Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो परिवर्तनले सञ्चालन गरेको "परिवर्तन तारा" नामक गीति एल्वमको विमोचन

Published on 2:11:00 AM //

रेडियो परिवर्तन
कार्तिक ४, बागलुङ । स्थानीय प्रतिभाको खोजी अनि सम्मान भन्दै केही महिना अघि मात्र रेडियो परिवर्तनको आयोजनामा सम्पन्न भएको परिवर्तन तारा २०१३ मा उत्कृष्ट ५ जना कलाकारहरुले गाएको परिवर्तन तारा नामक गीति एल्वमको सोमबार बुर्तिबाङमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

सामुदायिक रेडियो परिवर्तन बुर्तिबाङले गएको चैत्र महिनादेखि असारसम्म बागलुङ, गुल्मी तथा अर्घाखाँचभीमा विभिन्न पाँच अडिशन सञ्चालन गरेको थियो जसबाट बागलुङ जलजलाका दुर्गा श्रीस परिवर्तन तारा बन्न सफल हुनुभएको थियो । त्यस्तै सोही अडिशनबाट बागलुङ खुँगाका सुमन सुनार रनरअफ द कन्टेस्टेन्ट तथा बुर्तिबाङका सुरज विक, गुल्मीकी ज्ञानु घर्ती र तनहुँका दिपेन्द्र मल्ल गरि पाँच जनालाई परिवर्तन तारा नामक एल्वममा निःशुल्क गीत गाउँने व्यवस्था गरिए अनुसार उनीहरुले गाएको गीति एल्वम परिवर्तन ताराको विमोचन गरिएको हो । रेडियोका अध्यक्ष लोकेन्द्र निरासीको अध्यक्षता रहेको उक्त कार्यक्रममा गीति एल्वमको विमोचन ईमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराका अध्यक्ष तथा युवा समाजसेवी देव कुमार नेपालीले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले रेडियोले गीत संगीतको क्षेत्रलाई माथि उठाउन महत्वपूर्ण कार्य गरेको बताउँदै आउँदा दिनहरुमा पनि यसलाई निरन्तरता दिनुपर्ने र त्यसमा आफ्नो पक्षबाट सक्दो सहयोग रहने बताउँदै रेडियोलाई नगद रु. ३५ हजार रुपैयाका साथै गायक एवं संगीतकार राजेन्द्र बजगाईलाई नगद रु. ५ हजार, त्यसै गरि परिवर्तन ताराका ५ जना कन्टेस्टेन्टहरुलाई नगद रु. २-२ हजार गरि कुल रु. ५० हजार रुपैया नगद रकम प्रदान गर्नुभएको थियो ।

त्यसैगरि रेडियो परिवर्तनले स्थानीय प्रतिभाहरुको पहिचान र सम्मान गर्ने उद्देश्यले सञ्चालन गरेको उक्त कार्यक्रम पश्चिमाञ्चल क्षेत्रमै उत्कृष्ट कार्यक्रम रहेकाले आगामी वर्षपनि यसलाई निरन्तरता दिने बताउँदै रेडियोका अध्यक्ष लोकेन्द्र निरासीले कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष निरासीले प्रमुख अतिथि देवकुमार नेपाली तथा विशिष्ट अतिथि गायक एवं संगीतकार राजेन्द्र बजगाईलाई टीका र खादा लगाई सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा विशिष्ट अतिथि बुर्तिबाङ राइजिङ युवा क्लबका अध्यक्ष केशर छन्त्यालले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो । विमोचित गीति एल्बम परिवर्तन तारामा गायक एवं संगितकार राजेन्द्र वजगाईको संगीत रहेको छ भने सञ्चारकर्मी लिल प्रकाश चन्द, लोकेन्द्र निरासी, राम थापा अविरल, राम सुवेदी र प्रभात सुवेदीले शब्द लेख्नुभएको छ ।
एल्बममा दुई वटा आधुनिक गीत,  एक पप गीत, एक लोकदोहोरी र एक राष्ट्रिय गीतलाई समेटिएको छ ।  कार्यक्रमका अवसरमा परिवर्तन ताराका कलाकारहरुले आफ्नो साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने स्थानीय स्तरमा रहेर गीत संगीतको क्षेत्रमा योगदान पुराउँदै आएका २५ जना स्थानीय कलाकारहरुलाई समेत रेडियोले सम्मान गरेको थियो । रेडियो परिवर्तनका स्टेसन म्यानेजर राम सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रेडियोका प्रस्तोता प्रशान्त घर्ती मगरले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग