Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकैछिन गायक रमेशराज भट्टराई (कुराकानी)

Published on 4:51:00 AM //

“उसले जति माया तिमीलाई मैले पनि दिन्थे होला” एल्बम “समिक्षा”, “मैले तिमीलाई चाहेर पनि तिम्रो साथ पाउन सकिन” एल्बम “अपेक्षा” र एल्बम “प्रतिक्षा” को गीत “तिमीलाई भुल्ने बहानामा पिउन सजिलो भो” बाट ख्यातिप्राप्त गरेका सफल गायक रमेशराज भट्टराई हाल–दुबईमा हुनुहुन्छ । 
शिव मन्दिर–८, नवलपरासीमा जन्म भएता पनि विगत १० बर्षदेखि काठमाण्डौंमा बसोबास गर्दै आउनु भएका उहांको खास क्षेत्र गायन, रचना र संगीत रहेको छ भने अपेक्षा डिजिटल प्रालिका संचालकका रुपमा पनि चिनिनु हुन्छ । एक दिन दुबईस्थित संचालनमा रहेको याक एण्ड यति नेपाली रेष्टुरेण्टमा उहांसंग गुल्मीन्युज सहयोगी तथा नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधान सम्पादक लालबहादुर ढेंगाको भेट भएको थियो । प्रस्तुत छ उहांसंगको भेटको दौरानमा भएका केही कुराकानीहरुको अंशः
प्रश्नः सर्वप्रथम त हजुरलाई दुबईमा स्वागत गर्न चाहान्छु । रमेश जी, तपाई संगीत क्षेत्रमा प्रवेश गर्नु भएको कति समय भयो होला ? 
उत्तरः पत्रकार महोदय, धन्यबाद छ हजुरलाई । म संगीत क्षेत्रमा लागेको १० बर्षभन्दा धेरै नै भयो । अझै यसैलाई नै निरन्तरता दिएको छु ।

प्रश्नः आजकलको सन्दर्भमा हेर्ने हो भने धेरै कलाकारहरु बिदेशको भ्रमणमा हिन्ने प्रचलनलाई चलनचल्तीमा ल्याइएको पाईन्छ । तर, हजुरको भ्रमण कुन–कुन देशमा भयो होला ?
उत्तरः यस्तै सांगीतिक क्षेत्रबाट सबैभन्दा पहिला म बहराइनमा गएको थिए । त्यसपछि कुवैतमा जाने शौभाग्य पाए । हाल– दुबईमा छु ।

प्रश्नः तपाईको योगदान लामो समयदेखि नै संगीत क्षेत्रमा रहेको छ । यस क्षेत्रमा जानको लागि कहां र कोबाट प्रेणा पाउनु भयो ?
उत्तरः खासगरी भन्नुपर्दा मेरो बाल्यकालदेखि नै गीत गुनगुनाउने बानी रहेको थियो । कलेजको समयमा पनि साथीहरुले गीत गाउनु पर्छ भनेर आग्रह गर्दथ्यो । साथीहरुको आग्रह र सानैदेखि गुनगुनाउने बानीले गर्दा यहांसम्म आइपुगियो भन्दा फर्क नर्पला जस्तो लाग्दछ ।

प्रश्नः तपाईको आफ्नै एल्वमहरु बजारमा कतिवटा भित्र्याउनमा सफल हुनु भयो, र हालसम्ममा कतिवटा गीतहरु गाउनु भयो होला ?
उत्तरः चेहरामा रौनक ल्याउदै भन्नुहुन्छ । मेरो गायन क्षेत्रको भूमिका दोहोरी र आधुनिक दुवैतिर रहेको छ । बजारमा आएका एल्वमहरुमा दोहोरी एक दर्जनभन्दा बढि रहेको छ भने ५१ वटा आधुनिक रहेको छ । त्यसैगरी १५० भन्दा बढि गीतहरुको शब्द र संगीत समेत गरेको छु, ५० भन्दा बढि गीतहरु पनि गाइसकेको छु ।

प्रश्नः भनिन्छ संगीत बिनाको जिन्दगी अधुरो हुन्छ रे, सानैदेखि संगीतको सफर गर्दै यहांसम्म आइपुग्नु भयो । तर, हजुरले संगीत क्षेत्रमा आफ्नो गुरु कसलाई मान्नुहुन्छ ?
उत्तरः म हजुरसंग १०० प्रतिशत सहमत छु । संगीत एउटा यस्तो चिज हो, खुशीमा पनि संगीत चाहिन्छ, दुःखमा पनि संगीत एउटा साथी बनेर छाइरहन्छ । संगीत क्षेत्रको बारेमा भन्नुपर्दा प्रसिद्ध नेपाली गायक नारायण गोपाल र प्रसिद्ध भारतीय गायक किशोर कुमारलाई म आफ्नो गुरुको रुपमा लिन्छु ।

प्रश्नः यो एउटा यर्थाथ तितो सत्य नै हो । नेपाली सांगीतिक क्षेत्रमा भविश्यको कुनै भरोसा छैन रे, किन कि जबसम्म गला र कला रहन्छ तबसम्म मात्र भविश्य सुरक्षित हुन्छ भन्छन्, यो कहांसम्मको सत्य होला त ?
उत्तरः पत्रकार महोदय, यो एउटा यर्थाथ तितो सत्य नै मान्नु पर्दछ । नेपाली संगीत क्षेत्रमा भविश्यको कुनै ग्यारेन्टी नै छैन । जबसम्म गला र कलाको कमाल रहन्छ, तबसम्म मात्र उज्यालो हुन्छ । यस क्षेत्रमा अझैसम्म सरकारी क्षेत्रबाट कुनै पहल पनि भएको छैन । हामीहरुले यस क्षेत्रबाट कुनै ठूलो सपना पूरा गर्न सक्दैनौ भन्ने मलाई लाग्छ ।

प्रश्नः विश्वको राजनैतिक अवस्था र नेपाली राजनैतिक माहौलमा धेरै फरक पाइन्छ । किन कि २१ औ शताब्दीमा पनि विश्वका धेरै देशहरुले बिकासको ठूलो फड्को मार्नमा सफल भइसकेका अवस्थामा हाम्रो देशका नेताहरु एक आफैमा उल्झिरहेको पाइन्छ । तपाईलाई कस्तो लाग्छ ?
उत्तरः यो हाम्रो लागि दुःखको कुरा हो । नेपालको राजनीतिक माहौल राम्रो भइदिएको भए हाम्रा नेपाली युवावर्गहरु बिदेशमा पलायन हुन बाध्य हुने थिएन । हाम्रा देशका नेताहरुले नेपाललाई सुइजरल्याण्ड बनाउन नसके पनि कल्पना मात्र गरिदिए पनि हुन्थ्यो होला जस्तो लाग्छ मलाई ।

प्रश्नः हवस्त त गायक रमेशराज जी, तपाई आफ्नो कार्यव्यस्तताका बावजुद पनि हामीलाई अमूल्य समय दिनु भएकोमा फेरि पुनः एकबार धन्यबाद दिन चाहान्छु । 
उत्तरः तपाईलाई पनि म हृदयदेखि नै धन्यबाद दिन चाहान्छु । प्रवासको भूमि दुबईमा आएर पनि आफ्नो जिज्ञासाहरु राख्ने मौका दिनु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग