Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उद्यमी बन्ने अभियानमा महिला

Published on 1:47:00 AM //

गगनशिला खड्का
गुल्मी । गफिएरै आफ्ना दिन गुजार्ने सदरमुकाम तम्घास १ कि मिना पन्थी आजकल दैनिक फाईवरका झोला बनाउने काममै व्यस्त हुने गर्छिन । पहिले यत्तिकै केही नगरी बस्ने एक छोराकी आमा २६ बर्षिय पन्थीले अहिले फाईवर झोला बनाउने काममा लागेपछि आँफुमा मानशिक तनाब कम हुनुका साथै घरखर्च चलाउन पुग्ने रकम पनि आम्दानी हुने गरेको बताईन् । उनले “यो झोला बनाउने काम भन्दा पहिले म त्यत्तिकै दिनभर गफ गरेरै बस्थे,खाली बस्दा दिमागले समेत चाहिने नचाहिने कुरा सोच्थ्यो’ भनिन् ।”
पन्थीले भनिन् “अहिले तालिम सिकेर झोला बनाउन थालेपछि आफुलाई घरखर्च पनि चलेको छ दिन पनि कटाउन सजिलो भएको छ ।” घरेलु तथा साना उद्योग विकास समिति कार्यालय र गुल्मी उद्योग वाणिज्य संघले गुल्मी जिल्लालाई पलाष्टिक मुक्त जिल्ला बनाउने अभियान थालेपछि पन्थी मात्रै होइन उनिजस्ता धेरै महिलाहरु स्वउद्यमी बन्ने अभियानमा जुटेका छन ।
घरेलु तथा साना उद्योग विकास समितिले सदरमुकाम तम्घासमा रहेको कल्याणकारी आमा समुहलाई फाईबरका झोला उत्पादन गर्ने एक महिने तालिम दिएपछि तम्घास १ कै २५ बर्षिय कल्पना पन्थी पनि यसरी नै व्यवसायिक झोला उत्पादनमा कम्मर कसेर लागेकी छिन ।
पन्थीले विहान १० देखी साँझ ४ बजेसम्म आमा समुहकै कार्यालयमा फाईवरका झोला बनाउने गर्छिन भने अन्य समयको पनि भरपुर प्रयोग गरी झोला बनाउने गर्छिन । उनले घरमा आईसकेपछि समेत रातीमा पनि झोला बनाउने गरेको बताईन् । चार महिना अघि मात्रै तालिम लिएर व्यवसायिक झोला उत्पादन गर्न शुरु गरेकी पन्थीले यस अवधिमा ८  सय झोला उत्पादन गरीसकेको बताईन् । उनले भनिन्“लगभग हाम्रो तालिम जेठको त्यस्तै २६÷२७ तिर सकिएको हो त्यसपछि मैले असार ४÷५ गतेबाट मात्र झोला बनाउन थालेकी हुँ अहिले सम्म लगभग ८ सय भन्दा बढी बनाए जस्तो लाग्छ ।”
यस्तै तम्घासकै भगवती पन्थीलाई पनि अहिले शिक्षण पेशा भन्दा स्वउद्यम नै जाति लागेको छ । स्थानिय विधालय र वोर्डिङ्गमा शिक्षण पेशामा आवद्ध पन्थी शिक्षण छाडेर फाईवरका झोला उत्पादनमै भ्याई नभ्याईमा छिन । पन्थीले अन्य जागीरको रुपमा गर्ने पेशाले भन्दा स्वउद्यम नै महिलाहरुका लागि बढी प्रभाबकारी हुने बतनाईन् । १ सय ६० सदस्यीय रहेको कल्याणकारी आमा समुहका ११ जना महिलाहरुले फाईवर झोला उत्पादन गर्ने तालिम लिएर व्यवसायिक रुपमा झोला उत्पादन गरेका  छन ।
अहिले गुल्मी जिल्लामा व्यवसायिक सिप सिकेर आत्मनिर्भर बन्न खोज्ने महिलाहरुको संख्यामा कुनै कमी नभएको घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष कृष्ण प्रसाद पोख्रलले बताए । उनले भने ः“यहाँ म आए देखी नै महिलाहरु कुनै न कुनै काम माग्न आईरहनुभएको छ,पहिले उहाँहरुले सिकेको सिप व्यवसायिक हिसाबले त्यती महत्वपुर्ण नभएपछि म संग नयाँ—नयाँ काम मागीरहनुभएको छ ।” पोख्रलले “सिप सिक्छौँ,आत्मनिर्भर बन्छौँ भनेर आउने महिलाहरु धेरै हुनुहुन्छ,मैले पनि कुनै न कुनै तालिम दिईरहेको छु ।”
यता दिनभर पसल चलाएर बसे पनि मासिक १२÷१५ हजार आम्दानी गरीरहेकी तम्घास ३ मिलनचोककी अनिता कुवँर फाईवरकै झोला बनाउन कार्यालय गएकी हुन्छिन् । उनले सधै गरीरहेको काम भन्दा फरक सिप सिकेर प्रशस्त कमाई गर्न सकिने बताईन् । कुँवरले फाईवर झोला विक्री गरेर आउने आम्दानीको लोभ भन्दा पनि गुल्मीलाई पलाष्टिक मुक्त बनाउने अभियान मन परेका कारण सहभागी बनेको बताउछिन् । उनले भनिन् ः“ एउटा त यो अरु सबैले गर्ने भन्दा फरक सिप भयो,अर्को कुरा मलाई हाम्रो जिल्ला पलाष्टिक मुक्त बनाउने भनेपछि म पनि यो अभियानमा आँफै सहभागी बन्नुपर्छ भन्ने लागेर नै हो ।”
झोला उत्पादनको जिम्मा पाएको कल्याणकारी आमा समुहले अहिले सम्म करीब ५  हजार भन्दा बढी झोला विक्री गरीसकेको छ भने अझै दुई हजार झोला विक्रीका लागि रहेको कल्यणकारी आमा समुहका अध्यक्ष कृष्णमायाँ पाण्डेले बताईन् । उनले प्रति झोलाको मुल्य २० रुपैया पर्ने र महिलाहरुले यस्तो खालको झोला व्यागकै रुपमा प्रयोग गर्न सक्ने समेत बताईन् ।
फाईबर झोला उत्पादन र प्रयोगको अभियानमा सहभागी अनिशा केसीले झोलाको माग बाहिरी जिल्लाबाट समेत आउन थालेको बताईन् । उनले पाल्पा,अर्घाखाँची,रुपन्देही लगायतका जिल्लाहरुबाट समेत गुल्मीमा उत्पादित झोलाको माग बढेको बताईन् । उनले भनिन् “हामीले यहाँ बनाएका झोला अहिले अरु जिल्लाबाट पनि माग आएको छ,जस्तै पाल्ला,अर्घाखाँची र रुपन्देहीबाट समेत यसको माग बढेको छ ।”
महिला उद्यमी संघ गुल्मीका अध्यक्ष शिला श्रेष्ठका अनुसार जिल्लामा कुनै पनि उद्योग नहुदाँ गर्न चाहेका महिलाहरु पनि त्यत्तीकै खाली बस्नु परेको बताईन् । उनले महिला उद्यमी संघले जिल्लामा भित्रायाउने साना खालका कार्यक्रमले पनि महिलाहरुलाई आत्मनिर्भर बनाउन सकिने भएकाले यस्ता खालका तालिममा सहभागी गराएको बताईन् । उनले महिला उद्यमी संघले जिल्लामा भित्रायाउने साना खालका कार्यक्रमले पनि महिलाहरुलाई आत्मनिर्भर बनाउन सकिने भएकाले यस्ता खालका तालिममा सहभागी गराएको बताईन् । श्रेष्ठले भनिन् ः“यहाँ त्यस्ता ठुला खालका उद्योग,कलकारखाना छैनन्,त्यो नहुदाँ काम गर्न खोज्ने महिलाहरु पनि दिनभर गफ गरेरै बस्नु पर्ने भयो,हामीले गर्ने सानो खालको कार्यक्रमले पनि उनिहरुलाई आत्मनिर्भर बनाउन सक्छ कि भनेर तालिम माग गर्दे दिइरहेका छौँ ।”
सञ्चारिका फिचरसेवा पश्चिमाञ्चल 
(खड्का नयापत्रिकामा आवद्ध छिन् । )

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग