहयोग कार्यक्रम, एच.आई.भी.परामर्श तथा परीक्षण र यौन रोग परीक्षण तथा उपचार कार्यक्रमहरु संस्थाले सञ्चालन गरिरहेको छ । साथै कार्यक्रम संयोजक कुवँरले आर्थिक बर्ष २०७०÷७१ को बार्षिक कार्य योजना तथा बजेट, गत बर्षको बार्षिक प्रगति विवरण लगायतका विषयमा पनि जानकारी गराउनुभएको थियो ।
त्यस्तै संस्थाका उपाध्यक्ष डि.बी. पछाईले स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रमका विषयमा प्रतिबेदन प्रस्तुत गर्दै त्यसमाथि प्रकाश पार्नुभएको थियो । समाबेशी जवाफदेही तथा उत्तरदायी स्थानीय शासन र समुदायको नेतृत्वमा संचालित सहभागितात्मक बिकासद्धारा गरिबी निबारणमा योगदान पु¥याउने कार्यक्रमको लक्ष्य रहेको उहाँले बताउनुभयो । प्रस्तुत प्रतिबेदन अनुसार समुदायमा आबश्यकताको पहिचान, योजना तर्जुमा, कार्यान्वयन र मुल्यांकन प्रकृयामा जनसहभागितामा सक्रियता ल्याउने, महिला दलित, जनजाति, सिमान्तकृत, बिपन्न र बञ्चितिकरणमा परेका समुदायलाई सशक्त गराई क्षमता तथा पहुँचमा बृद्धि गर्ने, स्थानीय निकाय तथा सरोकारवालाहरुसँग आफ्ना मागहरु राख्न सक्ने बनाउने कार्यक्रमको उद्धेष्य रहेको छ ।
जीविकोपार्जनका लागि आबश्यक आधारभूत स्रोत साधनमा सहयोग पुराई दैनिक जीवन स्तरमा सुधार ल्याउने, लैंगिक मुलप्रबाहमा क्षमता अभिबृद्धि गराउने, वडा नागरिक मञ्चलाई सबल, सक्षम र क्षमतामा बिकास गराउने, नागरिक सचेतना केन्द्रको पहुँच अभिबृद्धि गर्ने उद्धेष्य रहेको प्रतिबेदनमा उल्लेख छ । त्यस्तै उहाँले युवा साझेदारी कार्यक्रमका विषयमा समेत प्रकाश पार्नुभएको थियो । समुदायमा रहेका युवा बर्गको प्रत्यक्ष सहभागितामा कार्यक्रम सञ्चालन गरि समुदायमा लैङ्गिक हिँसाको कमीका लागि जनचेतना जगाउने उद्धेष्यले कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष पछाईले जानकारी गराउनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका भुपाल पोखरेल, नेपाली काँग्रेसका विष्णु बलाल, नेकपा माओवादीका गोविन्द विश्वकर्मा, राप्रपा नेपालका ठाकुरप्रसाद पाण्डे, जिल्ला बिकास समितिका योजना अधिकृत बाबुराम पल्ली, जिल्ला प्रशासन कार्यालयका यज्ञ पन्थी, गुल्मी उद्योग बाणिज्य संघका दुर्गाप्रसाद पाण्डे, जिल्ला एड्स समन्वय समितिका प्रतिक खनाल, गैर सरकारी संस्था महासंघ गुल्मीका विष्णुप्रसाद भण्डारी, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष नवराज भुसाल लगायतको विशेष उपस्थिति रहेको थियो । नार्डेक नेपालका अध्यक्ष रेशम कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन हरिकृष्ण विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला एड्स समन्वय समिति संयोजक प्रतिक खनालले दिएको जानकारी अनुसार जिल्लामा अहिले १ सय ७९ जना एचआईभी तथा एड्स संक्रमित रहेको तथ्याङ्क छ । उहाँले जिल्लामा ५ देखि ६ सयसम्म संक्रमितहरु हुन सक्ने बताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग